शेयर बजार

नेप्से बढ्दा पनि किन बढेन कारोबार ?

बुधबार, ०४ भदौ २०८२, ११ : २५

काठमाडौँ - सेयर बजारमा नेप्से बढे पनि कारोबार बढ्न नसक्दा सेयर बजारका लागि राम्रो नभएको जानकारहरुले विश्लेषण गरेका छन् । पछिल्ला कारोबार दिनमा नेप्से परिसूचक बढ्न खोजे पनि कारोबार रकमले टेवा पुर्‍याउन सकेको छैन । नेप्से सकारात्मक अंकले बढ्दा पनि कारोबार रकम लगातार घटेकाले समग्र बजारको सुधारका लागि कारोबार रकम पर्याप्त नभएकाले उक्त विश्लेषण गरिएको हो । 

यसरी नेप्से बढ्दा पनि कारोबार रकम लगातार घट्नु सेयर बजारका लागि राम्रो नभएको जानकारहरू बताउँछन् । ‘नेप्सेको वृद्धिदर कम भए पनि कारोबार रकमले सहायता गरेको भए बजारका लागि राम्रो मानिन्थ्यो,’ एक धितोपत्र ब्रोकरले भने, ‘पछिल्ला कारोबार दिनमा नेप्सेको वृद्धिदर पनि कम छ भने कारोबार रकमले पनि सहायता गरेको छैन ।’

यो अवस्थालाई लगानीकर्ताले धेरै कारोबार गर्न नचाहेको रूपमा बुझ्नुपर्ने सम्बद्ध क्षेत्रका व्यक्तिहरुको भनाइ रहेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचक ०.२३ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ७ सय ७६।९० बिन्दुमा उक्लेर बन्द भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घट्यो । यसरी सेयर मूल्य घट्नेभन्दा बढ्ने कम्पनी बढी भएपछि समग्र नेप्से ६।५१ अंकले बढेको हो ।

मंगलबार ६१ हजार ७ सय ८४ पटकको कारोबारमा १ करोड ३१ लाख २४ हजार ३ सय १० कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ६७ हजार ९ सय ५९ पटकको कारोबारमा १ करोड १५ लाख २९ हजार ८ सय २१ कित्ता सेयर किनबेच भएका थिए ।

उक्त किनबेचमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका १३ उपसमूहकै परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । तर, सबै परिसूचकको वृद्धिदर १ प्रतिशतभन्दा कम छ । यसकारण सबै उपसमूहको परिसूचक उकालो लाग्दा पनि समग्र नेप्सेमा साढे ६ अंकको झिनो वृद्धि भएको हो ।

त्यसैले नेप्सेमा स्थिरता नभएकोले बजार अहिले कमजोर अवस्थामा छ। गिरावटको साथै उच्च उतार‑चढावले जोखिम बढाएको छ। लगातार गिरावट र भोल्युममा कमी आर्थिक दृष्टिले बजारको कमजोरीलाई सूचित गर्छ र यसले मन्दीको संकेत गर्दछ । 

यस्ता प्रतिक्रियाहरूले  बजारमा गम्भीर असर परेको देखाउँछ । यो परिवर्तनले कतिपय उत्साहित छन्, तर धेरैले अहिले बजार कमजोर भएको र ध्यानपूर्वक अगाडि बढ्नु पर्ने बताउँछन्। सरकारले लिएका आर्थिक नीतिहरुको समीक्षा गर्दै अघि बढ्नपर्ने आवश्यकता छ । 


 

 
 
बुधबार, ०४ भदौ २०८२, ११ : २५

प्रतिक्रिया