काठमाडौं- नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले मंगलबार राति भेरी करिडोरमा काम गर्दै आएको टिपर पश्चिम रुकुमको आठविसकोट नगरपालिका १४ पिपलचौरमा दुर्घटना भई भेरी नदीमा खस्दा बेपत्ता भएका तीन नागरिकको खोजी कार्यलाई महत्व दिन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले भेरी नदीमा पानीको बहाव अत्यधिक हुँदा भएको कारण खोजी कार्यमा अवरोध आएको भन्दै यसका लागि अधुनिक प्रविधिको प्रयोग गरी खोजी कार्यमा विशेष जोड दिनका लागि सरकारलाई ध्यानाकर्षण गराएकी हुन् ।
उनले तराई-मधेस क्षेत्रमा देखिएको पानीको संकट समाधानमा सरकार गम्भीर हुनुपर्ने बताइन् । अहिले मधेसमा भूमिगत जलमा इतिहासकै डरलाग्दो संकट देखिएको र सरकारले यसको कारण पत्ता लगाई दीर्घकालीन रोकथामका उपाय पहिल्याउनुपर्ने बताएकी हुन् । उनले नेपाल कृषिप्रधान देशमा साउन दोस्रो सातासम्म पनि तराईमा एक तिहाई मात्र रोपाई भएको र रोपेको खेत पनि सुकेको र यसका लागि सरकारले किसानका लासग राहतका कार्यक्रममा जोड दिनुपर्ने माग गरेकी छिन् ।
उनले सुशासनको विषय डरलाग्दो बन्दा अहिले जनता चरम निराशामा रहेको भन्दै विगतदेखि हालसम्मका मन्त्री तथा पदाधिकारीहरुका विभिन्न काण्डहरु छानबिन गर्नुपर्ने बताईन् ।
‘अहिले जनता चरम निराशामा छन् , सुशासनको विषय डरलाग्दो बनेको छ । बहालवाला मन्त्री नै विवादमा छन् विगतका काण्डैकाण्ड छन्, वैदेशिक ऋण बढिरहेको छ, यीनै कारणले व्यवस्था र संविधानमाथि चुनौती देखिएको छ’, उनले भनिन्, ‘त्यसकारण नागरिकस्तरबाट शक्तिशाली आयोग गठन गरी सबै काण्डको छानविन गरौं । सबै राजनैतिक निजामती र अन्य श्रेणीमा रहेका सबै पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी धमिलिएको राजनीति छवीलाई सङ्लो बनाउँ ।’
प्रतिक्रिया