काठमाडौं - कर्णाली देशको दूरदराजमा रहेको क्षेत्र हो । साविक कर्णाली अञ्चलको नामबाट प्रदेशको नाम पनि कर्णाली नै राखिएको छ । कर्णालीमा देशको सबैभन्दा ठूलो राराताल, ऐतिहासिक, काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिन्जा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन् । केन्द्रीकृत राज्यसत्तामा काठमाडौंको नजरमा पर्न नसकेको कर्णाली अहिले भने विभिन्न कोणबाट चर्चामा रहेको छ ।
कर्णाली बाहिरका मानिसहरुको दृष्टिमा उक्त क्षेत्र अहिले पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि रोजाइमा पर्न थालेको छ । अवलोकनकालागि पर्यटकहरू आउन थालेका छन् । यस्तै कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महत्त्वको मानसरोवर दर्शन गर्न सकिने भएकाले पनि कर्णालीमा पर्यटकको आकर्षण बढेको हो । कर्णालीमा पर्यटनको विकास र पर्यटकको आवागमनबारे नेपाल राष्ट्र बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले गरेको अध्ययनले पर्यटक बढेको देखाएको छ ।
उक्त अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ११.०९ प्रतिशत अर्थात् ६ महिनाको अवधिमा कर्णालीमा स्वदेशी तथा विदेशी गरी साढे ५ लाख पर्यटक भित्रिएका हुन् । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा मात्र कर्णालीमा साढे पाँच लाख भन्दा कम पर्यटक भित्रिएका थिए ।
नेपाल राष्ट्रबैंकले विभिन्न समयमा जारी गरेको सूचना अनुसार कर्णालीमा भारतबाट १२ दशमलव ८२, चीनबाट ३ दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले बढेको तथ्यांक छ ।
कर्णालीको विकासको लागि पर्यटन प्रवर्द्धन महत्वपूर्ण कुरा हो । त्यहाँको आर्थिक विकास र समृद्धीको लागि पर्यटकीय संभावनाहरुलाई प्राथमिकतामा राख्न जरुरी छ । इतिहासको कुनै कालखण्डमा आर्थिक तथा सामरिक रुपमा समृद्ध कर्णाली राज्यको कोपभाजनमा पर्दा अनेकौ समस्यामा पर्दै आयो । अभाव, गरीबी र पछौटेपनको पर्यायको रुपमा कर्णालीको पहिचान बन्यो । अब कर्णाली जाग्नुपर्दछ । आफ्रनै स्थानीय स्रोत साधानमा आधारित विकास योजनाहरु बनाएर प्रगतिको ढोका खोल्न कर्णाली व्यूँझनुपर्दछ । कर्णालीको विकास सिंगो नेपालकै आवश्यकता हो । त्यसैले संघीय सरकारको पनि कर्णालीको विकास प्राथमिकतामा पर्नुपर्दछ । सबैभन्दा धेरै पहल कर्णाली प्रदेश सरकारले नै गर्नुपर्दछ । त्यसको लागि पहिचान भएका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउने सूचना बोर्डदेखि पर्यटन सर्किटको अवधारणामा विकास गरी समग्र कर्णालीको किासको स्तर वृद्धि गर्नु आजको आवश्यकता हो ।
प्रतिक्रिया