काठमाडौं–नेपाल विद्युत प्राधिकरणले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा चारवटा उच्च भोल्टेज प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रबाट आशयपत्र माग गरेको छ । प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गर्न लागिएका कुल ३ सय २२ किलोमिटर लामो प्रसारण लाइनका लागि निजी क्षेत्रलाई प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरेको हो ।
निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा अघि बढाइने यी आयोजनाको कुल अनुमानित लागत ३२० मिलियन अमेरिकी डलर ९करिब ४२ अर्ब रुपैयाँ बराबर रहेको छ । इच्छुक निजी कम्पनीले उक्त प्रसारण लाइन सञ्चालन गर्दा आवश्यक पर्ने वार्षिक आम्दानी उल्लेख गर्दै प्राधिकरणमा आशयपत्र पेश गर्नुपर्नेछ । प्रतिस्पर्धी प्रक्रियामार्फत वार्षिक आम्दानीको दर, प्राविधिक क्षमता र वित्तीय प्रस्तावको मूल्यांकन गरी उपयुक्त कम्पनी छनोट गरिने उल्लेख छ ।
प्राधिकरणले प्रस्ताव गरेका चार प्रसारण लाइनमध्ये सबैभन्दा लामो तिङ्ला–दूधकासी–ढल्केबर ४०० केभी प्रसारण लाइन हो । जसको लम्बाइ ११८ किलोमिटर रहेको छ । आयोजनामात्रको लागत करिब १४२ मिलियन डलर अनुमान गरिएको छ । न्यु खिम्ती–ढल्केबर, लप्सीफेदी–तीनपिप्ले र अरुण (हब)–इनरुवा प्रसारण लाइनहरू पनि प्राधिकरणले पीपीपी मोडेलमा अघि बढाउन खोजेको हो । प्राधिकरणले सूचनामा निजी कम्पनीहरूलाई ३० दिनभित्र आशयपत्र बुझाउन भनेको छ ।
आवश्यक फारम तथा प्रश्नावली प्राधिकरणको वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको उल्लेख छ । आशयपत्र प्राधिकरणको इमेलमार्फत वा दरबारमार्गस्थित व्यवसाय विकास निर्देशनालयमा हार्डकपी रूपमा बुझाउन सकिने छ ।
प्रतिक्रिया