काठमाडौँ - अर्थतन्त्रमा विभिन्न समस्याहरु आइरहेकैबेला निजी बैंकहरु पनि समस्याग्रस्त देखिन थालेका छन् । बिग्रँदो आर्थिक अवस्थाको छायाँ वित्तीय संस्थाहरुमा पर्नु स्वभाविकै पनि होला । कुनै समयमा राम्रै हैसियत बनाएको कर्णाली विकास बैंक पछिल्लो समय समस्याग्रस्त बन्दै गएको थियो । सञ्चालकहरुको बदमासीको कारण निक्षेपकर्ताहरु असुरक्षित बन्दै गएका थिए ।
अहिले उक्त बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्। यस घटनाले अन्य निजी बैंकको अवस्थामाथि पनि धेरै प्रश्नहरु उठ्न थालेका छन् । उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।
२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए। रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
पछिल्लो समय बाँकेका स्थायी बासिन्दा रहेका राय सल्यानका हुन्। उनी पछिल्लो समय दलीय राजनीतिमा पनि होमिएका थिए । राप्रपामा रहेका उनी माओवादी, कांग्रेस र एमाले तीनै दलमा प्रवेश गरेका थिए ।उनी सल्यानबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार पनि थिए । अनियमितताबाट जोगिन उनले पार्टी परिवर्तन गर्दै आएका थिए । अहिले उनी माओवादीमा आवद्ध छन् ।
सीआईबीका प्रमुख खापुङका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा परेका छन्। उक्त प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका एआईजी खापुङले बताए।
बैंकमा हिनामिना भएको आरोप लागेपछि बैंकका सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ मा छानविन समिति गठन भएको थियो। समितिले अनियमिततामा रायसहितका व्यक्तिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो।
आर्थिक हिनामिनामा संलग्नहरुलाई पक्राउ गरेर उनीहरुको सम्पत्ति जफत गरी पीडित निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न सरकारले तदारुकता देखाउनुपर्दछ । आर्थिक अपराधमा सरकारले शून्य सहनशीलताको नीति अबलम्बन गरी त्यसलाई कार्यान्वयन पनि गरोस् ।
प्रतिक्रिया