चिकित्सकदेखि कलाकारको विदेश पलायन : चर्चित गायक तथा संगीतकार आशिष अविरल पनि अमेरिका भासिए

शुक्रबार, ३० साउन २०८२, १७ : ०१

काठमाडौं– पछिल्लो समय चिकित्सकदेखि कलाकारहरुको विदेश पलायन तीव्र रुपले बढिरहेको छ । देशमा आफ्नो भविष्य सुरक्षित नदेखेपछि विदेश पलायनको समस्या सिर्जना भएको हो ।

यसबेला दक्ष युवा शक्ति, विद्यार्थी, शिक्षक, चिकित्सक, इन्जिनियर र व्यापारीहरु पनि विदेश पलायनको पहिलो सूचीमा देखिन्छन । केही दिन अघि गंगालाल हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला अमेरिका भासिएका छन् । उनले आफ्नो पदबाट राजीनामा दिएर अमेरिका पुगेका हुन् । 

त्यस्तै पछिल्ला दिनहरुमा गायन तथा संगीताकारको क्षेत्रमा चर्चाको शिखर चुमिसकेका गायक हुन आशिष अविरल । उनी यतिबेला अमेरिका पलायन भएका छन् । अमेरिकाको ग्रीन कार्डमार्फत उनले अमेरिका प्रस्थान गरेका हुन् । उनी एक छोरासित अमेरिकामा कागजपत्र मिलाउने काममा व्यस्त छन् । नेपालमा उनकी श्रीमती र छोरा छन । 

सम्पूर्ण कागजातको प्रबन्ध गरिसकेपछि उनी आफूसहित सम्पूर्ण परिवार अमेरिकामै बस्ने योजनासहित त्यहाँ पुगेको उनले बताए । अमेरिकामा बसिरहेका अविरलले भने, ‘नेपालमा केहि कुराको पनि सुरक्षाको ग्यारेन्टी राज्यले गर्न सकेन । म मेरा सन्तानको भविष्यका लागी भएपनि बाहिरिनु प¥यो ।’ 

सरकारमा जो आए पनि आमजनताको हालत उस्तै हुन भएपछि आफुले बाध्य भएर नेपाल छाड्न परेको उनले बताए । तर सांगीतिक कर्म भने जहाँ रहे पनि गरिरहने उनको भनाई छ । 

यस अघि नेपाली सांगीतिक क्षेत्रका दर्जनौ कलाकारहरु विदेश पलायन नभएका होइनन् । उनीहरुले पनि यस देशमा आफ्नो भविष्य सुरक्षित नदेखे पछि नै देश छोड्न बाध्य भएका हुन् । देशको राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी समस्या, कमजोर प्रशासन र शासन व्यवस्थामा गलत पात्र र प्रवृत्तिले आममानिसको जिवनलाई समेत प्रभाव पारेको छ । 

गायक आशिष अविरलको विदेश पलायनको मुख्य कारण पनि यो देशको राजनीतिक प्रणाली र शासन व्यवस्था हो । त्यसकारण उनले आफू विदेशिनुको दोष राज्य सत्तालाई दिएका छन् । गायक तथा संगीतकार आशिषले झण्डै १० हजार गित एरेञ्ज गरिसकेका छन् भने दर्जनौ गीतमा संगीत भरेका छन । 

उनका चर्चित गीतहरु, ‘काले केटाले’, ‘ए मेरो हजुर ३’, ‘छुनुमुनु’, र ‘पुतली मँया लाउन है’ हुन । ‘नाँइ मलाई थाहा छैन’ र ‘माया लुकि लुकी’ जस्ता चर्चित गीतका संगीतकार पनि हुन् । 


 

 
 
शुक्रबार, ३० साउन २०८२, १७ : ०१

प्रतिक्रिया