कर्णालीको नेतृत्व युवाहरूको काँधमा आएको छ, हामी बनाउँछौ समृद्ध कर्णालीः  किरण

मंगलबार, २७ साउन २०८२, ०८ : ३९

सुर्खेत — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसमिति सदस्य रवि किरण हमालले कर्णालीको मुक्ति, आत्मनिर्णय र समृद्धिको नेतृत्व अब युवाले नै लिनुपर्नेमा जोड दिएका छन्। सोमबार सुर्खेतमा आयोजित ‘समृद्ध कर्णालीका लागि युवा विषयक बहस’ कार्यक्रममा बोल्दै उनले कर्णालीको ऐतिहासिक उपेक्षा, वर्तमान राजनीतिक अस्थिरता र विकासको सुस्त गतिप्रति कडा प्रहार गर्दै नयाँ पुस्तालाई राजनीतिक नेतृत्वमा अगाडि आउन आह्वान गरे।

हमालले आफ्नो सम्बोधनको सुरुवात २०७२ सालको कर्णाली आन्दोलनमा सहादत प्राप्त गरेका यमबहादुर बिसी, गोपालसिं रजवार, टीकाराम गौतम र हरिबहादुर कुँवरको स्मरण गर्दै गरे। उनका अनुसार कर्णालीको अस्तित्व कुनै व्यक्तिको कृपाबाट होइन, बलिदान, पसिना र आमाको आँसुबाट जन्मिएको हो, जसको अपमान गर्नेहरूलाई युवाले अस्वीकार गर्नुपर्छ। उनले खस राज्यको ऐतिहासिक महिमा, त्यसपछिको बहादुर शाहसँगको द्वन्द्व र त्यसपछि देखिएको केन्द्रको शंका–उपेक्षाको इतिहास स्मरण गराउँदै, प्रतिनिधि भएर सिंहदरबारको चाकरी गर्ने नेतृत्वको कारण कर्णाली पछाडि परेको बताए।

उनले सात वर्षमा चार मुख्यमन्त्री, ४१ मन्त्री र दर्जनौँ सचिव फेरबदल भएको अवस्थालाई राजनीतिक अस्थिरताको चरम उदाहरणका रूपमा प्रस्तुत गर्दै यसले विकासलाई गम्भीर रूपमा अवरुद्ध गरेको टिप्पणी गरे। “कर्णालीको सरकार बन्ने कुरा बालकोट र बुढानीलकण्ठका अध्यारो कोठाभित्र टुंगो लगाइन्छ भने हाम्रो छुट्टै अस्तित्व के रह्योरु” उनले प्रश्न गर्दै यस्तो अवस्था ‘अपहरित प्रजातन्त्र’को लक्षण भएको बताए।

हमालले तथ्याङ्कसहित प्रदेशको वास्तविकता चित्रण गर्दै बेरोजगारी दर ३२ प्रतिशतभन्दा माथि पुगेको, हरेक वर्ष ५० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा पलायन हुने र पाँच वर्षमुनिका ४० प्रतिशत बालबालिका कुपोषणको शिकार हुने तथ्य उल्लेख गरे। अघिल्लो वर्षको तुलनामा चालुतर्फ ७५।५२ प्रतिशत र पुँजीगततर्फ ५८।६३ प्रतिशत मात्र बजेट कार्यान्वयन भएको तथ्य प्रस्तुत गर्दै उनले जनताको रगत–पसिनाको कर कागजमा मात्र होइन, गाउँको बाटो, पुल, विद्यालय र अस्पतालमा देखिनुपर्ने बताए।

कर्णालीलाई ‘अविकसित अवसरको खानी’को संज्ञा दिँदै हमालले जलविद्युत्, जडीबुटी, जैविक कृषि र पर्यटनलाई दिगो विकासको आधार बनाउनुपर्नेमा जोड दिए। उनले प्रदेशसभाका २४ वटै निर्वाचन क्षेत्रमा आधुनिक विद्यालय स्थापना, मध्यपश्चिम विश्वविद्यालयलाई सीपमूलक संस्थामा पुनःसंरचना, उद्यमशीलता कोष र स्टार्टअप इनक्युबेसन सेन्टर निर्माण, हरेक जिल्लामा विशिष्टकृत अस्पताल स्थापना, भेरी–कर्णाली करिडोरको तीव्र निर्माण र द्रुत इन्टरनेट पूर्वाधार विकासका योजना सार्वजनिक गरे।

भ्रष्टाचारलाई कर्णाली विकासको मुख्य अवरोधका रूपमा व्याख्या गर्दै उनले ‘लोकपाल एम्बुसम्यान’ गठन गरेर युवाले आफैं निगरानीमा उत्रनुपर्ने प्रस्ताव राखे। “पद जेसुकै होस्, जसले गरे पनि कानुनको कठघरामा ल्याउने दृढता युवामा हुनुपर्छ,” उनले चेतावनी दिए।

युवालाई प्रत्यक्ष आह्वान गर्दै हमालले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहदेखि संघीय संसदसम्मको नेतृत्वमा प्रवेश गर्न आग्रह गरे। उनका अनुसार फेसबुकको स्टाटस मात्र होइन, नीति निर्माणको कलम पनि युवाकै हातमा हुनुपर्छ, चिया पसलको बहस मात्र होइन, प्रदेशसभाको निर्णयसमेत युवाकै स्वरले तय हुनुपर्छ।

सम्बोधनको अन्त्यमा उनले कर्णालीलाई अब उपेक्षित प्रदेशको पहिचान बोकेर बस्न नदिने प्रतिज्ञा गर्दै भने, “हामी माग्ने होइनौं, दिने हौंस पछि होइनौं, अघि हौं। युवाको ऊर्जा, बुढापाकाको अनुभव र महिलाको अडानलाई एउटै धारमा बगाउन सके कर्णाली उत्कृष्ट प्रदेशको रूपमा चिनिनेछ।”

 
मंगलबार, २७ साउन २०८२, ०८ : ३९

प्रतिक्रिया