काठमाडौं– नेपाल बीमा प्राधिकरणले विविध कार्यक्रमको आयोजना गरी ५७औं वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुलाई नागरिकहरू माझ विश्वसनीयता बढाउने गरी काम गर्न निर्देशन दिएका छन्। अध्यक्ष ओझाले हाल बीमा क्षेत्रमा थुप्रै कमजोरीहरू र उजुरीका चाङ रहेको स्वीकार गर्दै ती समस्यालाई समाधान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “आजका दिनमा बीमा क्षेत्रमा हजारौं कमिकमजोरी छन्, एकैचोटी शून्य बनाउन सकिँदैन, तर विस्तारै हटाउँदै लैजानुपर्छ।” उनले जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमाथि आउने दावी भुक्तानी सम्बन्धी उजुरीलाई शून्यमा झार्ने लक्ष्य रहेको बताए। पछिल्लो समय प्राधिकरणमा उजुरीको संख्या बढ्नुले कामको प्रक्रियामा कमजोरी रहेको संकेत गर्ने उनले स्पष्ट पारे।
अध्यक्ष ओझाले बीमा प्राधिकरणले गाउँपालिका स्तरसम्म पुगेर बीमा सचेतना फैलाउने र पहुँच विस्तार गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए। “बीमा क्षेत्रको दायरा बढाउने र विश्वसनीयता कायम गर्न यसले टेवा दिएको छ,” उनले भने।
उनले बीमकहरू सरकारद्वारा बाध्यकारी बनाइएका बीमा योजनामा मात्रै सीमित रहेकोप्रति चिन्ता व्यक्त गर्दै, अबको दिनमा स्वेच्छिक बीमा योजनाहरूमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा प्राधिकरणका कर्मचारी, बीमक प्रतिनिधि, अभिकर्ता तथा बीमा सर्भेयरहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रतिक्रिया