गृहमन्त्री राजीनामा देऊ

आइतबार, ११ जेठ २०८२, १२ : ११

काठमाडौं - शेरबहादुर देउवाका अति विश्वासपात्र रमेश लेखक प्रतिपक्षमा रहँदा सबैभन्दा धेरै नैतिकताको सन्दर्भ उल्लेख गर्ने नेतामा पर्दथे । उनले संसदमा नैतिक प्रश्न उठाउँदै तत्कालीन गृहमन्त्री रवी लामछिानेलाई पदबाट राजीनामा दिन निरन्तर आवाज उठाउने गर्दथे । आज उनैलाई नैतिकता प्रदर्शन गर्ने ठूलो चुनौती आएको छ । तर अरुलाई नैतिकताको पाठ सिकाउने गृहमन्त्री रमेश लेखक आफैंमाथि गम्भीर आरोप लाग्दा पनि नैतिकता प्रदर्शन गरेका छैनन् । सहकारी प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने मुछिएपछि उनले गत चैतमा संसदमा नैतिक प्रश्न उठाउँदै राजीनामा दिएका नेताहरुको फेहरिस्त प्रस्तुत गरेर उनको राजीनामा मागेका थिए ।

अहिले गृहमन्त्री लेखकमाथि अत्यन्त गम्भीर आरोप लागेको छ । उनीमाथि लागेको आरोप सामान्य छैन । यद्यपी उक्त आरोपमा उनको संलग्नता पुष्टि नहुन पनि सक्छ । तर एउटा सार्वजनिक व्यक्तित्व त्यसमा पनि गृह प्रशासन सम्हालेको मन्त्रीमाथि यति गम्भीर आरोप लागिसकेपछि उनले पहिले नैतिकताको भाषण गरेजस्तै खुरुक्क राजीनामा दिनुपर्ने हो । उनीमाथि भिजिट भिसा प्रकरणमा मन्त्रालयकै कर्मचारीसँगको मिलेमतोमा दैनिक पचास लाख असुलेको गम्भीर आरोप लागेको छ ।

घटनाक्रमले उक्त ‘सेटिङ्ग’ मा उनको संलग्नता अस्विकार गर्न सक्ने अवस्था छैन । तर पनि उनी भन्दैछन्‘ मेरो कुनै गल्ती देखियो भने पदबाट मात्र होइन राजनीतिबाटै सन्यास लिन्छु । ’ यस्तो भन्ने धेरै थिए । संयोगवस नेपाली कांग्रेसबाट गृहमन्त्री भएका नेताहरु पनि यस प्रकारको अभियोगमा मसछिएका थिए । खुमबहादुर, गोन्दिराज, बालकृष्ण खाँडहरुलाई पनि भ्रष्टाचार र मानव तस्करीको आरोप लागेको थियो । अहिलेको काण्ड पनि भिजिट भिसा मात्र होइन ‘मानव तस्करी’ नै हो । तत्कालीन कांग्रेसका सचेतक समेत रहेका लेखकले सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछानेमाथि संसदमा त्यसअघि विभिन्न प्रकरणमा राजीनामा दिएका नेताहरुको उदाहरण दिँदै नैतिक प्रश्न उठाएर राजीनामा दिन सुझाएका थिए । 

उनले भनेका थिए, ‘यदि कुनै मन्त्री अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदि अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्ता मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । ’ 

यस्तै उनले कांग्रेसका तत्कालीन अर्थमन्त्री रामशरण महतमाथि प्रश्न उठेको र उनले पनि राजीनमा दिएको नजिर प्रस्तुत गरेका थिए । उनले भनेका थिए, ‘यसअघि रामशरण महत अर्थमन्त्री भएका बेला उहाँमाथि प्रश्न उठ्यो उहाँले राजीनामा दिनुभएको इतिहास यसै संसदमा छ ।’

गृहमन्त्री लेखकले गोकुल बाँस्कोटाको अडियो प्रकरण कोट्याउँदै उनको राजीनामालाई पनि नैतिकता प्रदर्शको रुपमा औंल्याएका थिए ।

उनले सदनमा भनेका थिए, ‘माननीय गोकुल बाँस्कोटाजी अहिले पनि माननीय सदस्य हुनुहुन्छ । उहाँका माथि प्रश्न उठ्दा पनि छानबिनका लागि मार्गप्रशस्त गर्नुभएको छ । राजीनामा दिनुभएको छ, त्यो पनि संसदको इतिहास छ ।’

त्यस्तै उनले तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र अर्थमन्त्री जनार्दन शर्माको उदाहरण पनि प्रस्तुत गरेका थिए । 

 गृहमन्त्री लेखकले आफूमाथि भिजिट भिसामा लाखौं ठगीको आरोप लाग्दा भने विषयान्तर गर्दैै अन्यत्र मोड्न खोजेका छन् । उनले सार्वजनिक जीवनमा कहीँकतै आर्थिक अपचलन गरेको भए राजनीति नै परित्याग गर्ने भन्दै तत्कालीन आरोपलाई अन्यत्र मोडेर सहानुभूति बटुल्ने दाउमा लागेका छन् ।
अरुमाथि यति धेरै नैतिक प्रश्न उठाउने मन्त्री लेखक कुन नैतिकताले पदमा बसिरहेका छन् ? आफ्नै पार्टीका नेता शेर कोइरालाले  समेत उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । 

आइतबार, ११ जेठ २०८२, १२ : ११

प्रतिक्रिया