श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव

शुक्रबार, ०९ साउन २०८२, ११ : ५५

वीरगञ्ज (पर्सा)–खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनु भएको छ । पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रण सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले श्रीसिया नदीमा दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै त्यसको तत्काल र दीर्घकालीन समाधानका लागि आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

‘प्रदूषण नियन्त्रणका लागि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा, खानेपानी मन्त्रालयको सहलगानी आयोजना अन्तर्गत आवश्यक बजेट विनियोजन गरी कार्य योजना निर्माण गरी अघि बढाइने छ । नदीको संरक्षण र प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने छ ।’, खानेपानीमन्त्री प्रदीप यादवले बताए ।

मन्त्री यादवले स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको सहकार्यमा मात्र प्रदूषण नियन्त्रणमा दीगो समाधान सम्भव हुने तथा नदी प्रदूषण नियन्त्रणका लागि खानेपानी मन्त्रालयका तर्फबाट आवश्यक सबै पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त छलफल कार्यक्रममा, उद्योग बाणिज्य संघका प्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरतकुमार बम लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
 

शुक्रबार, ०९ साउन २०८२, ११ : ५५

प्रतिक्रिया