लोकतन्त्रका १९ वर्ष : जनतामा चरम निराशा, व्यवस्थामाथि नै प्रश्न

विहीबार, ११ बैशाख २०८२, १३ : १५

काठमाडौं- नेपाली जनताले लामो संघर्षबाट लोकतान्त्रिक व्यवस्था प्राप्त गर्न सफल भएको पनि १९ वर्ष भइसकेको छ । २००७ सालमा प्राप्त भएको प्रजातन्त्रको घाटी २०१७ मा राजा महेन्द्रले निमोठी दिएपछि फेरि एक चोटी नेपाली जनता रैती भए । मुलुकमा ३० वर्ष पञ्चायती शासन लादिएको थियो । त्यसबेला जनताका लोकतान्त्रिक अधिकारहरु कुण्ठित भए । 

जनताको अभूतपूर्व सहभागितामा २०४६ मा भएको जनआन्दोलनले फेरि मुलुकमा प्रजातन्त्रको घाम झुल्कियो । जनताले केही हदसम्म भएपनि स्वतन्त्रताको सास फेर्न पाए । २०६२/०६३ मा भएको जनआन्दोलनले त झन २ सय ४० वर्षदेखि शासन गर्दै आएको राजतन्त्रलाई घुडा टेकाउँदै सदाका लागि बिदा गरिदियो । 

२०६५ जेठ १५ गते विधिवत रुपमै राजतन्त्रको अन्त्य गरी मुलुकमा गणतन्त्र स्थापना भएको अवधि पनि दुई दशक भइसकेको छ ।   राजाकोे निरकुंश शासनको अन्त्य गरी दलीय शासन प्रणाली स्थापना भएको दिनको अवसरमा आज लोकतन्त्र दिवस मनाइँदै छ । २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।

लोकतन्त्रको प्राप्तीसँगै जनतामा विकास, समृद्धि र सुशासनको आशा पलायो । जनताले चुनेका प्रतिनिधिले देशको शासन सत्ता चलाए । तर, बिडम्बना भन्नु पर्छ जनताले चुनेका नेताले पनि जनताको पक्षमा काम गर्न सकेनन् । 

जनता रोग, भोक, गरिबीको शिकार हुँदा नेताहरु विलासी जिवन बिताइरहे । देशको मुहार फेर्न भन्दै राजधानी छिरेका नेताहरुले आफ्नो मुहार फेरे । जनताका दुःख, पीडा ज्युँका त्युँ नै रह्यो । नेताहरुको जीवनशैली राजा महाराजा भन्दा पनि माथिल्लो तहको हुन गयो । मुलुक विस्तारै घुसठोसी, भ्रष्टाचार, कालोबजारी र महंगीको दुष्चक्रमा फस्दै गयो । जसका कारणले उन्नत भनिएको गणतान्त्रिक व्यवस्थामाथि नै जनताले प्रश्न तेर्साउन थालेका छन् । नेताका नातागोता र आफन्त बाहेक अरुले गणतन्त्रको स्वाद पनि चाख्न पाएनन्, जसका कारण वामे सर्दै गरेको लोकतान्त्रिक व्यवस्थामाथि जनताको आस्था मर्दै गएको छ । 

जनतालाई व्यवस्था भन्दा पनि विकास, समृद्धि र डेलीभरी चाहिएको थियो तर, लोकतन्त्रको आवरण भ्रष्टाचारलगायतका आपराधिक कार्य मौलाउँदै गएको आरोप लाग्न थालेको छ । आज बैशाख ११ अर्थात लोकतन्त्र स्थापना भएको दिन, नेपालीका उत्सव र खुसी दिन हुनुपर्ने हो । तर, अधिकांश जनतामा लोकतन्त्रप्रति वितृष्णा पैदा भएको छ । 

बझाङका हरिश भट्टराई सामाजिक संजालमा लेख्छन् ‘आज निरंकुश राजतन्त्रको अन्त्य भइ दलाल, माफिया, लुटेरा र भ्रष्टाचारी शासन सुरु भएको दिन । मैले यसरी सम्झे ।’ उनी त एक प्रतिनिधि पात्र मात्रै हुन, लाखौ नेपालीमा लोकतन्त्रप्रति यस्तै कुण्ठा र रोष प्रकट हुँदै गएको छ ।  

राजीतिक विश्लेषक प्राडा. प्रेम शर्मा जनताले अप्रेक्षा गरेको जस्तो परितवर्तन नआएपछि लोतन्त्रप्रतिको दृष्टिकोण बदलिएको बताउँछन् । 

उनी भन्छ्न् ‘आज लोकतन्त्रका हिमायती हु भन्नेले नै हिजोका श्री ५ र श्री ३ कै जस्तो शासन पद्धति मुलुकमा लादन खोजे । नेताहरुमा पनि निरंकुश र सामान्ती चरित्र देखियो जसका कारण उनीहरुप्रति जनताको विश्वास घट्दै गयो ।’ 

यस्तै वरिष्ठ पत्रकार तथा विश्लेषक पुरुषोत्तम दाहाल ‘अहिलेको व्यवस्थामाथि प्रश्न उठ्नुको प्रमुख जिम्मेवार २०६३ देखि अहिलेसम्म भएका सबै प्रधानमन्त्रीहरु हुन् तर, सुशील कोइराला, खिलराज रेग्मी भने दोषी छैनन् ।’ उनले भने ।  

व्यवस्थामाथि तमाम प्रश्न, टाउँको उठाउँदै पूर्वराजा ज्ञानेन्द्र 

व्यस्थाप्रति जनतामा देखिएको तमाम निराशलाई आधार बनाउँदै पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा राजावादी सलबलाउन थालेका छन् । फेरी मुलुकमा राजतन्त्रको स्थापना हुनुपर्ने भन्दै बेमोसमी बाजा बजाउन थालेका छन् । 

नेताहरुको कमजोरीकै कारण पूर्व राजाले व्यवस्थामाथि गिद्धे नजर लगाउने कुचेष्टा गरिरहेका छन् । हिजो टाउको कफन बाँधेर लोकतन्त्रका लागि सडकमा मर्न तयार भएकाहरु आज राजतन्त्रको वकालत गर्न थालेका छन् । नेताहरु सत्ता र कुर्सीको लडाईमा व्यस्त हुँदा सत्ताबाट अपदस्थ भइसकेका पूर्वराजा  शाहले खेल्ने मौका पाएका छन् । नेताहरुको कुकृत्यको दोष व्यवस्थामाथि लाग्न थालेको छ । 

आज व्यवस्था भन्दा पनि नेताहरुको चरित्र देश वर्बाद पार्नमा जिम्मेवार छ । विश्लेषक शर्माका अनुसार संविधानमा पनि कयौ कमजोरी छन्, जसका कारण व्यवस्थाको बदनाम भइरहेको छ । 

जनताको नेताप्रतिको वितृष्ण र रोष विस्फोट हुने अवस्थासम्म पुगेका छन् । त्यसलै लोकतन्त्रप्रति जनताको भरौसा जगाउँदै नेताहरुले सच्चिनु आजको प्रमुख आवश्यकता हो ।

 
विहीबार, ११ बैशाख २०८२, १३ : १५

प्रतिक्रिया