शकंर पोखरेलको दबाबले पत्रकार महासंघमा सल्लाहकार विवादित

विहीबार, २१ चैत्र २०८१, १६ : २२

काठमाडौं – नेपाल पत्रकार महासंघमा सल्लाहकारको विषय थप पेचिलो भनेको छ । कार्यवाहक अध्यक्ष बनेर महासंघको निर्वाचन गराएकी बाला अधिकारी विधान अनुसार सल्लाहकार रहने की अध्यक्ष पदबाट राजीनामा दिएर हिँडेका विपुल पोखरेल सल्लाहकार बन्ने भन्ने विवाद उत्कर्षमा पुगेको छ । महासंघको विधान अनुसार निवर्तमान अध्यक्ष सल्लाहकार रहने व्यवस्था छ । 

वैधानिक संकट आएमा केन्द्रीय समितिको बैठकबाट विधानको व्याख्या गरी विवाद निरूपण गर्नु पर्नेमा अध्यक्ष निर्मला शर्मासहितका केही पदाधिकारीले पोखरेललाई जबरजस्ती सल्लाहकारको वैधता दिलाउन खोजेपछि विवाद चर्किएको हो । केही दिन अघि महासंघमा भएको एउटा अनौपचारिक छलफलमा कार्यवाहक अध्यक्ष रहेका दिपक आचार्यले पोखरेललाई सल्लाहकार भनी परिचय गराएपछि अधिकारी पक्षधर आक्रोशित छन् । विधानको व्याख्या र संस्थागत निर्णय विना नै आचार्यले पोखरेललाई सल्लाहकार भनेपछि महासंघको बहुमत केन्द्रीय सदस्य असन्तुष्ट छन् । 

महासंघका एक पदाधिकारीका अनुसार अधिकारी विधान अनुसार नै कार्यवाहक अध्यक्ष भएकी हुन । उनले महासंघ अध्यक्षको हैसियतमा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यको शपथ गर्नुका साथै सक्रिय भूमिका निभाएकी थिइन । प्रतिनिधि सभाका सभामुख अध्यक्ष, सञ्चार मन्त्री र महासंघका अध्यक्ष  सदस्य रहने सूचना आयोगको पदाधिकारी सिफारिस समितिमा पनि अधिकारीले महासंघ अध्यक्षकै हैसियतमा अधिकारीले निर्णयमा हस्ताक्षर गरेकी छिन् ।

त्यति मात्र होइन, महासंघको निर्वाचनका लागि मतदाता नामावलीमा अधिकारीकै हस्ताक्षर छ । निर्वाचन सम्पन्न गराएर पद हस्तान्तरण समेत अधिकारीले नै गराएकी हुन । त्यसैले उनी वैधानिक र व्यवहारिक रूपमा नै अध्यक्ष रहेका ती पदाधिकारीको तर्क छ । ती पदाधिकारीका अनुसार पोखरेलले  राजीनामा पत्रमा आफ्नो मानसिक अवस्था समेत ठिक नभएको उल्लेख गरेका छन् । 

अधिकारीले पद हस्तान्तरण सभामा नै आफू वैधानिक रूपमा नै सल्लाहकार भएको दाबी गर्दै पोखरेललाई लाज मान्न चेतावनी दिएकी थिइन । यता महासंघ अध्यक्ष निर्मला शर्मा केन्द्रीय समिति छलेर पोखरेललाई सल्लाहकार बनाउने प्रयासमा छिन् । अघिल्लो महिना धुलिखेलमा सम्पन्न महासंघको कार्यमूलक बैठकमा शर्माले पोखरेललाई सल्लाहकारको रूपमा नै निम्त्याएकी थिइन । प्रेस सेन्टर सम्बद्ध पदाधिकारी र सदस्यहरूले पोखरेललाई सल्लाहकारको रूपमा बैठकमा राखे बहिस्कार गर्ने चेतावनी दिएपछि धुलिखेल पुगी सकेका पोखरेल सुटुक्क दाङतिर लागेका थिए । 

पोखरेलले महासंघको बैठक विना नै आफूलाई सल्लाहकार घोषित गर्न एमाले महासचिव शंकर पोखरेल मार्फत महासंघ अध्यक्ष शर्मालाई दबाब दिइरहेका छन् । पूर्व अध्यक्ष पोखरेल  र महासचिव पोखरेल दुवै दाङका हुन ।

विहीबार, २१ चैत्र २०८१, १६ : २२

प्रतिक्रिया