काठमाडौं– बिहीबार अधिकांश सञ्चार माध्यममा तीनकुनेको हिंसात्मक आन्दोलन पछि फरार भएका दुर्गा प्रसाईं पक्राउको खबर सम्प्रेषित भयो । मिडियाले प्रहरी उच्च स्रोतको हवाला दिँदै भारतको आसामबाट प्रसाईंलाई पक्राउ गरिएको समाचार सार्वजनिक गरेका थिए ।
यो विषय चौतर्फी आइसकेपछि प्रहरीले बिहीबार बेलुका एक विज्ञप्ति मार्फत उक्त समाचारको खण्डन गर्दै त्यसलाई अस्वीकार गरेर खोजी कार्य जारी रहेको बतायो । जबकि प्रसाईंको सचिवालयले नै आफ्नो आधिकारिक फेसबुक पेजमा भारतीय प्रहरी समक्ष प्रसाईंले आत्मसमर्पण गरेको भन्दै पक्राउ परेको पुष्टि गरिसकेको थियो ।
हेर्नुहोस् विज्ञप्ति

यस विषयमा कतिपयले भारत पुगेर पक्राउ गरिएको विषय दुई देशीय सम्बन्ध र अन्य कारणले खुलाउन नमिल्ने बताइरहेका थिए । भारतसँग सुपुर्दगी सन्धी नभएकाले औपचारिक रुपमा त्यहाँबाट पक्राउ गरी नेपाल पठाउन नमिल्ने बताइन्छ ।
यस्तै, एक देशको प्रहरी अर्को मुलुकमा गएर पक्राउ गर्न पनि दुई देशीय कानुनले समस्या हुने हुँदा औपचारिक रुपमा सार्वजनिक नगरिएको पनि जानकारहरु बताउँछन् । सोही कारण अनौपचारिक तवरले भारत प्रवेश गरी पक्राउ गर्ने प्रचलन अनुरुप प्रसाईंलाई पक्राउ गरिएको बताइएको छ । प्रसाईंलाई झापाकै भद्रपुरबाटै नियन्त्रणमा लिइएको प्रहरीले सार्वजनिक जानकारी गराएको छ ।
बिहीबार पक्राउ हुन नसकेको सार्वजनिक रुपमै बताएको नेपाल प्रहरीले शुक्रबार भने झापाको भद्रपुरबाट पक्राउ गरिएको जानकारी गराएको छ ।बिहीबार राति खोजी कार्य जारी रहेको बताएको प्रहरीले नाटकीय ढंगले २४ घण्टा नबित्दै शुक्रबार पक्राउ गरिएको अर्को विज्ञप्ति जारी गरेको हो ।
हेर्नुहोस् विज्ञप्ति

प्रसाईंको गिरफ्तारीमा प्रहरीको यस्तो विरोधाभाषपूर्ण विज्ञप्तिले पेशागत विश्वसनीयतामा आँच पुर्याएको छ । अहिले सामाजिक सञ्जालमा यो विषय निकै चर्चामा छ ।अधिकांशले प्रहरीको आलोचना गरिरहेका छन् ।
चैत १५ गते राजावादीको आन्दोलनले हिंसात्मक रुप लिएपछि फरार भएका प्रसाईंले त्यसयता दुई वटा भिडियो सन्देश जारी गरेका थिए । उनले आफूलाई मार्ने योजना भएपछि भागेको बताउँदै आएका थिए ।
नेपालमै रहेको दाबी गरेका प्रसाईं अन्ततः भारतबाटै पक्राउ परेका छन् । तर, नेपाल प्रहरीको औपचारिक जानकारी अनुसार उनी नेपालमै पक्राउ परेका हुन् । भारतको आसाममा पक्राउ गरिएका प्रसाईंलाई नेपाल ल्याउने तयारी गर्दा काँकडभिट्टा नाकामा उनका समर्थकहरु पुगेका थिए ।
उसोत यस अघि पनि प्रहरीले झुट बोलेका दृष्टान्त अनगिन्ती छन् । तीनकुने घटनापछि सार्वजनिक भएका भिडियो दृष्यलाई समेत प्रहरीले डिप फेक(एआई निर्मित)को संज्ञा दिएको थिया्े । दुई जनाको ज्यान गएको र करोडौंको भौतिक संरचनामा क्षति पुग्नेगरी भएको राजावादी आन्दोलन उग्र बन्नुमा राज्य र प्रहरीकै भूमिकामाथि प्रश्न उठेको छ ।
प्रहरीको अनावश्यक बल प्रयोग र निहत्था नागरिकमाथि गोली दागिएको विषयमा आलोचना भएपछि तीनकुने घटनाको पाँचौं दिनपछि प्रहरीले पत्रकार सम्मेलन गरेको थियो ।
तीनुकने घटनापछि प्रहरीको पत्रकार सम्मेलनमा दाबी गरिए भन्दा कैयौं गुणा बढी बल प्रयोग गरिएको विवरण उल्लेखित प्रहरीको आन्तरिक प्रतिवेदन मिडियामार्फत सार्वजनिक भएको छ । त्यसलाई पनि प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले आधिकारिक नभएको दाबी गरेका छन् ।
राजावादी आन्दोलनसँग कुनै सरोकार नै नभएका व्यक्तिहरुमाथि गोली प्रहार गरिएको विषयमा चौतर्र्फी आलोचना भएपछि प्रहरीले आफ्नो कमजोरी भएको स्वीकार्न बाध्य भएको छ। तर, राज्य शक्तिको आडमा मानवीय क्षति पुर्याउने अधिकार कसैलाई छैन । यसको निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्नुपर्ने माग अहिले सर्वत्र उठेको छ ।
यसले पनि नेपाल प्रहरी व्यावसायिक मर्यादा कायम गर्ने भन्दा पनि एक आदेशपालक सुरक्षा निकायको रुपमा परिचित रहेको दर्शाउँछ । उसोत प्रहरी चेन अफ कमाण्डमा चल्ने सुरक्षा निकाय भएर पनि सरकारको आदेश परिपालन गर्न बाध्य हुनैपर्ने पेशागत दायित्व रहेको बताइन्छ ।
प्रतिक्रिया