के हो ‘झोले’ प्रवृत्ति ? किन बन्ने ‘झोले’ ?

मंगलबार, २० जेठ २०८२, १५ : १२

काठमाडौं - नेपाली समाजमा चल्तीमा रहेको निकै चर्चित शब्द हो ‘झोले’ । खासगरीमा राजनीतिमा यो शब्द प्रयोग हुँदै आएको छ । कसैलाई तुच्छ शब्दमा गाली वा आलोचना गर्नपर्यो भने फलानाको झोले भन्ने गरिन्छ । यतिबेला भने  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा चलाएको ‘म झोले हो’ अभियानले यो शब्द अझ चर्चामा छ। 

एमालेका शीर्ष नेतादेखि तल्लो तहका कार्यकर्तासम्मले ‘म झोले हो’ पोस्टरमा आफूलाई राखेर सामाजिक सञ्जाल रंगाइरहेका छन्। ओली यसै पनि कुनै न कुनै फण्डा फालेर चर्चामा आइरहने नेता हुन । उनी उखान टुक्काको प्रयोग गरे विपक्षीहरुलाई तीखो आलोचना गर्न खप्पीस मानिन्छन् । पार्टीमा एकछत्र राज गरिरहेका ओलीले जे गर्छन त्यसको सिको गर्ने ठूलो पंक्ति एमालेमा छ । उनको नजरमा अलिकति पनि नराम्रो लाग्ने कार्यकर्ताको राजनीतिक भविष्य पनि सुरक्षित छैन । त्यसैले पनि ओलीलाई खुशी बनाउने प्रतिष्प्रधा नै चलेको छ एमालेमा । त्यसकै परिणाम हो अहिले उनले ‘म झोले हो’ भन्दा पार्टीका उपाध्यक्षदेखि महाचिवसम्मले आफूलाई झोले घोषित गरिरहेका छन् । मानौं यसो नगरे उनीहरु ओलीको नजरमा ‘योग्य’ देखिने छैनन् । त्यसो त गोकुल बाँस्कोटालगायत कतिपय एमालेकै नेताले यसमा असहमति पनि जनाइरहेका छन्। बास्कोटाले ‘झोले बन्न अस्विकार गरेकोले नै होला एकजना एमाले समर्थक कर्मचारी भन्दै थिए, ‘जो जो ओलीका झोले हुन उनीहरुले नै आफ्नो वालमा झोलेको स्टिकर टाँसेका छन् ।’

नकारात्मक रुपमा बुझिने   ‘झोले’ शब्दप्रति शब्दप्रति यतिबेला मानिसहरूको चासो ह्वात्तै बढेको छ र यसलाई आआफ्नै आग्रह–पूर्वाग्रहका आधारमा अर्थ्याइरहेका छन्। यसमा ओलीको ‘योगदान’लाई मान्ने पर्दछ ।  

तर ‘झोले’ शब्दको खास अर्थ के होला त ? 

यसैबीच ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ पल्टाउँदा झोले शब्दले यी तीन अर्थ दिने रहेछन्।

१. अर्काको झोला बोक्ने।

२. झोल भएको, रसदार। 

३. झोला भिरेर हिँड्ने। 
प्रधानमन्त्री ओली र उनका सिपाहीहरुले जे सुकै भने पनि ‘झोले’ शब्द सकारात्मक र शोभनीय पक्कै होइन । कुनै पनि शब्दको अर्थ व्यवहारिक रुपमा पनि खोजिनु पर्दछ । अर्थात् आम मानिसहरुले कसरी त्यसको अर्थ ग्रहण गर्दछन् त्यो नै महत्वपूर्ण हो । भाषा भनेको आम बुझाईको कुरा पनि हो । यस अर्थमा झोले भन्नाले विवेक बन्दकी राखेर कसैको स्वामीभक्ति जनाउने बज्रस्वाँठहरुको समूहको रुपमा नेपाली समाजमा झोलेको अर्थ बुभिन्छ । आफैले कुनै विषयमा जानकारी नलिने, नेताको अन्धभक्त हुने र चाकडीमा किर्तिमान राख्नेहरु नै असली अर्थमा झोले हुन । नेपाली समाजमा झोलेलाई यसरी नै बुझ्ने गरिएको छ । ओली मात्र होइन आफूलाई मूलधारका नेता कहलाउने सबैले आफ्ना कार्यकर्ताहरुलाई झोले बनाइरहेका छन् । एउटा असल र इमान्दार कार्यकर्ता कुनै नेताको झोले बन्न सक्तैन । आलोचनायुक्त चेत र प्रश्न गर्नसक्ने हैसियत भएका कार्यकर्ताको खाँचो छ, हरेक पार्टीहरुमा । त्यसैले वाइहातको ‘झोले’ दर्शन र प्रवृत्तिबाट  मुक्त राख्ने हिम्मत गरौं । यसले झोले उत्पादन गर्ने मनसाय भएका नेताहरुलाई पनि सच्चिन मद्दत गर्ला कि ?  


 

मंगलबार, २० जेठ २०८२, १५ : १२

प्रतिक्रिया