वरिष्ठ साहित्यकार खेमनाथ दाहालको ‘बुद्धको देश नेपाल’ सार्वजनिक

शुक्रबार, ३० साउन २०८२, १२ : १३

काठमाडौं–गत आइतवार वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ लाई सार्वजनिक गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ । गीतको भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

कार्यक्रममा साहित्यकार लेखनाथ पोख्रेल, डा.बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, धरान २०२५ प्रवेशिका समूहका नेतृत्वकर्ता समाजसेवी भुपेन्द्र कार्की, डा.अंकुर दाहाल, उषा दाहाल, साहित्यकार, सम्पादक रमेश दाहाल, चलचित्र जाँचपास समितिका सदस्य कुवेर गिरी, मिलाप फाउण्डेशनकी अध्यक्ष एवं गीतकार गीता अधिकारी, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, कृष्णराज गौतम, विनोद देवकोटा, भरत दाहाल, राजु दाहाल, घनश्याम दाहाललगायत विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

शुक्रबार, ३० साउन २०८२, १२ : १३

प्रतिक्रिया