विश्वविद्यालयमा सिलसिलेवार ‘गुन्डागर्दी’

बुधबार, २८ साउन २०८२, १३ : ०१

काठमाडौँ - देशको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विभिन्न नामधारी विद्यार्थीहरुको समूहले पालैपालो  ‘गुन्डागर्दी’ गर्दै आएका छन् । त्रिवि मात्र होइन नेपालका प्राय : सबै विश्वविद्यालयहरु कुनै न कुनै किसिमको हुलदंगा र अवरोधकाबीच चलिरहेका छन् । त्रिविमा लामो समय नेविसंघले ‘गुन्डागर्दी’ गर्दै आएकामा अहिले अखिल क्रान्तिकारीले पनि तोडफोड र अवरोध सुरु गरेको छ । दीपक अर्याल उपकुलपति भएयता माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो ।

विश्वविद्यालयमा यस्ता घटना किन भैरहन्छन् ? सरकार लगायतका सरोकारवालाहरुले खासै गम्भीरता लिएको देखिदैन । उनीहरु त्हाँ हुने राजनीतिक नियुक्तिकोबेला मात्र आफ्नो ‘कन्सर्न सो’ गर्छन् । विश्वविदालयहरु विशुद्ध प्राज्ञिक संसथाहरु हुन । तिनीहरुलाई आफ्नै मान्यता र विधि विधानमा चल्न दिनुपर्दछ । तर नेपाल जस्तो राजनीतिक प्रदुषण फैलिएको मुलुकमा यो संभव देखिएको छैन । पूर्ववर्ति सरकारका प्रधानमन्त्री प्रचण्डले मेरिटोक्रेसी (योग्यताक्रम) को आधारमा पदाधिकारीको नियुक्ति गर्ने परम्परा सुरु गरेका थिए । जस अनुसार उनले आफू पक्षधर एक जना उपकुलपति पनि नियुक्त गरेनन् । केपी ओली प्रधानमन्त्री भएपछि उक्त परम्परा तोडेर सत्तारुढ दुई दलको भागबण्डा मिलाएर नियुक्ति प्रक्रिया सुरु गरे । समस्याको जरो नै यही विन्दुबाट सुरु भएको मानिन्छ । या त मेरिटोक्रेसीलाई आधार बनाउनु पर्यो या मुख्य दलहरुबीच सहकार्य गरेर जानुपर्यो । कुनै न कुनै मापदण्डलाइृ आधार बनाएर मात्र यसता संस्थाहरुलाई चलाउन सकिन्छ । अन्यथा यस प्रकारका समस्याहरु जहिले पनि आइरहन्छन् । प्राज्ञिक खोज तथा अनुसन्धानमा स्वतन्त्रतापूर्वक काम गर्ने विश्वविदालयहरुमा पदाधिकारीहरुलाई सुरक्षाबिना बस्न नसक्ने भएपछि के होला ? अहिले पनि क्रान्तिकारीको तोडफोड र पदाधिकारीलाई अवरोध जारी रहेपछि त्रिवि प्रशासनले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै सुरक्षा माग गरेको छ ।

विद्यार्थी संगठनहरुले बाहिर एउटा एजेण्डा उठाएर आन्दोलन गर्छन् भित्री कुरा भने फरक हुने गर्दछ । अहिले पनि क्रान्तिकारीले केन्द्रीय विभागमा समायोजन भएका ४ वटा विभागको शुल्क घटाउन माग राख्दै क्रान्तिकारीले २० दिनयता उपकुलपति कार्यालयमा धर्ना दिँदै आएको छ । बिगतमा यस्तै गतिविधी एमाले अखिल र नेविसंघले पनि गर्दैै आएका थिए । यसपटक क्रान्तिकारीले उपकुलपति अर्यालसहित रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाललाई कार्यालय आउजाउमा अवरोध गरेका छन् । क्रान्तिकारीले सोमबार रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरी क्षतिसमेत पुर्‍याएका थिए । कार्यकक्षको ढोकामै धर्ना दिएपछि उपकुलपति अर्याल कार्यालय आउन छाडेका छन् । सोमबार तोडफोड गरी फर्केका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा क्रान्तिकारी जिल्ला इन्चार्ज ममता जोशी र सुशील नेपाली घाइते भएको केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले बताएका छन् ।

प्रचण्डले मेरिटोक्रेसीको आधारमा नियुक्त गरेका उपकुलपति प्राडा केशरजङ्ग बराललाई कुलपति तथा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिन बाध्य पारेपछि रेक्टर र रजिस्ट्रारमध्ये एक पद माओवादीले पाउनुपर्ने दाबी गर्दै आएको थियो ।  क्रान्तिकारीलगायत दलनिकट संगठनले छिट्टै रिक्त हुन लागेको परीक्षा नियन्त्रक, कानुन संकायको डिन, विद्यालय कल्याण, अनुगमन र अन्तर्राष्ट्रिय निर्देशनालय प्रमुख दाबी गर्दै दबाब बढाएका छन् ।

सरकारले नै विश्वविद्यालयहरुमा राजनीतिक नियुक्ति गरेर प्राज्ञिक संस्थाहरुमा राजनीति घुसाएपछि संवाद, छलफल र बहसको स्थान बाहुबलले लिन थालेको छ । केही समय पहिले आंशिक प्राध्यापक संघ र क्रान्तिकारीले फास्ट ट्र्याकमा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक भर्ना गर्न लागेको भन्दै तालाबन्दी गरेका थिए । क्रान्तिकारीले सोही माग पूरा गर्न भन्दै ताला खोलेर पदाधिकारीलाई अवरोध गरेको हो । वार्तापछि अवरोध खोले पनि फेरि अर्को माग अघि सारेर उपकुलपतिमाथि अवरोध थालेको कर्मचारी बताउँछन् ।

विश्वविद्यालयहरुमा किन पटक पटक बल प्रयोगका घटनाहरु भैरहन्छन् भन्ने प्रश्नमा सरकार नै जिम्मेवार रहेको सम्बद्ध पक्षहरु बताउँछन् । केही पहिले रजिष्ट्रारको कार्यालयमा तोडफोड गर्ने नेविसंघका कार्यकर्ताहरुलाई किटानी जाहेरी दिइएको थियो । उनीहरु पक्राउ परे पनि मुद्धा नचलाई दुई दिनमै थुनामुक्त गरिएको थियो । गृहमन्त्री, प्रधानमन्त्री लगायत अन्य शीर्ष नेताहरुको दवावको कारण मुद्धा चलाउन नसकेको त्यतिबेला प्रहरी स्रोतले बताएको थियो । त्यसैले राजनीतिक संरक्षणमै गुण्डागर्दी हुने भएकोले उच्च राजनीतिक तहमा सहमति नभएसम्म विश्वविद्यालयहरु सुरक्षित र शान्त बन्ने छैनन् ।  
 

 
 
 
 
बुधबार, २८ साउन २०८२, १३ : ०१

प्रतिक्रिया