चार दशकदेखि माओवादीमा प्रचण्डको एकछत्र राज, कहिले गर्लान् विश्राम ?

बुधबार, १० बैशाख २०८२, १२ : २०

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दशकभन्दा लामो समयदेखि पार्टीको नेतृत्वमा छन् । सशस्त्र जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका प्रचण्ड अरुलाई पार्टीको नेतृत्व दिन पक्षमा अझै पनि छैनन् । जीवनको उत्तरार्धमा पुग्दा पनि उनले आफ्नो उत्तराधिकारी छान्न सकेका छैनन् । पार्टीमा क्षमतावान व्यक्ति भएता पनि उनी नेतृत्व दिन तयार छैनन् । समर्थकका नजरमा उनी गणतन्त्रका नायक हुन् । तर विरोधीको नजरमा उनी दश वर्षे सशस्त्र द्वन्द्वका कमाण्डर हुन् । 

प्रचण्ड २०४३ सालको अन्त्यतिर तत्कालीन मोटो मशालको नामले परिचित नेकपा(मशाल) नामक पार्टीको महामन्त्री भएका थिए । त्यसयता उनी सोही पार्टीका विभिन्न परिवर्तित घटकको नेतृत्व गर्दै आइरहेका छन् । अहिले पनि पूर्ववत् मशालकै प्रमुख घटकको रुपमा रहेको माओवादी केन्द्रको अध्यक्ष छन् ।

पछिल्लो समय भने प्रचण्डले पार्टीबाट विश्राम लिएर अरुलाई अवसर दिनुपर्ने आवाज उठ्न थालेको छ । मंगलबार एक कार्यक्रममा बोल्दै नेपाल कम्युष्टि पार्टीका महासचिव विप्लव सीले अझै कति वर्ष अध्यक्ष हुने हो भन्दै प्रचण्डलाई प्रश्नले गरे । राजतन्त्रमा पनि एउटै व्यक्तिले ४० वर्ष भन्दा बढी शासन नगरेको भन्दै उनले प्रचण्डलाई विश्राम लिएर अरुलाई नेतृत्व दिन आग्रह गरे ।

उसो त विप्लवको पार्टी र माओवादी केन्द्रबीच लामो समयदेखि पार्टी एकताको वहस चल्दै आएको छ । तर, एकीकरणको काम भने टुंगीन सकेको छैन् । विप्लवको यो अभिव्यक्तिमा उनी एकतापछि बन्ने पार्टीको अध्यक्ष बन्न चाहन्छन् भन्ने प्रष्ट हुन्छ । 

प्रचण्ड पनि लामो समयदेखि वाम एकताको बिगुल फुक्दै आएका छन् । तर, आजको अवस्थासम्म पुग्दा मोहन वैद्य, मणि थापा, विप्लव सी, रामबहादुर थापा, डा. बाबुराम भट्टराई लगायतका नेताहरुले उनको साथ छोडिसकेका छन् । प्रचण्डको कार्यशैलीलाई लिएर पनि पार्टी भित्र तमाम असन्तुष्टिहरु छन् । तर, प्रचण्डकै अगाडि उनको विरुद्धमा बोल्ने साहस कसैले गर्दैनन् । 

पार्टी कमजोर भएको दोष पनि प्रचण्डलाई 

शान्ति प्रक्रियामा  अवतरण भएपछि २०६४ मा प्रचण्ले नेतृत्व गरेको माओवादीले अप्रत्याशित नतिजा हासिल गर्दै पहिलो दल भएको थियो । माओवादी पहिलो दल बनेपछि त्यसको जस पनि प्रचण्डलाई जाने नै भयो  । २०६५ मा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । उनीप्रति जनताको ठूलो सपना र भरोसा थियो । 

तत्काल संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने एतिहासिक कार्यभार पनि प्रचण्डकै काँधमा थियो । तर, उनले सेनापति प्रकरणका कारण ९ महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिएपछि मुलुक झन ठूलो राजनीतिक संकटमा फस्यो । संविधान निर्माणको कार्यभार लिएर सत्तामा गएको माओवादीले पाँच वर्षसम्म पनि संविधानको समस्यौदामा अन्य दललाई तयार पार्न सकेन। जसका कारण पहिलो संविधानसभा भंग भयो । माओवादीप्रतिको जनताको भरोसा र आशा कमजोर बन्दै गयो । फेरि जनता पुरानै दल कांग्रेस र एमालेलाई रोज्ने अवस्थामा पुगे । 

२०७० मा भएको निर्वाचनमा माओवादी तेस्रो स्थानमा खस्कियो । उसले आफ्नो साख पनि जोगाउन सकेनन् । अहिले माओवादीको अवस्था झन कमजोर छ, देशभरी माओवादीका क्रियाशील सदस्यहरुको संख्या ह्वात्तै घटेको छ । 

यद्यपि, २०८१ मा भएको उपनिर्वाचनको परिणामले भने माओवादी केही हौसिएको छ । २०८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डले ठोकुवा गर्दै आएका छन् । गणतन्त्र, संघियता र धर्म निरपेक्षता जस्ता कुरा जनताले पाउनुमा प्रचण्डको ठूलो भूमिका रहेपनि समग्रमा राष्टको« मुहानर फेर्न प्रचण्डले अर्जुदृष्टि लगाउन सकेनन् ।
 
अस्थिर चरित्रका प्रचण्ड, सत्ताका लागि जे पनि गर्न तयार 

राजनीतिक अस्थिरतालाई प्रश्रय दिने नेताको आरोप प्रचण्डलाई लाग्ने गर्छ । उनलाई नजिकबाट चिन्नेले प्रचण्डको चरित्र अस्थिर हुनुका साथै अडानमा अडिग हुन नसक्ने नेताको संज्ञा दिन्छन् । तर प्रचण्डकै भाषामा भन्ने हो भने उनी अस्थिर भन्दा पनि निरन्तरता क्रम भंगता गर्ने गतिशील व्यक्ति हुन् । 

गणतन्त्र स्थापनापछि जति सरकार निर्माण भए त्यसमा प्रचण्डको प्रमुख भूमिका छ । सत्ताका लागि जस्तो सम्झौता गर्ने तयार हुने भन्दै उनीमाथि अर्को आरोप पनि लाग्दै आएको छ । उनले कहिले एमाले त कहिले कांग्रेसलाई प्रयोग गरी प्रधानमन्त्री बन्दै आएका छन् । 

सत्तामा हुँदा होस या प्रतिपक्ष हुँदा होस उनका अभिव्यक्तिले बेला बेलामा राजनीतिक तंरग ल्याउने गर्छ । माओवादीमा कतिपयले प्रचण्डको विकल्प खोजे पनि उनी विनाको पार्टी झन कमजोर हुने राजनीतिक वृत्तमा विश्लेषण गरिन्छ ।

 
बुधबार, १० बैशाख २०८२, १२ : २०

प्रतिक्रिया