गेट कलेज र जापानको टोनो शहरबीच सहकार्य सम्झौता सम्पन्न

शुक्रबार, ०९ साउन २०८२, ११ : ४२

काठमाडौं–काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) र जापानको टोनो शहरबीच पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा विद्यार्थी आदानप्रदानका लागि त्रिपक्षीय सहकार्य सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि नेपाली विद्यार्थीहरूलाई जापानमा इन्टर्नशिपको अवसर प्रदान गर्नुका साथै दुई देशबीच सांस्कृतिक आदानप्रदान र मानव संसाधन विकासमा नयाँ आयाम थप्ने जनाइएको हो ।

सम्झौताको मुख्य उद्देश्य नेपाली विद्यार्थीहरूलाई जापानी आतिथ्य सत्कार उद्योगको प्रत्यक्ष अनुभव दिलाउनु हो । यस पहलले आतिथ्य सत्कारका लागि आवश्यक मानव संसाधनको विकास मा सहयोग पुर्‍याउनेछ । यसबाट नेपाल र जापानबीच अन्तर्राष्ट्रिय आदानप्रदान र बहुसांस्कृतिक सहअस्तित्वलाई प्रवद्र्धन हुनेछ । यसले भविष्यमा जापानमा विदेशी मानव संसाधन स्वीकार गर्ने आधार तयार पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

गेट कलेज, टोनो सिटी र टोनो कं. लिमिटेडबीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा जुममार्फत अनलाइन उपस्थितिमा तीनवटै पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शुक्रबार, ०९ साउन २०८२, ११ : ४२

प्रतिक्रिया