दलित समुदायप्रति समाजले लामो समयसम्म अन्यायपूर्ण व्यवहार गर्दै आयो। तर, इतिहासका पानाहरू पल्टाउने हो भने दलित समुदाय कुनै पनि हिसाबले कमजोर थिएनन्, बरु ज्ञान, सीप, र वैज्ञानिक दृष्टिकोणले भरिपूर्ण थिए । आधुनिक युग आउनु भन्दा धेरै पहिलेदेखि नै दलित समुदायले समाजका लागि आधार तयार गर्ने श्रम, कला र ज्ञानको काम गर्दै आएका छन्।
कसले बनायो लौह औजारहरू? कसले बनायो कृषि उपकरण ? कसले निर्माण ग¥यो मन्दिर, दरबार, र रथहरू? ती सबैको मूलमा दलित समुदायकै हात थियो । उनीहरूले केवल शारीरिक श्रम मात्र होइन, गहिरो ज्ञान र विज्ञानमा आधारित सीप प्रदर्शन गरेका थिए। परम्परागत धातु विज्ञान, वास्तुशास्त्र, मूर्तिकला, तान्त्रिक विधि, औषधी निर्माण जस्ता क्षेत्रहरूमा उनीहरूको गहिरो पकड थियो।दलित समुदायको ज्ञान केवल हातको सीपमा सीमित थिएन ।
उनीहरू अनुभवजन्य विज्ञानमा विश्वास राख्थे । बाँच्ने कला, रोग प्रतिरोधी उपायहरू, खाद्य संरक्षण प्रविधि, र प्राकृतिज्ञानी परम्परा उनीहरूको जीवनशैलीमा देखिन्थ्यो। त्यही कारणले गर्दा आज पनि उनीहरूको ज्ञानलाई आधुनिक विज्ञानसँग तुलना गर्न सकिन्छ । दलितहरूले समाजको हरेक पाटोमा मौन योगदान दिएका छन् ।
इतिहासको किताबहरूले उनीहरूको योगदानलाई ओझेलमा पारिदिए पनि सत्य यथार्थ भने यही हो कि उनीहरू बिना समाजको विकास अधुरो रहन्छ । आजको समाजमा जब ‘समावेशिता’ र ‘समानता’ को चर्चा हुन्छ, तब हामीले सबैभन्दा पहिले दलित समुदायको ऐतिहासिक ज्ञान, क्षमता र वैज्ञानिक सोचको कदर गर्नुपर्छ ।
आज दलित समुदाय केवल विगतको गौरवमै सीमित छैन । उनीहरू आजको शिक्षित, सचेत र प्रगतिशील समाज निर्माणको अग्रपंक्तिमा उभिएका छन् । चिकित्सक, इन्जिनियर, बैज्ञानिक, प्रोफेसर, नीति निर्माता, राजनीतिज्ञ– सबै क्षेत्रमा उनीहरूको उपस्थिति बढ्दो छ ।
यो कुरा अब भन्न हिच्किचाउनु हुँदैन – दलितहरू इतिहासकै बैज्ञानिक थिए । र, आज पनि उनीहरू ज्ञान, सीप र क्षमताको बलमा समाजमा सबैभन्दा ठूलो स्थानमा पुग्न सक्ने आधार बनाएर अघि बढिरहेका छन्।अबको समाज यस्तो हुनुपर्छ जहाँ जात होइन, ज्ञान आधार बनोस्। सृजनात्मकताको कदर होस्। र इतिहास होइन, समभावको भविष्य लेखियोस् ।
नेपाली समाजमा आज पनि बिद्यमान उच्च जातिय अहंकार र त्यसबाट दलित समुदाय माथि हुदै आइरहेको जातिय अपमान,घृणा,तिरस्कार र विभेद एवं छुवाछूत जस्ता अत्यन्तै अमानविय व्यवहार र ज्यादतिको अन्त्य गर्न दलितहरु मात्रै होइन सम्पुर्ण जात समुदायका सचेत र परिवर्तनकामि युवाहरु मिलेर दलित समुदाय माथिको जातिय बिभेदका बिरुद्ध लड्न र जात ब्यबस्थाको सत्ता ढालेर नेपाली समाजलाई एकताबद्ध गर्न लाग्ने र लड्ने कुराले मात्रै साचो अर्थमा हाम्रो देश सुदृढ,एकताबद्ध र एकजुट हुनेछ । हामी र हाम्रो महान संगठन यही आन्दोलन ,क्रान्ति र बिद्रोहको पक्षमा दृढतापूर्वक लडिरहेको छ । (लेखक देशभक्त समाजवादी युवा मासका केन्द्रीय सदस्य हुन् )
प्रतिक्रिया