काठमाडौं- संघीय खानेपानी मन्त्री प्रदीप यादव तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहबीच तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि गहन छलफल भएको छ ।
मंगलबार मधेस प्रदेशको जनकपुरमा तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका सम्बन्धमा मुख्यमन्त्री सिंह, प्रदेश ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव सहितका विभिन्न सरोकारवालासँग गहन छलफल भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण उत्पन्न भएको सुक्खा समस्या र त्यसले उत्पन्न गरेको खानेपानीको सङ्कट दिनानुदिन गम्भीर बन्दै गएकाले समस्या समाधानका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, “तराई–मधेसको खानेपानीको दीर्घकालीन समाधानका लागि सबै तह र तप्काबीच समन्वय र सामूहिक प्रयास आवश्यक छ । समस्या समाधानका लागि म व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय छ ।”
छलफलका क्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशका १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या गहिरिँदै गएको जानकारी गराएका थिए।
मुख्यमन्त्री सिंहले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
उनले भने, “प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट खानेपानीको सङ्कटमा रहेका बेला खुला हृदयले सहयोग गर्न म दातृ निकायहरूलाई आग्रह गर्दछु ।”
छलफलमा प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवसहित सरोकार भएकाहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया