अन्तर्वार्ता

नाडा अटो शोको ब्रान्ड र विश्वसनीयता चार दशकको संस्थागत इतिहासमा आधारित छ : करण चौधरी

शुक्रबार, ३० साउन २०८२, ०९ : ४१

काठमाडौं – अटोमोबाइल्स एशोसिएन अफ नेपाल (नाडा) ले आगामी भाद्र ३ गतेदेखि नाडा अटो शो गर्न लागेको छ । सवारी–साधनको प्रर्दशनीसँगै खरिद–विक्रीलाई बल पुर्‍याउने उद्देश्यले नाडा अटो शो गर्न लागिएको बताइएको छ । अटोमोबाइल्स क्षेत्रप्रति नेपाल राष्ट्र बैंकको कसिलो नीति, सवारी–साधन ल्याउन प्रयोग गरिने एक प्रमुख नाका रसुवागढीमा आएको प्राकृतिक विपद्, आर्थिक मन्दी र बजारका चुनौतीहरूका बाबजुद पनि यस वर्षको अटो शोलाई अझै विशेष र प्रभावकारी बनाउने प्रयास नाडाले गरेको छ ।

‘दिगो, स्मार्ट र भविष्यमुखी’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो प्रदर्शनीले नयाँ प्रविधिहरूको प्रदर्शन मात्र नभई, ग्राहकका लागि विशेष योजनाहरू र अटोमोबाइल उद्योगको भविष्यलाई दिशा दिने लक्ष्य नाडाले लिएको छ । नाडा अटो शो २०२५ को मुख्य उद्देश्य केवल सवारीसाधनको बिक्री–वितरण गर्नु मात्र नभई, नेपाली उपभोक्तालाई विश्व बजारमा भित्रिएका नयाँ प्रविधि, विद्युतीय सवारीसाधन (इभी) र स्मार्ट मोबिलिटी सोलुसनहरूसँग जोड्नु पनि हो । यसले अटोमोबाइल उद्योगमा सकारात्मक गतिशीलता ल्याउने र उद्योगको पुनर्जीवनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

यस शोलाई प्रविधि र व्यापारिक दुवै दृष्टिकोणबाट सफल बनाउने प्रयास भइरहेकोे छ । आगामी नाडा अटो शो र सवारी–साधन सम्बन्धि नीतिगत व्यवस्थाका विषयमा केन्द्रित रहेर अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीसँग आजको अर्थका लागि रविन ठकुरीले गरेको कुराकानीको सम्पादित अंशः 

अटोमोबाइल्स एशोसिएन अफ नेपाल (नाडा) ले आफ्नो नाडा अटो शो यहि भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा गर्न गइरहेको छ । यो अटो शो भर्खरै नेपाल अटोमोबाइल्स इम्पोटरर्स एण्ड म्यानुफ्याक्चरर्सले (नाइमा) ले गरेको नाइमा अटो शो भन्दा के फरक छ ? 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले १९९८ मा सुरु गरेको नाडा अटो शो अब १७ औँ संस्करणमा प्रवेश गर्दैछ । यो नेपालकै सबैभन्दा लामो समयदेखि निरन्तर हुँदै आएको अटोमोबाइल प्रदर्शनी हो, जसको ब्रान्ड र विश्वसनीयता चार दशकको संस्थागत इतिहासमा आधारित छ । नाइमा अटो शो नयाँ प्रयास हो भने नाडा अटो शो पुरानो अनुभव, अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन, व्यापक उद्योग सहभागिता र उपभोक्ता विश्वासको संयोजन हो । यसैले, नाडा अटो शो केवल प्रदर्शनी मात्र होइन–उद्योगको सम्पूर्ण प्रतिनिधित्व र प्रविधि–संस्कृतिको उत्सव हो ।

वर्षेनी नाडा अटो शो हुँदै आइरहेको छ । गएको वर्षहरु भन्दा यो वर्ष नाडा अटो शोमा कस्तो नयाँपन देख्न पाइन्छ ? आगामी अटो शोमा कति वटा नयाँ सवारी–साधन लन्च (अनावरण) हुँदैछ ? कुन–कुन ब्राण्डका सवारी–साधन अटो शोमा हुनेछन् ? कति वटा स्टलहरु रहने छन् ? टिकट र पाकिङ्गको व्यवस्थापन कसरी गर्दैहुनुहुन्छ ?

यो वर्ष नाडा अटो शोमा १ सय २५ भन्दा बढी स्टल, ३० भन्दा बढी अग्रणी ब्रान्डको सहभागिता, र थुप्रै नयाँ मोडलहरूको पहिलो अनावरण हुनेछ । विशेष आकर्षणमा नेपालकै पहिलो Deepal eVTOL Flying TaxiÚ  सार्वजनिक प्रदर्शन, Unitree Robotics का अत्याधुनिक रोबोट, र दुर्लभ सवारी साधनहरू सहितको भिन्टेज मोटर शो रहनेछ । टिकट व्यवस्थामा डिजिटल टिकेटिङ्ग, राखिएको छ ।

प्राय अटो शोमा विभिन्न प्रकारका समस्याहरु देखिने गर्दछन्, चाहे प्राकृतिक होस् या मानव निर्मित । यस्ता समस्यालाई समाधान गर्नका लागि अटो शोको व्यवस्थापन र तयारी कस्तो छ ?

प्राकृतिक वा मानव–निर्मित चुनौतीका लागि सम्पूर्ण सुरक्षा, आपतकालीन निकासी योजना, स्वास्थ्य सुविधा र ट्राफिक व्यवस्थापनमा विस्तृत तयारी गरिएको छ । प्रहरी, ट्राफिक प्रहरी, निजी सुरक्षा र प्राविधिक टोली चौबीसै घण्टा तत्पर रहनेछन् ।

यातायात व्यवस्था विभागले सवारी–साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका–२०८२ ल्याउन लागेको छ । उक्त निर्देशिकामा नाडाको धारणा र सुझाव के छ ? 

सवारी–साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका–२०८२ मा नाडाको धारणा स्पष्ट छ–नीतिले प्रविधि मैत्री, उपभोक्ता हितमुखी र उद्योगलाई सक्षम बनाउने हुनुपर्छ । हामीले सुझाव दिएको छौं कि संक्रमणकालीन अवधि पर्याप्त दिइयोस्, उद्योगसँग समन्वय गरेर कार्यान्वयन गरियोस् र नेपालमा उपयुक्त प्रविधि छनोटमा लचिलो दृष्टिकोण अपनाइयोस् ।

हालै रसुवामा आएको बाढी तथा पहिरोले त्यस स्थानको सडक, पुल र पूर्वाधार ध्वस्त बनाएको छ । यसले चीनसँग जोडिएको रसुवागढी ठप्प भएसँगै चीनसँग सम्पर्क टुटेको छ । सडक सञ्जाल हाल करिब–करिब बन्द भएको अवस्था छ । यो नाकाबाट अब सवारी–साधन ल्याउन मुश्किल छ । आगामी अटो शोका लागि सवारी–साधन ल्याउनका लागि कुन विकल्प चयन गर्नुभएको छ ? कसरी थप सवारी–साधन ल्याउँदै हुनुहुन्छ ? पहिले कसरी सवारी–साधन ल्याउनुभयो ? 

रसुवामा आएको बाढी–पहिरोले प्रमुख व्यापारिक मार्ग बन्द भएको अवस्थामा, वैकल्पिक रूपमा तातोपानी नाका, भारतमार्ग हुँदै आयात र पहिले नै ल्याइसकिएका स्टकको उपयोग गरेर अटो शोमा पर्याप्त सवारी साधन उपलब्ध गराइनेछ । यसअघि पनि हामीले विभिन्न नाकाहरू र आपूर्तिकर्तासँगको तालमेलबाट समयमै सवारी साधन ल्याउने गरेका छौं ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷०८३ को मौद्रिक नीतिमार्फत हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृत दिने नीतिगत एवं प्रकृयागत व्यवस्थालाई पुनः निरन्तरता दिँदै लोन टु भ्यालू रेसियोलाई यथावत नै राखेको छ । यसले सवारी–साधनमा प्रवाह हुने कर्जालाई कडाई गरेसँगै खरिद–विक्रीमा प्रभाव पार्ने आंकलन गरिएको थियो । उक्त नीतिगत व्यवस्थाप्रति नाडाको धारणा र सुझाव के छ ? आगामी अटो शोले राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई पाखा लगाउँदै खरिद–विक्रीले थप उचाई समाउँला त ?

राष्ट्र बैंकले यथावत राखेको निर्णयले कर्जा प्रवाहमा चुनौती ल्याउने भए पनि, अटो शो जस्तो प्लेटफर्ममा व्यवसायीहरूले विशेष अफर, फाइनान्सिङ स्किम र उपभोक्ता–मैत्री प्याकेजमार्फत बिक्री प्रवद्र्धन गर्नेछन् । हाम्रो सुझाव छ—हायर पर्चेजमा सन्तुलन ल्याई माग र आपूर्ति दुवैलाई सहयोग गर्ने नीति ल्याउनुपर्छ ।

अटोमोबाइल्स क्षेत्रमा नाडाको उपस्थिति हुँदाहुँदै नाइमाको किन गठन भयो ? यसले नाडाको उपस्थितिलाई कमजोर बनाउँला कि बलियो बनाउँला ?

नाडा ४९ वर्ष पुरानो संस्था हो जसले अटोमोबाइल क्षेत्रको सम्पूर्ण हित र आवाजको प्रतिनिधित्व गर्दै आएको छ । नयाँ संगठनहरूको गठनले उद्योगमा बहस र वैकल्पिक विचार ल्याउन सक्छ, तर आवाज विखण्डन हुँदा सरकारी तहमा प्रभाव घट्ने सम्भावना रहन्छ । एकीकृत आवाज नै उद्योगको दीर्घकालीन हितमा हुन्छ ।

नाइमाले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो’ मा एक लाख अवलोकनकर्ताले भ्रमण गरेका छन् । यस लगत्तै नाडाले गर्न लागेको नाडा अटो शोमा यतिकै भ्रमणकर्ताको उपस्थिति हुनेमा तपाईको धारणा के छ ? यसका लागि तपाईहरुको तयारी र व्यवस्थापन कस्तो छ ?

नाइमा शोमा करिब एक लाख आगन्तुक आएको तथ्यलाई हामीले सकारात्मक प्रतिस्पर्धा र उद्योगप्रति बढ्दो चासोको सूचक मानेका छौं । नाडा अटो शोको ब्रान्ड, १७ औँ संस्करणको अनुभव र नवीनतम प्रविधिहरूको प्रदर्शनले समान वा बढी आगन्तुक तान्ने अपेक्षा छ । व्यवस्थापनमा टिकेटिङ्ग देखि भीड नियन्त्रण, सुरक्षा, डिजिटल प्रमोशन र आगन्तुक सेवासम्म सम्पूर्ण तयारी पूरा छ ।
 

 
 
 
शुक्रबार, ३० साउन २०८२, ०९ : ४१

प्रतिक्रिया