काठमाडौँ–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरेको बताएका छन् । स्वास्थ्य मन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा कान्ती बाल, भक्तपुर क्यान्सर, पाटन अस्पतालमा उक्त उमेरका बालबालिकाको उपचार निःशुल्क गरिएको उहाँले बताएका हुन् । संघिय अस्पतालमा पक्षघात (स्ट्रोक), हिमोफिलियाको औषधि निःशुल्क उपलब्ध गराइने उहाँको भनाई छ ।
सरकारी अस्पतालहरुमा सिकलेस एनेमिया तथा थालासेमियाका बिरामीलाई आवश्यक औषधी तथा भ्याक्सिन निःशुल्क गरिएको जानकारी समेत उहाँले गराउनुभयो । जलनको उपचारलाई निःशुल्क गर्न ‘जलनको सघन उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१’, क्यान्सर सेवा प्रदेशमा पुर्याउन ‘अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि, २०८१’, र डिजिटल स्वास्थ्यको जग बसाल्न ‘विद्युतीय चिकित्सा अभिलेख र दूर चिकित्सा सेवा एकीकृत कार्यविधि, २०८१’ जस्ता रूपान्तरणकारी दस्ताबेजहरू जारी गरिएको मन्त्री पौडेलको भनाइ छ ।
मन्त्री पौडेलले एचपिभी खोप, विद्यालय स्वास्थ्य, नसर्ने रोग पहिचान, बिरामी प्रेषण, सुर्तीजन्य पदार्थमा चेतावनीमूलक चित्र छाप्ने, आपत्कालीन चिकित्सकीय समूह परिचालन जस्ता दर्जनौँ कार्यक्रमलाई निर्देशिकामार्फत कानुनी वैधता दिइएको बताए । “निरोगी नेपाल” अभियान अन्तर्गत आयुर्वेद र प्राकृतिक चिकित्सामा आधारित नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहसम्म विस्तार गरिएको मन्त्री पौडेलले बताए ।
उनले योग, ध्यान, स्वस्थ जीवनशैली प्रवद्र्धनजस्ता कार्यक्रमहरूलाई स्थानीय सरकारसँगको समन्वयमा एकीकृत रूपमा सञ्चालन गरी शारीरिक तन्दुरुस्ती, सकारात्मक सोच र व्यक्तित्व विकासमा जोड दिइएको बताएका छन् । यसले नसर्ने रोगहरूको रोकथाममा महत्त्वपूर्ण योगदान पुर्याउँदैनागरिकलाई स्वस्थ र सन्तुलित जीवन जिउन प्रेरित गर्ने उनको विश्वास छ ।
आयुर्वेद, योग तथा परम्परागत चिकित्सा पद्धतिको संरक्षण र विकास गर्ने नीति अनुरूप बुढानीलकण्ठमा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ स्थापना गरी मिति २०८१ चैत्र २२ देखि सेवा प्रारम्भ गरिएको बताए । यस केन्द्रले नागरिकलाई आयुर्वेद र योगमा आधारित विशिष्टीकृत पञ्चकर्म सेवा प्रदान गर्नेछ र यस क्षेत्रको अध्ययन–अनुसन्धानका लागि समेत महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने मन्त्री पौडेलले जानकारी गराए ।
प्रतिक्रिया