भृकुटीमण्डपमा आजबाट दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो सुरु

विहीबार, २८ चैत्र २०८१, १२ : ३३

काठमाडौं - काठमाडौंको भृकुटीमण्डपमा आजबाट दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो सुरु भएको छ । सो एक्स्पो आजदेखि ३१ गतेसम्म चल्ने  छ ।

समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनहरूको बृहत् प्रदर्शनी रहेको एक्स्पो आयोजक नर्सरी व्यवसायी संघ नेपालले जनाएको छ । 

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडीबुटी नर्सरीको सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्रीमा छन् । यसका साथै मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ । यस पटक उपत्यका बाहिरका नर्सरी व्यवसायीहरूको समेत सहभागिता र स्टल रहने आयोजकले जनाएको छ । 

आयोजकका अनुसार, एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै १ करोड २५ लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा संघको छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्कप्रति व्यक्ति  एक सय रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रति व्यक्ति ५० रुपैयाँ छ ।
 

विहीबार, २८ चैत्र २०८१, १२ : ३३

प्रतिक्रिया