दिव्यश्वरी हाइड्रोपावरको दुई आर्थिक वर्षको साधारणसभा भोलि बस्दै

बुधबार, २१ जेठ २०८२, १४ : ००

काठमाडौं- दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्लो दुई आर्थिक वर्षको वार्षिक साधारणसभा भोलि बस्ने भएको छ । सभा काठमाडौंको मैतीदेवीस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजे बस्नेछ।

सभामा कम्पनीको चुक्ता पूँजीको १:१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। 

उक्त प्रस्तावसँगै हकप्रद सेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न तथा सम्भावित मर्जरका विषयमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल हुनेछ । 

त्यस्तै, सभाले अघिल्लो दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्नेछ। 

सभामा सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक तथा स्वतन्त्र सञ्चालकको नियुक्ति र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गरिनेछ । 

सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेकोले जेठ ७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

बुधबार, २१ जेठ २०८२, १४ : ००

प्रतिक्रिया