अहिले मुलुकमा आन्दोलनको याम, सबैका असन्तुष्टि सडकमा पोखिँदै

मंगलबार, २६ चैत्र २०८१, १४ : २५

काठमाडौं- केही समय यता मुलुक पूर्णतया आन्दोलनमय बनेको छ । व्यवस्था विरोधी र पक्षधर, शिक्षकदेखि चिकित्सकसम्म आन्दोलनमा होमिएका छन् ।

सधैंजसो आन्दोलन भइरहने माइतीघर मण्डलामा मात्रै होइन राजधानीका अधिकांश स्थानमा अहिले आन्दोलनको माहौल सिर्जना भएको छ । जनतामा चौतर्फी निराशा र आक्रोश एकातिर छ भने अर्कोतिर यही परिवेशमा विभिन्न राजनीतिक दल र पेशाकर्मी सबैले आफ्ना माग राख्दै आन्दोलित भएका छन् । 

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरूले रत्नपार्कमा धर्ना दिएका हुन् । 

सरकार समक्ष विभिन्न पेशाकर्मीले समेत यही आन्दोलनकै याममा आफ्नो माग राख्ने उपयुक्त अवसर ठानेका छन् । यसले जताततै असन्तुष्टि व्याप्त रहेको देखाउँछ ।

गत चैत १५ गते राजावादीको आन्दोलन हिंसात्मक हुँदा जनधनको क्षति हुन पुग्यो । सोही दिन गणतन्त्रवादीहरुको आन्दोलन भने शान्तिपूर्वक सम्पन्न भएको थियो ।

आज(मंगलबार) फेरि राजधानी आन्दोलनको नाराबाजीले गुञ्जायमान भएको छ । वर्तमान व्यवस्थाको शान्तिपूर्ण विरोध गर्दै आएको राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन गरेको छ ।

यस्तै आजै सुरुदेखि नै संघीयता अस्वीकार गर्दै आएको राष्ट्रिय जनमोर्चाले पनि गणतन्त्रको रक्षा र संघीयताको खारेजी भन्दै आन्दोलित भएको छ ।

दुबै दलले राजधानी केन्द्रित आन्दोलन गरेका छन् । प्रशासनले राप्रपालाई बल्खु क्षेत्रमा आन्दोलन गर्न अनुमति दिएको छ भने जनमोर्चालाई रत्नपार्क क्षेत्र छुट्याइएको छ ।
शिक्षकहरुको पनि चैत २० गतेदेखि आन्दोलन जारी छ । शिक्षा ऐनको माग गर्दै शिक्षकहरुले पनि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् भने चिकित्सकहरु पनि केही दिन अघि पेशागत वृत्तिविकासको माग राख्दै आन्दोलित भएका थिए ।

यसरी अहिले मुलुकमा सबैको असन्तुष्टि सडकमा पोखिन थालेको छ । तर, आन्दोलनका उद्देश्य भने अलगै छन् । शिक्षकहरुले आफ्नो पेशागत सुनिश्चितताका लागि सरकार समक्ष माग गरेका हुन् भने अन्य दलको हकमा भने दलगत माग राखिएका छन् ।
   

मंगलबार, २६ चैत्र २०८१, १४ : २५

प्रतिक्रिया