काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनबारे प्रश्न उठाएका छन्। सोमबार च्यासलमा मदन(आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै उनले फाउन्डेसन ठगीखाने भाँडो बनेको आरोप लगाएका हुन्।
‘त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो,’ ओलीले भने, ‘श्रीमान, श्रीमतिको हो कि आन्दोलनको निम्ति काम गर्छ कि? के हो त्यो ठगीखाने भाँडो बनेको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’
पछिल्लो समय एमालेको सक्रिय राजनीतिमा फर्किने उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई लक्षित गर्दै ओलीले मदन भण्डारी फाउन्डेसनको कामकारबाही प्रति आक्रोश व्यक्त गरेका हुन् । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण रोकेर एमालेले सक्रिय राजनीतिमा आउन नदिने प्रयास गरेपनि भण्डारीले भने फाउन्डेशन मार्फत पार्टीको समानान्तर गतिविधि अघि बढाएकी छिन् ।
फाउन्डेसनले जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउने तयारी गरिरहेको छ । त्यसै मार्फत भण्डारीले आफ्नो सक्रियता बढाउन सम्पर्क कार्यालय खोलेरै राजनीतिक गतिविधिलाई बढवा दिन लागेकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरले उनलाई रोक्न भगीरथ प्रयत्न गरेपनि त्यसलाई चुनौती दिँदै विद्याले आफ्ना गतिविधिलाई झनै तीव्रता दिइरहेकी छिन् ।
प्रतिक्रिया