कम्युनिष्ट आन्दोलनबारे नयाँ बहस आवश्यक

मंगलबार, ०६ साउन २०८२, १७ : ०७

काठमाडौ - नेपालको राजनीतिक आन्दोलनमा कम्युनिष्ट पार्टीहरुका भूमिकालाई कसैले सिन नजर अन्दाज गर्न सक्तैन । आर्थिक-सामाजिक रुपान्तरणमा कम्युनिष्ट पार्टीको भूमिका सबैभन्दा महत्वपूर्ण र निर्णायक रहने गरेको छ । नेपालमा कम्युनिष्ट आन्दोलनको बिजारोण गर्न पुष्पलालको विशेष योगदान रहेको छ । रामेछापमा जन्मिएर काठमाडौँ आई जहानियाँ राणा शासनविरुद्ध संगठित रूपमै संघर्ष भइरहँदा पुष्पलालका दाजु गंगालालसहितका ४ जनाले सचेततापूर्वक जीवन समर्पण गरेका थिए ।

उक्त घटनासँगै नेपालको क्रूर राणा शासनले नेपाली जनतामाथि गरेको शोषण, दमन र उत्पीडनका विरुद्ध संघर्ष गर्ने चेत पुष्पलालमा उत्पन्न भएको थियो । दाजु गंगालाललाई मृत्युदण्ड दिँदा पुष्पलाल १६ वर्षका मात्र थिए ।

मृत्युदण्ड दिने समयमा गंगालालले पुष्पलालसमक्ष अपेक्षा राखेका थिए ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् ।’

त्यसैले गंगालालको चितामा उभिएर पुष्पलालले प्रतिवद्धता गरेका थिए–निरंकुशता विरुद्ध लड्ने । उनले भनेका थिए, ‘तिमी मरेर गयौ तर म तिमीलाई वचन दिन्छु, तिमीले देखेको सपना म पूरा गरेरै छाड्नेछु।’

तत्कालीन अवस्थामा नेपाली काङ्ग्रेसले लिएको राजनीतिक विचारधाराप्रति असहमत हुँदै जाँदा उनको लगाव मार्क्सवादप्रति भयो । त्यही क्रममा पुष्पलालकै नेतृत्वमा ४ युवाहरू मिलेर २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे। जुन नेपाली इपिहासकै युगान्तकारी परिघटना थियो

इतिहासका यस्ता युगनायकप्रति पनि विभिन्न विवादहरु निकालिए । यी विवादहरु उनको मृत्युपर्यन्त पनि रहिरहे । कुनै समयमा ‘नेपालका माओ’ कहलिएका मोहनविक्रम सिंहले पुष्पलालविरुद्ध ‘गद्धार पुष्पलाल’ नामक पुस्तक नै प्रकाशित गरेका थिए । यद्यपि पुष्पलाल मोहनविक्रमभन्दा धेरै अग्रज थिए । अन्य कम्युनिष्टहरुले पनि बाँचुन्जेल उनको खेदो खनिरहे।

२०४६ को जनआन्दोलनपछि भने उनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । उनले अगाडि सारेको संयुक्त जनआन्दोलनको नीति अनुसार नै कांग्रेस र कम्युनिष्टहरुको संयुक्त आन्दोलनले मुलुकमा पञ्चायति व्यवस्थाको अन्त्य गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएको थियो । अहिले पुष्पलालका नाममा विभिन्न संस्थाहरू खोलिएका छन् । प्रतिष्ठान बनेका छन् । पार्क बनेका छन् । एमालेले त मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओको फोटो नराखेर पुष्पलाल, मनमोहन आधिकारी र मदन भण्डारीको फोटो राख्ने गरेको छ ।

उनका त्याग र समर्पणलाई लिएर नेपालका सबैखाले कम्युनिस्टहरूले आफ्नो दुनाे सोझ्याउन पनि जन्मदिन मनाउने गरेका छन् । संसदीय पार्टीहरूले भोट बैंकको आयतन बढाउन उनको नामलाई ट्रेड मार्क बनाएका छन् । क्रान्तिकारीहरूले पनि पुष्पलालको जीवनीको सही समीक्षा गरेको पाइँदैन । 

पुष्पलाल स्मृति दिवसका अवसर पारेर आज मार्क्सवादी अध्ययन केन्द्रले काठमाडौंको राष्ट्रिय सभा गृहमा भव्य कार्यक्रमको आयोजना गर्याे । कार्यक्रमलाई विप्लव, जनार्दन शर्मा प्रभाकार र घनश्याम भुसालले वैचारिक सम्बोधन गरेका छन् । उनीहरुले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले नयाँ उचाईमा लैजानुपर्ने धारणा राखेका छन् ।  पुष्पलालको उच्च नैतिकताको सन्दर्भ कोट्टयाँदै माओवादी केन्द्रका उपमहासचिव समेत रहेका प्रभावशाली र लोकप्रिय नेता शर्माले 
 ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिबीको अवस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गरे । सम्बोधनकै क्रममा उनले मनमोहन अधिकारी बाहेकका अन्य कम्युनिष्ट पार्टीका नेताले असुली धन्दा गरेको ठहर भएको जिकिर गरे ।

उपमहासचिव शर्माले भने, ‘आज उत्पीडित जातीमाथिको अत्याचार के भइरहेको छ, पहिचानका मुद्दा जसरी हराइरहेका छन् । आज लाखौं लाख युवाहरू विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।’

उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो ? भन्दै प्रश्न गरे ।
आजको कार्यक्रमले क्रान्तिकारी कम्युष्टिहरुको नयाँ ध्रुविकरणको संकेत गरेको छ । पहिलो पुस्ताका नेताहरुबाट अब आन्दोलनको सफल नेतृत्व हुन नसक्ने बहस चलिरहेकोबेला तीन कम्युनिष्ट पार्टीका उर्जाशील नेताहरु एउटै मञ्चमा आएर बेग्लै सन्देश दिन खोजेको प्रष्ट हुन्छ । पक्कै पनि नेपालमा कम्युनिष्ट जनमत निकै ठूलो छ । जनतामा कम्युनिष्टहरुप्रति आस्था र समर्थन पनि छ । तर विभाजित अवस्थामा रहेका कम्युनिष्ट पार्टी र तिनको ढोंगी एवम स्वेच्छाचारी नेतृत्वका कारण नेता शर्माले भने जस्तै ९ / ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि जनआकांक्षा अनुसार काम हुन नसकेको हो । सबै पार्टीमा रहेका जुझारु, क्रान्तिकारी र आन्दोलनप्रति इमन्दार नेताहरुले वाम ध्रुविकरणको ऐतिहासिक पहल लिन आवश्यक छ । आजको पुष्पलाल स्मृति कार्यक्रमले सबैलाई यस दिशामा प्रेरित गर्न सकोस् । 

मंगलबार, ०६ साउन २०८२, १७ : ०७

प्रतिक्रिया