म्याग्दीमा शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण

शुक्रबार, २२ चैत्र २०८१, १३ : २०

काठमाडौं - म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । 

महासंघका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिए। “म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौँ,” उनले भने, “नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने व्यवस्था मिलाइएको छ ।”

म्याग्दीका २८ जना पुस्तक व्यवसायीले बेनीमा संयुक्त रूपमा पुस्तक बिक्री कक्ष स्थापना गरेका छन् । यस वर्ष म्याग्दीमा रु एक करोड मूल्य बराबरको पुस्तक भित्रिएको महासंघका सचिव ध्रुवराज सुवेदीले बताए। उनका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहका शिक्षा शाखाको तथ्यांकका आधारमा प्रतिकक्षा रु एक हजार २०० सेटका दरले पुस्तक आयात गरिएको छ । शैक्षिक सत्र सकिँदासम्म पनि विद्यार्थीले पुस्तक नपाउने समस्या पछिल्लो दुई वर्षयता हटेको छ । 

बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले समयमै पुस्तक खरिद र वितरणको व्यवस्था मिलाउन विद्यालयको खातामा फागुन महिनामै पुस्तकको रकम निकासा गरिएको बताए। “विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन्,” उनले भने, “शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।” 

शुक्रबार, २२ चैत्र २०८१, १३ : २०

प्रतिक्रिया