काठमाडौं–राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बर्दियास्थित बबई सिँचाई आयोजनाको निर्धारित समयावधि सकिन लाग्दा समेत सम्पन्न हुन सकेको छैन । आयोजनालाई आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखेपनि भौतिक प्रगति ७५.५४ प्रतिशतमा सीमित भएको हो ।
आयोजनाको वितीय प्रगति भने ७६.८८ प्रतिशत हाराहारी रहेको छ । बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पु¥याउने उद्देश्यका साथ बबई सिँचाइ आयोजना ल्याइएको हो । तर निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्दा स्थानीयले यसबाट पूर्ण लाभ लिन सकिरहेका छैनन् भने लागत खर्च बढिरहेको छ ।
नेपाल सरकारले स्वामित्व लिएको यस आयोजनामा सम्पूर्ण खर्च जनताबाट लिएको कर र राजस्वलाई आधार मानिएको छ । समयमा आयोजना सम्पन्न नहुँदा राज्यको सम्पती र पुँजी माथि खेलवाड भएको देखिएको छ । आयोजना सम्पन्न नहुनुमा प्रत्येक वर्ष अपुग बजेट विनियोजन, पूर्व तयारीको अभाव, आयोजना प्रशासनको कमजोरी जस्ता विषयलाई अघि सारेपनि वास्तविक मार भने राज्यले खेपिरहेको छ । अन्ततः आयोजनाबाट जनताले समयमा लाभ लिन चुकिरहेका छन् ।
आयोजनाको विवरण
बबई सिँचाइ आयोजना बर्दियाको वैदीमा अवस्थित छ । वर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउन यो आयोजना अघि सारिएको हो । आयोजना विकासका लागि नेपाल सरकारले अन्तराष्ट्रिय विकास संस्था (आई.डि.ए.) को संलग्नतामा २०२४ साल देखि अध्ययन थालनी गरेको हो ।
संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा पूर्व साम्भाव्यता अध्ययन भएको थियो । उक्त साम्भाव्यता अध्ययन प्रतिवेदनमा बबई नदीभन्दा पूर्वमा १९ हजार हेक्टर तथा पश्चिममा २१ हजार हेक्टर जमिनलाई सिँचाइ योग्य निर्धारण गरिएको थियो । प्रथम चरणमा पूर्व तर्फको करिब १३, २४० हेक्टरमा सिँचाइ प्रणालीको विकास गर्ने उद्देश्यले २०३५ सालमा यो क्षेत्रको साम्भाव्यता अध्ययन सम्पन्न गरिएको थियो ।
अन्तराष्ट्रिय विकास संस्थाको ऋण सहयोगमा प्रथम चरणमा २०३८ सालदेखि २०४० सालसम्म विस्तृत इन्जिनियरिङग डिजाइनको कार्य सम्पन्न भएको र सो डिजाइनमा बबई नदीमा साइफन निर्माण गरि पश्चिमतर्फ सिँचाइ प्रणालीको विकास गर्ने प्रस्ताव गरिएको थियो । विश्व बैंकको ऋण सहयोग प्राप्त नहुने भएपछि बबई सिँचाइ आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०४५/०४६ देखि नेपाल सरकारले आफ्नै श्रोतबाट सुरु गर्ने निष्कर्ष निकाल्यो । निर्माण सम्पन्न पश्चात यो आयोजनाले वर्दिया जिल्लाको समग्र विकासमा टेवा पु¥याउने विश्वास लिइएको थियो ।
हालसम्मको प्रगति विवरण
आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिकको विवरणले बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ७५.५४ प्रतिशत देखाएको छ । त्यसैगरि आयोजनाको वितीय प्रगति ७६.८८ प्रतिशतमा सिमित हुन पुगेको छ । अग्रीम भुक्तानी, मोबिलाइजेसन पेश्कीका कारण भौतिक प्रगतिभन्दा वितीय प्रगति बढी देखिएको हो । प्रारम्भिक चरणमा आयोजनालाई आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गर्ने लक्ष्य राखेका थियो । आयोजनाको अनुमानित लागत १८ अर्ब ९६ करोड ३० लाख ४४ हजार रुपैयाँ रहेको थियो । लागतको गुरुयोजना २०७८ साल बैशाख २१ गते स्वीकृत गरिएको थियो ।
आर्थिक वर्ष २०७९/०८० सम्म १२ अर्ब २८ करोड ९४ लाख रुपैयाँ खर्च भइसकेको छ । २०८२ साल असार २५ गतेसम्म बबई सिँचाइ आयोजनामा १५ अर्ब ७० करोड ८६ लाख रुपैयाँ खर्च भइसकेको बबई सिँचाइ आयोजनाका सिनियर डिभिजन इन्जिनियर दिनेश पौडेलले आजको अर्थलाई बताए । तर समयावधि सकिन लाग्दा समेत आयोजनाको यो प्रगति विवरणले निर्धारित समयमा सम्पन्न नहुने संकेत गरिरहेको छ । आयोजनालाई सम्पन्न गर्नका लागि थप गुरुयोजना बनाउने तयारी भइरहेको छ । मास्टर प्लान अन्र्तगत आयोजनाको समयावधि थप गरि आर्थिक वर्ष २०८४/०८५ मा सम्पन्न गर्ने लक्ष्य राखेको बबई सिँचाइ आयोजनाका दिनेश पौडेलले जानकारी गराए ।
किन भयो ढिलाई ?
नेपाल सरकारको पूर्ण स्वामित्वमा निर्माण भइरहेको बबई सिँचाइ आयोजनाको निर्माण कार्य अत्यन्त सुस्त देखिएको छ । आयोजनाको निर्माण कार्यमा सुस्तता आउनुमा राज्यको अपुग बजेट विनियोजनलाई प्रमुख कारण मानिएको छ । अन्य दातृ निकाय नभएको यस गौरवको आयोजनामा प्रत्येक वर्ष कम बजेट विनियोजन हुँदा निर्माण कार्यले लय समाउन नसकेको हो । आर्थिक वर्ष २०६९/०७० मा आयोजनालाई अपुग बजेट विनियोजन गरिएको थियो ।
यसैगरी आर्थिक वर्ष २०७९/०८० र आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरिएको न्युन बजेटका कारण आयोजनाले वोलपत्र आव्हान गर्न सकेन । जसले आयोजनाको भौतिक प्रगति सुस्त बनायो । हाल बबई सिँचाइ आयोजनाले नहरबाट पानी सञ्चालन गर्दै आएको छ । नहरबाट पानी सञ्चालन नगरेको अवस्थामा निर्माण कार्य अघि बढाउने गरेको छ । नहरबाट पानी सञ्चालन र निर्माण कार्य एकै साथ अघि बढाउन नसकिने भएकाले फरक–फरक समय पारेर काम गर्दै आउनुपरेको छ ।
निर्धारित समयमा आयोजना सम्पन्न नहुनुमा यो पनि प्रमुख कारण मानिएको छ । आयोजना निर्माणस्थलमा बर्दिया राष्ट्रिय निकुञ्जको भू–भाग परेको छ । निर्माण कार्य अघि बढाउँदा निकुञ्जसँग सहमति, सहकार्य र प्रक्रियाको तालमेल मिलाउँदा आयोजनामा ढिलाई भएको बबई सिँचाइ आयोजनाको दिनेश पौडेलले आजको अर्थलाई बताए ।
तर, आयोजनाको निर्माण कार्यमा ढिलाई हुनुमा यति मात्र कारण पर्याप्त छैन । आयोजनामा लापरवाही, पर्याप्त पूर्व तयारीको अभाव, आयोजना प्रशासनको कमजोरी जस्ता विषयले गर्दा बबई सिँचाइ आयोजनाको निर्माण कार्यमा ढिलाई भएको हो । कम गुणस्तरको कामले एउटै कार्य पटक–पटक गर्नुपर्दा पनि यो समस्या देखिएको हो । आयोजनाको वास्तविक खर्चभन्दा बढी खर्च हुनु, प्रशासनिक खर्च बढी देखिनु र प्राविधिक काम–कारवाहीको सहि मूल्याङ्कन नहुँदा आयोजनाको निर्माण कार्य सहि समयमा नभएको पूर्वकार्यवाहक महालेखापरिक्षक सुकदेव भट्टराई खत्रीले बताए ।
आयोजनामा के के भए ?
आयोजनाको प्रथम चरणमा राजमार्गमा पुल सहितको बाँध निर्माण कार्य ६७ कारेड ९५ लाख रुपैयाँ लागतमा २०४९ सालमा सम्पन्न गरियो । साथै ५.५ किलोमिटर लामो मूलनहरको सुरुको खण्ड २०५० सालमा सम्पन्न गरी परम्परागत रुपमा किसानहरुद्वारा सञ्चालित बुढि कुलो, मझरा कुलो, राजकुलो र धधवार कुलोमा गरि करिब ४ हजार हेक्टर क्षेत्रमा सिँचाइ पु¥याउँदै आएको थियो । त्यसपछि आयोजनाको प्रथम चरणको बाँकी काम पुरा गर्न कुवेत कोषबाट ऋण सहयोग लिने सम्बन्धि कारवाही गरिएको भएता पनि ऋण सहयोग प्राप्त हुन सकेन ।
राष्ट्रिय अभियानको रुपमा आयोजनाको मूलनहरको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखी २०५१ सालमा विशेष कार्य योजना सञ्चालन गरिएको थियो । जस अन्तर्गत करिब २८ किलोमिटर लामो बबई मूलनहरको बाँकी २२.५ किलोमिटरसम्मको निर्माण कार्य २०५८ सालसम्ममा सम्पन्न गरिएको थियो । आयोजनाको दोस्रो चरणको कार्य सुरु गर्ने उद्देश्यले २०५८ सालमा परामर्शदाता इष्ट कन्सल्ट प्रा.लि. वि.डि.ए. नेपाल प्रा.लि. जेभि द्वारा बबई नदीमा साइफनसहित अन्य संरचनाहरुको विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य सम्पन्न भएको थियो ।
बबई नदीमा साइफन, ढोढरी नहर तथा नहर संरचनाहरुको निर्माण कार्य आर्थिक वर्ष २०६७÷०६८ मा सुरु भई आर्थिक वर्ष २०६९÷०७० मा करिब ४४ करोड २४ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । साइफन तथा लिंकनहर र अन्य नहर संरचनाहरुको निर्माण सम्पन्न भई परम्परागत रुपमा कुलाहरुको संरचनाबाट ढोढरी तथा जम्ती बर्गदा तर्फ पानी सञ्चालन भई सकेको अवस्थामा २०७१ साल श्रावण २८ देखि ३० सम्मको बाढीले उक्त संरचनाहरु क्षतिग्रस्त बनाएको थियो । पुनः साइफन २०७३ को असार सम्ममा पुनः निर्माण भई हाल नहर सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया