काठमाडौं - मुलुकमा दश वर्षसम्म चलेको माओवादी विद्रोहका बारेमा नेपाली समाज भुक्तभोगी र काफी जानकार छ । उक्त विद्रोहका मुख्यनेता (सुप्रिमो ) पुष्पकमल दाहाल प्रचण्ड जो यद्धकालभर मिथक बनेका थिए । युद्धलाई शान्तिपूर्ण अवतरण गर्न गिरिजाप्रसाद कोइरालादेखि अन्तराष्ट्रिय शक्तिकेन्द्रहरु समेतको ठूलो भूमिका छ । युद्धको कमाण्डरको हैसियतले प्रचण्डको भूमिका झनै निर्णायक हुने कुरा भैहाल्यो ।
शान्ति प्रक्रियामा आएपछि उनै विद्रोही प्रचण्ड तीनपटक मुलुकको प्रधानमन्त्री बनिसके । तर शान्तिप्रक्रियालाई निष्कर्शमा पुर्याउने काम भने अझैं बाँकी नै छ । यतिबेला प्रचण्डको एउटा भनाइले सामाजिक सञ्जाल निकै तातिएको छ । उनी भन्छन्।‘ मलाई १७ हजार मारेको भनिरहन्छन् तर मैले कसैलाई एक थप्पड पनि हानेको छैन । ’ किन उनी यस्तो भनिरहन्छन् ? उनले यसो भनिरहँदा युद्धकालमा राज्य पक्षका सुरक्षाकर्मीलाई ताकी ताकी गोली हान्ने विद्रोही छापामारहरुको मनमा के लाग्छ होला ? माओवादीहरु तत्कालीन सरकारी पक्षका सुरक्षाकर्मीलाई दुष्मण भनेर पुकार्ने गर्थे । उनीहरु दुष्मणलाई मार्न एम्बुस थाप्ने गर्दथे । ती विद्रोहीहरुले पार्टीको आदेश अनुसार नै हतियार चलाएको बुझ्न सकिन्छ ।
प्रचण्डको उक्त स्पष्टिकरणले अनेक प्रश्नहरु जन्माएको छ । त्यतिबेला मान्छे मार्नेहरुले गल्ती गरेका हुन, प्रचण्ड त्यसमा निर्दोश छन् । भविष्यमा कुनै छानबिन भएर कारबाहीको प्रक्रिया अघि बढेमा प्रचण्ड जोगिनेछन् र माओवादी सेनामा काम गर्नेहरु ‘हत्यारा’ करार हुनेछन् । अथवा ती सबै जो फौजी कारबाहीमा लागे तिनीहरुले तत्कालीन माओवादी पार्टीको आदेश विपरित हतियार चलाएका थिए । बारम्बार मैले कसैलाई एक थप्पड पनि हानेको छैन भनेर उनी पानीमाथिको ओभानो बन्न खोजेका हुन् ? या उनी त्यतिबेला पनि हिंसामत्क आन्दोलनमा विश्वास गर्दैनथे ? यदि त्यसो हो भने माओवादी युद्धमा होमिएका सबै लडाकूहरुले प्रचण्डलाई सोध्नुपर्दछ, ‘ हामीलाई किन हतियार बोकाएर युद्धमा पठाएको हो ? ’
प्रचण्डका यस्ता अभिव्यक्तिहरुले माओवादी आन्दोलन एउटा परियोजना थियो भन्ने भरत दाहालहरुको किटानी आरोपको पुष्टि गर्दैन र ? बरु उनले समग्र युद्धको नेतृत्व मैले गरेकोले सम्पूर्ण जिम्मेवारी मेरै हुन्छ भन्न्पर्ने होइन ? उनी त जहाँ पनि आफूले कसैलाई एक थप्पड पनि नहानेको भनेर सफाइ दिइरहेका छन् । उनको आदेशमा मार्न मात्र हैन मर्न पनि तयार भएका हजारौं योद्धाहरुको अवस्था अहिले निकै कष्टपूर्ण रहेको समाचारहरु आइरहन्छन् । तर तिनैका महान् नेता भने पानीमाथिको ओभानो बनिरहेका छन् ।
प्रतिक्रिया