काठमाडौं - संघीय सरकारले हरेक वर्ष जेठ १५ गते संसदमा बजेट ल्याउने संवैधानिक व्यवस्था नै छ । निश्चय पनि मुलुकको समग्र विकासको लागि बजेटको भूमिका महत्वपूर्ण हुने गर्दछ । यसर्थ, बजेट ल्याउनेबेला सरोकारवाला सबैको ध्यान बजेटका प्राथमिकताहरुमा जाने गर्दछ । बजेट घोषणा गरेर मात्र हुँदैन त्यसको सफल कार्यान्वयन झनै महत्वपूर्ण कुरा हो । नेपालमा बजेट कार्यान्वयनको समस्या पहिलेदेखि नै रहँदै आएको छ । त्यसै विषयलाई ध्यानमा राखेर चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल थालेको छ । बजेट कार्यान्वयनबारे छलफलको प्रारम्भ आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको छ ।
अर्थले बताए अनुसार, चालु आर्थिक वर्षको बजेटमा राखिएका मन्त्रालयगत योजना तथा कार्यक्रम कार्यान्वयनकालागि आवश्यक कानूनी, प्रक्रियागत र व्यवहारिक तयारी थाल्नेबारे छलफल भएको हो । उद्योग मन्त्रालयको बजेटमा परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रमअन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने विषय राखिएको थियो ।
त्यस्तै, उपत्यकामा सञ्चालित उद्योगलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे पनि आजको बैठकमा छलफल भएको छ ।
साथै, भारत, चीनलगायत अन्तरराष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने विषयमा पनि छलफल भएको छ । त्यस्तै, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माण लगायतका विषयमा पनि छलफल भएको छ ।
बजेट कार्यान्वयबारेको उक्त बैठकमा अर्थमन्त्री पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा रामप्रसाद घिमिरे लगायत उपस्थित थिए ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सबै विषयगत मन्त्रालय र विभागहरुसँग क्रमश छलफल गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ ।
सरकारले घोषणा गरेको बार्षिक बजेट निर्धारित क्षेत्रमा तोकिएकै समयमा परिचालन गरी परिणाम हासिल गर्न सकेमा मात्र त्यसको सार्थकता रहनेछ । बजेटले सरकारका प्राथमिकताहरु के के हुन भन्ने विश्लेषण गर्दैं मुलुकको सर्वतोमुखी हितमा बजेटको कार्यान्वयन गर्ने कुरामा अर्थ मन्त्रालयले पहल लिनु सराहनीय नै छ । सरकारलाई सफल बनाउने वा असफल भन्ने पनि बजेटको सफल कार्यान्वयनसँगै जोडिएको विषय हो ।
प्रतिक्रिया