ट्रम्प-मस्क टकरावले पार्ने प्रभाव

आइतबार, २५ जेठ २०८२, १३ : ०२

काठमाडौँ - डोनाल्ड ट्रम्पलाई राष्ट्रपति निर्वाचनमा विजयी गराउन करिब २७ करोड डलर खर्च गरेका इलन मस्क अहिले ट्रम्पका सबैभन्दा ठूला शत्रु बनेका छन् । अमेरिकी राष्ट्रपति यसै पनि विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति मानिन्छन् । अर्कोतर्फ इला मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । यी दुईबीचको ‘ब्रोमान्स’ दिगो हुँदैन भन्ने धेरैले पूर्वानुमान गरेका भए पनि यति चाँडै आरोप–प्रत्यारोप र गालीगलौजमा उत्रिहाल्लान् भन्ने ठानिएको थिएन ।

आफू राष्ट्रपतिमा विजयी भएपछि ट्रम्पले मस्कलाई राज्य सञ्चालनको महत्वपूर्ण जिम्मेवारी पनि दिएका थिए । सरकारको प्रभावकारिता बढाउनेसम्बन्धी विभाग (डज) को नेतृत्वमा  मस्कलाई जिम्म दिइयो । मस्कले झन्डै २ महिना फ्लोरिडास्थित ट्रम्पको मार–ए–लागो रिजोर्टमा दैनिक २ हजारभन्दा बढी पर्ने भिल्ला भाडामा लिएर ट्रम्पका नीति बनाउन र उनको शपथको तयारी गर्नमा बिताए । त्यो समयमा मस्क ट्रम्प र उनका कतिपय उग्र दक्षिणपन्थी नीतिहरूको घोर प्रचारक थिए ।

हरेकजसो सरकारी कार्यक्रम र भ्रमणमा ट्रम्पको वरिपरि देखिने गरेका उनले ट्रम्पसँगै फक्स न्युजका सन ह्यानिटीलाई अन्तर्वार्ता दिने र एकअर्काको कार्यक्रममा सक्रिय देखिने गरे । त्यो बेला ‘रिपब्लिकन्स अगेन्स्ट ट्रम्प’ नामक एक्स एकाउन्टले व्यंग्य गर्दै भनेको थियो, ‘ट्रम्प त मस्कसँग मिलानियासँग भन्दा पनि नजिक देखिन्छन् ।’

यो निकटतामा ट्रम्पले पनि उत्तिकै साथ दिएका थिए । उनले मस्कलाई आफ्ना सबै प्रमुख चन्दा र राजनीतिक समर्थन जुटाउने प्रयासमा मात्रै अघि सारेनन्, निरन्तर मस्क आफ्नो मनपर्ने व्यक्ति भएको भन्दै उनका व्यवसाय र अराजक शैलीको निरन्तर बचाउसमेत गरे ।

मस्क र ट्रम्पबीचको एकता र घनिष्ठ मित्रता त्यत्तिकै भएको थिएन । दुवैले आफ्नो स्वार्थलाई केन्दूे्रमा राखेका  थिए भन्ने अहिले पुष्टि हुँदै गएको छ ।  ट्रम्पसँग नजिकिँदा मस्कलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि, अन्तरिक्ष व्यवसाय, विद्युतीय सवारीलगायत आफ्ना कैयौं व्यवसायसम्बन्धी नीतिहरूमा प्रत्यक्ष प्रभाव रहने र सरकारी निकायहरूसँगका परियोजनासमेत जोड्दा फाइदा हुने आकलन गरेका थिए । यस्तै, ट्रम्पलाई पनि २५/३० करोड डलरको राजनीतिक चन्दा, एक्सजस्ता मिडियामा बलियो प्रभाव, प्रविधि रुचाउने पुस्तासँग नजिकिएर उनीहरूको मत बटुल्न मस्क उपयोगी हुन सक्ने अवसर थियो । यस हिसाबले ट्रम्पलाई आफूसँग धेरथोर विचार मिल्ने सार्वजनिक व्यक्तिको खाँचो विश्वकै धनी व्यक्तिले पूरा गरिदिएका थिए ।

उनीहरू सरकारको खर्च कटौती, अमेरिकी कम्पनीहरूले आफ्नै देशमा उत्पादन र रोजगारी बढाउनुपर्ने, अमेरिकाको राष्ट्रिय ऋण घटाउनुपर्ने र अर्थतन्त्र सबैभन्दा माथिल्लो प्राथमिकतामा रहनुपर्नेजस्ता अनेकौँ कुरामा समान धारणा राख्ने हुनाले पनि निकटता सम्भव भएको विश्लेषण गरिएको थियो । नीतिगत र राजनीतिक समानतासँगै ट्रम्प र मस्कको कतिपय व्यक्तिगत शैली र व्यक्तित्व पनि एकआपसमा मिल्ने किसिमको भएकोले पनि उनीहरुबीच सहकार्य भएको थियो । 

उनीहरुबीचकै एकताको कारण अमेरिकी नीतिमा व्यापक परिवर्तन ल्याइएको थियो । दुवै जनाले मन नपराउने समावेशी, विविधता, पिछडिएका क्षेत्रसँगै यूएसएड, वातावरण मन्त्रालय, शिक्षा विभागजस्ता निकाय लगभग बन्द गरिएका छन् । दुवैले मिलेर एआईमा आक्रामक नीति ल्याउनेसँगै अमेरिकी कम्पनीहरूलाई घरमै उत्पादन गर्न दबाब दिन सफल पनि भए । ट्रम्पको एआई नीति मुख्यतः खुकुलो नियमन (डिरेगुलेसन) र नवप्रवर्तनको प्रवर्द्धनमा केन्द्रित छ ।

सुरुबाटै आक्रामक रूपमा बजेट कटौती, ऋण घटाउने, निमयनहरू कम गर्नुका साथै ट्रम्पले ल्याएका एकपछि अर्को अतिरिक्त शुल्क अर्थात् ट्यारिफमा पनि दुईबीच मतभेद देखियो । ट्रम्पका ट्यारिफ र नियमनका नीतिहरूले आफ्नो कम्पनीलाई असर गर्न सुरु गरेपछि स्वच्छन्द रूपमा बोल्न रुचाउने मस्कले त्यसको विरुद्धमा अभिव्यक्ति दिए ।

ट्रम्प र मस्कको झैझगडा जारी रहे त्यसको आर्थिक र राजनीतिक असर भने बढ्दै जानेछ । राजनीतिक रूपमा ट्रम्प र कतिपय दक्षिणपन्थी उम्मेदवारलाई जिताउन र उनीहरूका एजेन्डा स्थापित गर्न पैसा नै खर्च गरेर लागेका मस्कले त्यसो नगर्दा आगामी निर्वाचनमा रिपब्लिकनले समस्या झेल्नुपर्नेछ । मस्कले आफैं एक्समा पोस्ट गर्दै ‘मैले ट्रम्पलाई चुनाव जिताएँ, म नभएको भए डेमोक्र्याटहरूले राष्ट्रपति र संसद् दुवै कब्जा गर्थे, कस्ता कृतघ्न’ भनेर व्यंग्य गरेका थिए । यसबाट पनि रिपब्लिकन पार्टीमा उनको प्रभाव थाहा हुन्छ ।
यसैगरी उनीहरुबीचको विवाद जारी रहे डेमोक्र्याट र उदारवादीविरुद्ध एकजुटजस्तो देखिएको दक्षिणपन्थी खेमा टुक्रने सम्भावना देखिन्छ । मस्कले खुला रूपमै नयाँ दल दर्ता गर्ने र अहिले ट्रम्पको विधेयकलाई सघाउने सबै सांसदलाई चुनावमा हराउनुपर्ने चुनौती दिइरहँदा प्रविधिमैत्री नयाँ पुस्ताले मस्कलाई साथ दिने सम्भावना रहन्छ । कतिपय अवस्थामा मिथ्या र भ्रामक सूचनासमेत प्रसार गरेर ट्रम्पका एजेन्डा स्वीकृत गराइछाड्ने मस्कको ह्वाइटहाउसमा कमी महसुस हुन सक्छ ।

आर्थिक रूपमा पनि यी दुई धनाड्यबीचको विवादले गहीरो प्रभाव पार्ने आँकलन गरिएको छ ।  मस्कले यसअघि नै आफ्ना ‘ब्रान्ड भ्यालु’ मा आएको गिरावट र बजारमा उल्लेख्य चुनौती झेलिरहेका थ्उि । यसपछि उनी थप दबाबमा पर्न सक्ने अमेरिकी सञ्चार माध्यमहरुको विश्लेषण छ । विद्युतीय सवारी र हरित ऊर्जाको परम्परागत आलोचक रहेका रिपब्लिकनहरूले त्यसको थप कडा नियमनमार्फत मस्कमाथि दबाब बढाउन सक्छन् । ट्रम्पले घोषणा गरेजस्तै सरकारी करार, ठेक्का, अनुदानलगायत अर्बौं अमेरिकी डलर रोकिएमा मस्कका स्पेस एक्सजस्ता कम्पनीहरू सोझै संकटमा पर्न सक्छन् । एपी न्युजका अनुसार ट्रम्पसँगको विवादले टेस्लाको सेल्फ ड्राइभिङ गाडीसम्बन्धी परियोजनामा ढिलाइ हुन सक्छ र नासासँग स्पेस एक्सका मिसनहरूमा पनि असर पर्न सक्छ ।

आइतबार, २५ जेठ २०८२, १३ : ०२

प्रतिक्रिया