काठमाडौं– नेकपा(माओवादी केन्द्र)का नेता एवं सांसद राजन दाहालले जनयुद्धकालमा आत्मसमर्पण गरेको विषय सेलाउन नपाउँदै त्यसबेला उनको जिम्मा लिएका सिन्धुलीकै एक नेताले समेत मुख खोलेका छन् । २०५५ सालमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दाहालले आत्मसर्मण गरेपछि त्यहाँ पुगेर उनको जिम्मा आफूले लिएको जिल्लाका पूर्वमाओवादी नेता शान्तिमान कार्कीले खुलासा गरेका हुन् ।
यसअघि दाहाललाई सिन्धुलीकै माओवादीका अग्रज नेता शहीद महेन्द्र श्रेष्ठका छोरा कीर्तिकले २०५५ सालमा आत्मसमर्पण गरेपछि कहाँ थिए भनेर याद गर्नुपर्दैन ? भन्दै केही दिन अघि सामाजिक सञ्जालमा प्रश्न गरेका थिए । त्यसयता यो विषय निकै चर्चामा छ ।
यो पनि पढ्नुस्
सांसद राजन दाहाललाई शहीदपुत्रले सम्झाए जनयुद्धमा आत्मसमर्पण गरेको क्षण
एमालेबाट विभाजित तत्कालीन मालेको जिल्ला सचिव रहेका कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिन्धुलीको डिएसपी नवीन अधिकारीमार्फत २०५५ सालमा नेकपा(माले)को जिल्ला सेक्रेटरीको हैसियतले त्यसबेलाका जिल्ला उपसचिव विनोद दाहालको आग्रहमा जिम्मा लिने म शान्तिमान कार्की नै हुँ ।’
यसैलाई लिएर सिन्धुलीमा माओवादी पृष्ठभूमिका नेताहरूबीच अहिले आरोप-प्रत्यारोपको अखडा सामाजिक सञ्जाल बनेको छ । संघीय सांसद राजन दाहालले माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री जनार्दन शर्माविरुद्ध फेसबुकमार्फत टिप्पणी गरेपछि ती प्रतिक्रियाहरूले ठूलै चर्चा बटुलेका छन् ।
जनयुद्धकालमा युद्ध मोर्चा सम्हालेर नेतृत्व गरेका कार्की अहिले एमालेमा सक्रिय छन् । माओवादी केन्द्र र एमालेबीचको एकतापछि रामबहादुर थापा ‘वादल’ समूहसँगै उनी एमाले प्रवेश गरेका थिए । उनका अनुसार २०५५ सालमा नेकपा (माले) को जिल्ला सचिवको हैसियतले, त्यसबेलाका उपसचिव विनोद दाहालको आग्रहमा राजनलाई प्रहरी हिरासतबाट जिम्मा लिने काम उनले नै गरेका थिए ।
कार्कीको भनाइ छ, ‘यो सत्यलाई कसैले छोप्न सक्दैन । कलकत्तासम्मको नेक्सस, मुम्बई जानुको कारण, कसको सम्पर्कबाट फेरि माओवादीमा जोडिन पुगे—यी सबै खुल्न जरुरी छ ।’ उनले रामेछापमा भएको आक्रमण र सिन्धुलीमा पुगेका बेला कसको सहायताले त्यो सम्भव भयो भन्ने प्रश्न समेत उठाएका छन् ।
हाल एमालेमा सक्रिय भए पनि कार्कीले माओवादी केन्द्रको वर्तमान नेतृत्व र निर्णय प्रक्रियामाथि आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘राजावादी, सिआईडी र भगौडाहरूलाई संगठित गरी कोर टिम बनाइयो । जनयुद्धका सहिद परिवार, बेपत्ता, घाइते, बन्दी र जनमुक्ति सेनानीहरूलाई पार्टीबाट बाहिर पुर्याउने काम यिनै कोर टिमले गर्यो ।’
साथै, उनले पार्टी नेतृत्वमा रहेका नेताहरूको व्यवहारमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘टुप्पी समातेर नेता भएका तिमीहरूले पार्टीलाई कहाँ पुर्यायौ ? सिन्धुली जस्तो जनयुद्धको आधारभूमि कमजोर पार्नेहरूलाई लाज लाग्दैन ?’
कार्कीले माओवादी केन्द्रले सिन्धुलीका विभिन्न पालिकामा उम्मेदवार बनाएका व्यक्तिहरूका क्रियाकलापप्रति पनि गम्भीर प्रश्न उठाएका छन् । उनका अनुसार, ‘बलात्कार, चोरी र भ्रष्टाचारका घटनामा मुछिएका व्यक्तिहरूलाई उम्मेदवार बनाउँदा पार्टीप्रति जनताको विश्वास खस्किएको छ । दुनियाँले देखिरहेको छ । यी कुरा ढाकछोप गर्ने प्रयास सफल हुनेवाला छैन ।’


प्रतिक्रिया