काठमाडौं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनप्रति सरकारले संवादको वातावरण सिर्जना गर्नुपर्ने बताएको छ ।
शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडकखण्डमा जारी आन्दोलनले विद्यालय शिक्षामा असर पारिरहेको भन्दै एन–प्याब्सनले शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै पक्षलाई यस विषयप्रति गम्भीर बन्न आग्रह गरेको छ।
एन–प्याब्सनका अध्यक्ष गीत राणा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा शिक्षकमाथिको कुनै अवहेलना स्वीकार्य नहुने जनाउँदै शिक्षकहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको छ। साथै जायज मागहरूबारे गम्भीर छलफल र वार्ताबाट समाधान खोजिनुपर्नेमा जोड दिइएको छ।
सरकारलाई आन्दोलनरत शिक्षकहरूसँग तत्काल संवादको वातावरण सिर्जना गर्न र समस्याहरू समाधान गर्न इच्छाशक्ति देखाउन आग्रह गर्दै विज्ञप्तिमा सबै सरोकारवाला पक्षहरूलाई संयमित, जिम्मेवार र समाधानमुखी दृष्टिकोण अवलम्बन गर्न अपिल गरिएको छ।
प्रतिक्रिया