महिला सशक्तीकरणका लागि पञ्चकन्या समूह, हिमाल आरोहणका लागि कवितालाई आर्थिक सहयोग

आइतबार, २४ चैत्र २०८१, १७ : ०१

काठमाडौं– महिला सशक्तीकरण र सामाजिक परिवर्तनतर्फ अग्रसर पञ्चकन्या समूहले चर्चित फिटनेस आइकन तथा कलाकार कविता नेपालीलाई एभरेस्ट र ल्होत्से (जुम्ल्याहा शिखर) आरोहण अभियानका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

पञ्चकन्या समूहले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कविता नेपालीको ‘मिसन एभरेस्ट(ल्होत्से २०८१’ मा साथ दिँदै नेपालका महिलाहरूको सामर्थ्य र साहसको प्रतिनिधित्व गर्ने उद्देश्यले सहयोग प्रदान गरेको हो। यो अभियान चैत ३० गतेदेखि सुरु हुनेछ।

समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले भने, ‘कविता नेपालीको यो साहसिक यात्राले नारी सशक्तीकरणको सन्देश मात्र होइन, नेपालको गौरवलाई पनि अन्तर्राष्ट्रियस्तरमा पु¥याउनेछ। उनले नृत्य, खेलकुद र कलाको माध्यमबाट पहिल्यै नेपाली प्रतिभाको पहिचान बनाइसकेकी छन्।’

कविता नेपालीले सन् २०१८ मा बुगिवुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्ट प्रतियोगितामा सफलता प्राप्त गरिसकेकी छन्। अहिले उनले हिमालको चुचुरोमा नेपाली महिलाको शक्ति र आशाको झन्डा फहराउने लक्ष्य लिएकी छन्।

यो पहल पञ्चकन्या समूहले विगतमा गरेका यस्ता सामाजिक क्रियाकलापहरूको निरन्तरताको प्रतीक हो। सन् २०१३ मा पनि समूहले सेभेन समिट्स महिला टोलीलाई माउन्ट किलिमान्जारो आरोहणका लागि सहयोग गरेको थियो। त्यस्तै, निशा अधिकारी, डा. प्रीति भुसाल, तथा पाँच साहसी महिला पत्रकारहरूले पनि अघिल्लो वर्षहरूमा पर्वतारोहणमार्फत नेपालको नाम उच्च राख्दै पितृसत्तात्मक सोचविरुद्ध बलियो सन्देश दिएका थिए।

पञ्चकन्या समूहको रणनीति शिक्षा, वातावरण, महिला सशक्तीकरण, स्वास्थ्य, सरसफाइ तथा सीप विकासमा केन्द्रित रहेको छ। ‘कविताको आरोहण संसारभरिका साहसी आत्माहरूको लागि प्रेरणा हो’, समूहका प्रवक्ताले बताए।

पञ्चकन्या समूह नेपालका अग्रणी औद्योगिक घरानाहरू मध्येको एक हो, जसले सामाजिक दायित्व, पूर्वाधार विकास र मानव स्रोत सुदृढीकरणमा निरन्तर योगदान दिँदै आएको छ।

आइतबार, २४ चैत्र २०८१, १७ : ०१

प्रतिक्रिया