पढाउन छाडेर सिन्धुलीका दुई शिक्षकको विद्यालयमै अनसन, नगर शिक्षा समितिको निर्णय अवज्ञा

शुक्रबार, २३ साउन २०८२, १० : ३९

काठमाडौं– सिन्धुलीको कमलामाई नगरपालिकाले शिक्षकको सरुवा गरेपछि सो सरुवा निर्णयविरुद्ध गौमती माध्यामिक विद्यालयका दुईजना शिक्षकले विद्यालय समयमा अनसन सुरु गरेपछि नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले आक्रोस व्यक्त गरेका छन् ।

नगरपालिकाको शिक्षा समितिको बैठकले शिक्षक शंकर प्रसाद ढकाल र विष्णुप्रसाद फुयाँलसहित १५ जना शिक्षकको सरुवा गरेको थियो । अन्य शिक्षकहरु पालिकाले पठाएको ठाउँमा जानुपर्छ भन्दै रमानापत्र बुझेर पठाएको विद्यालयमा हाजिर भएर पढाउन थालेका बेला माढी बजार गौमतीमा कार्यरत दुई शिक्षक भने नगरप्रमुख उपेन्द्र पोखरेललाई थाकाउने,गलाउने र सो निर्णय बदर गराउन भन्दै बुधबारदेखि विद्यालयमै रिले अनशन सुरु गरेका हुन् ।

२०८२ साउन १६ गते नगर शिक्षा समितिको बैठकले विभिन्न तहका १५ शिक्षकहरूको सरुवा गरेको थियो । सो निर्णय अनुसार ढकाललाई जनज्योति मावि, फोसे्रटार (घर पायक)  र बिष्णु फुयाँललाई कमला माध्यामिक विद्यालय, (घरपायक) ढुंग्रेवासमा सरुवा गरिएको थियो । १३ जना शिक्षकले तोकिएको विद्यालयमा हाजिर गरिसकेका छन् भने ढकाल र फुयाँलले भने निर्णय अस्वीकार गर्दै अनशनमा बसेपछि नगरप्रमुख उपेन्द्र पोखरेलले तोकिएको विद्यालयमा गएर पठन पाठनमा संलग्न हुन र नभए शिक्षा ऐन अनुसार कारबाही गर्न आफू बाध्य हुने बताएका छन् ।

ढकाल २०४७ सालदेखि सोही विद्यालयमा कार्यरत छन् भने फुयाँलले पछिल्लो ११ वर्षदेखि कार्यरत रहँदै आएका छन् । आफूहरूले लामो समयसम्म एउटै विद्यालयमा सेवा दिँदा पनि सम्मानजनक व्यवहार नभएको र जानकारीबिना सरुवा गरिएको भन्दै उनीहरू कमलामाईको शिक्षक सरुवाको निर्णय उल्ट्याउन रिले अनसनमा बसेको ढकालले बताए ।

तर, नगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज बरालले शिक्षक संघ संगठनका प्रतिधिनीको हस्ताक्षरसहित सहमतिमा गरिएको सरुवा प्रक्रियामा शिक्षा समितिले विधीसम्मत ढंगले निर्णय गरेको बताए । टाढा टाढा सरुवा गरिएका साथीहरु रमाना लिएर पठन पाठन सरिक हुनुभएको छ, जसलाई घर पायक सरुवा गरिएको छ, उहाँहरु निर्णय गलत भयो भन्दै अनसनमा बस्नु गैर कानुनी हो र अटेर गरेमा नगरशिक्षा ऐन अनुसारको प्रक्रिया अगाडि बढाइने प्रष्ट पारे ।

विद्यार्थीले भय रहित वातावरणमा पठन पाठन गर्न पाउने अधिकारलाई २ जना शिक्षकले अबरोध सिर्जना गरिरहनुभयो भने त्यसको नतिजा नकारात्मक पनि हुनसक्ने भन्दै शिक्षा शाखा प्रमुखले बराललेभने सरुवा प्रक्रिया वैधानिक र आवश्यकताको आधारमा गरिएको स्पष्ट पारेका छन् ।

संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, शिक्षा ऐन २०७४ तथा नियमावली २०७५ अनुसार नगरपालिकाले रिक्त दरबन्दी तथा विद्यालयको विषयगत आवश्यकतालाई मध्यनजर गर्दै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था छ । सोही अनुसार शिक्षा शाखाको सिफारिस र नगर शिक्षा प्रमुखको स्वीकृतिमा सरुवा निर्णय गरिएको उनको भनाइ छ ।

नगरपालिकाले किन गर्‍यो सरुवा ?

नगरशिक्षा समितिले उक्त निर्णय गर्नुको पृष्ठभूमिमा दुबै शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीहरू पनि रहेका छन् । ढकालमाथि विद्यालय व्यवस्थापन समितिलाई दबाबमा पारेर नियमविपरीत मासिक ३ हजार ५ सय रूपैयाँ सहायक प्रधानाध्यापक बनेपावत भत्ता लिएको आरोप छ, जबकि नगरपालिकाको कानुन अनुसार  प्रधानध्यापक बनेपावत मासिक ५ सय रूपैयाँ मात्र भत्ता पाउँदै आएका छन् । उनी गौमती विद्यार्थी समाजका नाममा राजधानी काठमाडौ जाने, विद्यालयमा नपढाउने तर अन्यत्र गएर पढाउन थालेको आरोप एक वर्ष अगाडिदेखीनैं लागेको थियो । तर नगर शिक्षा समितिले उनलाई पटक पटक मौखिक रुपमा सचेत पनि गराएको थियो ।

त्यस्तै, फुयाँलमाथि नियमित पठनपाठनको समयमा जिल्ला अदालत धाउने गरेको आरोप लागेको थियो । आफ्‌नो विद्यालयमा अध्यापन गराउन छोडेर अर्को विद्यालयमा गएर पढाउने र अदालतमा वकालत गर्ने गरेको उजुरी अख्तियारमा परेपछि नगरशिक्षा समिति र नगरकार्यपालिकाले पटक पटक उनलाई सचेत गराउँदै जोगाएको थियो । तर उनको चालचलनमा कुनै सुधार नआएपछि बाध्य भएर नगरप्रमुख विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको सदरमुकामकै कमला माविमा सरुवा गरिएको थियो । तर सो सरुवा राजनीति भएको भन्दै उनी रिले अनसनमा बसेका हुन् । उनको अनसनमा अहिलेसम्म कुनै पनि शिक्षकहरुले समर्थन गरेर हस्ताक्षर गरेका छैनन् नत संघ र संगठनलेनैं ।

नगर शिक्षा शाखाका अनुसार, यी उजुरीकै कारण उनीहरूको सरुवा गरिएको हो । “अख्तियारले कमलामाई नगरपालिकालाई फुयाँलको विषयमा पाँच पटकभन्दा बढी पत्र पठाएर स्पष्टिकरण मागेको छ,” ती अधिकारीले भने, “त्यसकै आधारमा नगरपालिकाले उनीहरूलाई विवादरहित विद्यालयमा सरुवा गरेको हो ।” उनी अगाडि भन्छन्‌,  ‘उहाँले नै हामीलाई विद्यालय समयमा अदालतमा वकालत गर्न जान्न भनेर २ पृष्ठको लिखित प्रतिवद्धता जनाउनु भएको थियो, तर त्यो प्रतिवद्धता अनुसार काम गर्नुभएन ।’

अनशन पछाडिको अन्तर्य !

नगरशिक्षा समितिले गरेको सरुवा विरुद्ध १० देखी ४ बजेसम्म अनसन बसेका फुयाँल नेपाल शिक्षक महासंघ सिन्धुलीका अध्यक्ष एवम् माओवादी केन्द्रका नेता हुन् । कमलामाई नगरपालिकाले उनलाई अन्य शिक्षकहरु भन्दा पायक ठाउँमा सरुवा गरिदिएको छ । उनलाई सरुवा गरिएको कमला स्कूलबाट गौमतीमा तानिएकी शिक्षिका हाजिर भएर पठन पाठनमा लागि सकेकी छन् भने अर्का फोस्रेटारबाट सरुवा गरिएका रमण फुयाँल गौमतीमा आएरु पढाउन थालेका छन् । यसै अबस्थामा पेन्सन भइसकेका शिक्षक द्धय ढकाल र फुयाँल सरुवा विषयलाई लिएर नगरप्रमुख उपेन्द्र पोखरेललाई थकाउने र गलाउँदै विगतमा भएका सबै सरुवा बदर गर्ने ध्याउन्ना लागेको देखिएको छ ।

समाचार स्रोतका अनुसार नेपाली कांग्रेसको एउटा समूह जो नगरप्रमुख एवं पार्टी सभापति उपेन्द्र पोखरेल एवम् एमालेको एउटा तप्का पार्टी उपाध्यक्ष कर्ण घिसिङ, जो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्‌लाई असफल बनाउन माओवादीको इतरपक्ष समेत क्रियाशिल देखिएका छन् । 

माओवादीको इतरपक्षलाई नगरप्रमुख पोखरेलले प्रमुख अतिथि बन्न नदिएको झोक यतिबेलै निकाल्नु पर्ने छ भने नगरशिक्षा समितिको बैठकमा एजेण्डा सेटिङ गर्ने र आफैं बस्ने अनि वाहिर आएर निर्णय ठिक भएन भन्दै असन्तुष्टलाई उचाल्ने शिक्षक नेताहरुकै कारण यो अबस्था आएको सामाजिक सञ्जालमा व्यक्त भएका टिप्पणीहरुले प्रष्ट पारेको छ ।

अनसनकारीलाई आएन समर्थन !

यो समाचार तयार पार्दासम्म अनसनमा बसेका  शिक्षकद्वयको पक्षमा कुनै पनि शिक्षक संघ र संगठन मात्रै होइन, शिक्षकहरुकै समर्थन देखिएको छैन । अनसन स्थलमा राखिएको हस्ताक्षर रजिष्टमा एक जना शिक्षकले पनि समर्थन जनाएका छनन् , तर त्यहाँ माओवादी केन्द्रका केही नेता कार्यकर्ता वाहेक अरुको नाम उल्लेख छैन । 

नेपाल शिक्षक महासंघ सिन्धुलीका अध्यक्ष एवम् माओवादी केन्द्रका नेतासमेत रहेका फुयाँलले विगतमा माओवादी केन्द्र मरिण, हरिहरपुरगढी र गोलन्जोर गाउँपालिकामा भएको राजनैतिक पूर्वाग्रहपूर्ण शिक्षक सरुवामा मौनता साँधेपछि उहाँको कार्यशैली नेतृत्व प्रति सिंगो शिक्षक समुदाय क्रुद्ध बनेको थियो । 

आफ्‌नो पार्टीको नेता रिसाउँछन् भन्ने नाममा शिक्षक सरुवा बिरुद्ध चुँसम्म नबोलेका फुयाँलको अनसन पक्षमा अहिले शिक्षकहरु नउभिएका हुन् । हरिहरपुरगढी र मरिण गाउँपालिकामा पूर्वाग्रहपूर्ण सरुवा गरिएपछि शिक्षकले रानिजामा दिएका र अदालती प्रक्रियामा जाँदा पनि मुद्धा फिर्ता लिन दबाब दिएको पृष्ठभूमिमा शिक्षक नेता फुयाँलको अनसनमा शिक्षकहरुको समर्थन नभएको शिक्षक संघका एक नेताले बताए । 

आफ्‌ना साथीहरुमाथि भएको ज्यादतीका बिरुद्ध नवोल्नेहरुको पक्षमा हामी निक बोल्न जान्छौं, शिक्षक पनि मर्यादित र अनुशासित हुनुपर्छ, स्थानीय सरकारले सरुवा गरेर पठाएको ठाउँमा जान्न भन्न त पाइन्न नि ? उनले प्रश्न गरे । यता अर्का अनशनकारी शिक्षक ढकालको सरुवा पृष्ठभूमि पनि आर्थिक बिचलनमै जोडिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

कसैलाई न्याय, कसैलाई अन्याय !

सिद्धवावा मावि पानीटंकीबाट निवुवाटार सरुवा गरिएका पवन झा र गौमती माविबाट सरुवा गएिका रामेश्वर दाहाल पल्लो रामपुरमा सरुवा भए तर उनीहरु भोलीपल्टै रमाना बुझेर गए । नगरपालिकाले गरेको  निर्णयलाई स्वीकादै सबैभन्दा अपायक सरुवा भएकाहरु चुपचाव लागेर जाँदै गर्दा पायक सरुवा भएका दुई जना भने आन्दोलनमा बसे । शिक्षक सरुवा कसैलाई न्याय  र कसैलाई अन्याय भन्दै स्याल हुईयाँ मच्चाइयो, एक शिक्षा समितिका सदस्यले टिप्पणी गरे । 

यता नगरप्रमुख उपेन्द्र पोखरेलले सरुवा कार्यान्वयन नगरे कडा कारबाहीको चेतावनी दिइसकेका छन् । अब अनशनरत शिक्षकहरू आफ्‌ना मागमा अडिग रहने छन् वा कानुनी प्रक्रिया स्वीकार्ने छन् भन्ने कुराले घटनाको अर्को मोड दिने देखिएको छ ।तर हाल अनशनमा उत्रिएका दुबै शिक्षकले उक्त सबै आरोप अस्वीकार गर्दै आफूहरूलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास भएको दाबी गरेका छन् ।

 
 
शुक्रबार, २३ साउन २०८२, १० : ३९

प्रतिक्रिया