हिमालयन रिइन्स्योरेन्सले बढायो नाफा, करिब साढे ४ अर्ब बीमा शुल्क संकलन

बुधबार, ३१ बैशाख २०८२, १३ : ३८

काठमाडौं- हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म नाफा र बीमाशुल्क दुबैमा उल्लेखनीय वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा ९८ करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो। सोही आधारमा कम्पनीको नाफा ६.२५ प्रतिशतले बढेको हो।

नाफासँगै कम्पनीको कुल बीमाशुल्क आर्जनमा पनि उल्लेखनीय वृद्धि भएको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब ७९ करोड ६७ लाख रुपैयाँको तुलनामा १७.३८ प्रतिशतले बढी हो। यस अवधिमा खुद बीमाशुल्क आर्जन १९.७६ प्रतिशतले बढेर ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ पुगेको छ।

वित्तीय संरचना हेर्दा, कम्पनीको शेयर प्रिमियम शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेको छ भने स्पेसल रिजर्भमा १ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २ करोड ८९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड ५० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा यी सबै सूचकहरूमा उल्लेखनीय वृद्धि देखिएको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १२.६८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १२.४१ रुपैयाँ थियो। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १६१.२४ रुपैयाँ रहेको छ भने पीई रेसियो ८०.७३ गुणा पुगेको छ।

बुधबार, ३१ बैशाख २०८२, १३ : ३८

प्रतिक्रिया