काठमाडौं- काठमाडौंको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र सशस्त्र प्रहरी बल नेपालबीच उपचार सहुलियत सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सशस्त्र प्रहरी बलको मुख्यालयमा हल चोकमा आयोजित कार्यक्रममा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद बिजुक्छे र सशस्त्र प्रहरी महिला संघको अध्यक्ष अनिता लामिछाने (अर्याल)ले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार सशस्त्र प्रहरी बल नेपालका कर्मचारी, पूर्व कर्मचारी तथा उहाँहरूको परिवारलाई ग्राण्डी अस्पतालमा उपचारको लागि विशेष सहुलियतको व्यवस्था गरिएको छ ।
सोही समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर डा बिजुक्छेले यो साझेदारीले सशस्त्र प्रहरी कर्मचारी,पूर्व कर्मचारी, तथा उहाँहरूको परिवार लाई स्वास्थ्य र कल्याण सुनिश्चित गर्ने अस्पतालको प्रतिबद्धतामा एक महत्त्वपूर्ण कदम अगाडि बढाएको बताए । साथै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा सशस्त्र प्रहरीका कर्मचारीहरूलाई विशेष सहुलियतमा चिकित्सा उपचार र स्वास्थ्य सेवा साथै विश्व स्तरको स्वास्थ्य सुविधा प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
उक्त सम्झौताले सशस्त्र प्रहरी बल नेपाल र ग्राण्डी अस्पतालबीच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धिको लागि विभिन्न कार्यक्रमहरू गर्न समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ग्राण्डी अस्पतालले जनाएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी महिला संघको अध्यक्ष अनिता लामिछाने (अर्याल), सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरू साथै अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा बिजुक्छे, सीओओ अमृत खन्ना, सहायक महाप्रबन्धक अर्चना प्रधान लगायतको उपस्थित थिए ।
प्रतिक्रिया