संसदमै व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिँदै सांसदहरु, घडी काण्डदेखि मन्त्रीको पिए बनेर जेल गएको आरोपसम्म

आइतबार, १५ असार २०८२, १४ : ५९

काठमाडौं- भिजिट भिसा प्रकरणले सदन तातिरहेको बेला सांसदहरु व्यक्तिगत आरोप प्रत्यारोपमा समेत उत्रिन थालेका छन् । कांग्रेस सांसद रामहरि खतिवडाले शनिबारको संसद बैठकमा रास्वपाका सांसद डिपी अर्याल लक्षित भिजिट भिसामा विदेश पठाउने व्यक्ति सदनमै भएको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिको प्रतिवाद गर्दै सांसद अर्यालले मन्त्रीको पिए भएको समयमा अवैध रुपमा मानिस विदेश पठाएर जेल बसेको आरोप खतिवडामाथि लगाएका छन् ।

उनले भने- ‘३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध हामी आन्दोलनमा छौँ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति माग गरिरहेका छौँ । यस विषयलाई विषयान्तर गर्नेगरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो । राजनीतिलाई पेसा लगाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् । मलाई दया लाग्छ( २०४८र४९ सालतिर मन्त्रीका पिए बसेर कागज किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेबापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद् भएर बसिरहेका छन्। ’

सांसद अर्यालले अझै अगाडि बढेर भने, ‘अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशका केही गरेर खाने मान्छे हुँ । चोरेर खाने मान्छे होइन । मेरो समय ठिकै चलेको छ, अरूको घडीको समय बितेको छ भने म के भनौँ । मेरो कम्पनी मात्र एक जना मान्छे भिजिट भिसामा जापान मात्र होइन संसारको कुनै देश गएको छ । हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । सभामुखज्यूबाट रुलिङको माग गर्दछु । कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्‍यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ । ’

यसको प्रतिवाद गर्दै कांग्रेस सांसद खतिवडाले आफूले व्यक्ति किटान नगरेको भन्दै बचाउमा उत्रिए । उनले भने- ‘हामीले कुनै माननीयको नाम किटान गरेर भनेका थिएनौँ । चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी केही माननीयहरू प्रस्तुत हुनुभयो । हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरले संसद् थर्काइन्छ महोदय रु म अनुरोध गर्न चाहन्छु( कुनै बेला हामी अदालतबाट निर्दोष भएर संसद्मा प्रतिनिधित्व गरेका छौँ । ’

उनले अगाडि भने, ‘आज दोषी भएका मानिसहरू ठुलो स्वरमा कराउँदाखेरि यहाँ आपत्ति छ । हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ । छानबिन गरौँ दोषी छ भने कारबाही गरौँ । निर्दोष छ भने हामी उहाँलाई सफाइ दिन चाहन्छौँ । कानुनी रूपमा हिजो पनि आज पनि म्यानपावर कम्पनीलाई दलालमार्फत सुविधा दिने २०९ म्यानपावर कम्पनीलाई अवैध रूपमा सञ्चालनको अनुमति दिने को मान्छे श्रम मन्त्री थियो । त्यो छानबिन गर्न म माग गर्दछु ।’

रास्वपाले गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । माओवादीले समेत सुरुमा यही विषय उठाएर सदन अवरुद्ध गरे पनि दुई बुँदे सहमति गर्दै सदनखोल्न तयार भएको थियो । 

 
 
 
आइतबार, १५ असार २०८२, १४ : ५९

प्रतिक्रिया