काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ ।
बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन(तीन मिनेट बोल्ने समय दिइएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै यही बैठकबाट निर्णय लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।
पार्टी कार्यालय च्यासलमा सोमबारबाट सुरु भएको पहिलो दिनको बैठकमा अधिकांशले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा बाहिर विवाद गर्नुभन्दा राजनीतिक निर्णय गरेर चाँडो टुंगो लगाउनुपर्ने समान धारणा राखेका हुन् ।
पहिलो दिनको बैठकमा विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने ४९ जनामध्ये अधिकांशले पार्टी विधानको धारा ६४ अन्तर्गतको व्यवस्था ७० वर्षे उमेर हद र २ वर्षे कार्यकाल हटाउने प्रस्तावलाई समर्थन जनाएका हुन् ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पहिलो दिन धारणा राख्ने केन्द्रीय सदस्यहरूले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरूमा सहमति जनाउँदै विधान संशोधनका सवालमा महत्त्वपूर्ण सुझावहरू दिएको बताए ।
प्रतिक्रिया