काठमाडौं–रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकास्थित साढे २५ बिघा क्षेत्रफलमा नयाँ तथा अत्यधुनिक इन्धन डिपोसहितको सुविधासम्पन्न लुम्बिनी प्रादेशिक कार्यालय निर्माण अघि बढ्ने भएको छ । नेपाल आयल निगमले निर्माण गर्न लागेको डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको हो ।
काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डीपीआर तयार भएको हो । डिपो तथा कार्यालय संरचना निर्माणका लागि ५ अर्ब ७९ करोड ३० लाख ६४ हजार रूपैयाँ (करबाहेक) लाग्ने अनुमान गरिएको छ । हाल सञ्चालनमा रहेको लुम्बिनी प्रादेशिक कार्यालय साँघुरो, घनाबस्ती बीचमा रहेको र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ डिपो तथा कार्यालय निर्माण गर्न लागिएको हो ।
यहाँ निर्माण हुने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनालाई धान्ने मागबराबरको पेट्रोलियम पदार्थ मौज्दात गर्न सकिने छ । एक वर्षको अवधिमा भूमि सम्याउने र नदी किनारमा ग्याबियन जाली, रिटेनिङ वाल आदि निर्माण गरी जग्गाको संरक्षण गर्ने कार्य सम्पन्न गरेर डिपो निर्माणका लागि तयारी अवस्थामा राखिएको छ । चालु आवबाट निर्माण प्रक्रिया अगाडि बढेसँगै २१०० किलोलिटर क्षमताको २ वटा भर्टिकल ट्यांक र ७६० किलोलिटर क्षमताको १ वटा ट्यांक भर्टिकल ट्यांक निर्माण हुनेछ ।
डिजेलका लागि ४५०० किलोलिटर क्षमताको ३ वटा भर्टिकल ट्यांक निर्माण हुनेछ । जसको कुल क्षमता १३ हजार ५ सय किलोलिटर रहेको छ । पेट्रोलका लागि २१०० किलोलिटर क्षमताको २ वटा भर्टिकल ट्यांक र ७६० किलोलिटर क्षमताको एउटा भर्टिकल ट्यांक निर्माण हुनेछ जसको कुल क्षमता कुल क्षमता ४ सय ९ सय ६० किलोलिटर रहने छ । यसैगरी मट्टीतेल ७६ किलोलिटर क्षमताको ३ वटा भर्टिकल ट्यांक बन्नेछ । जसको कुल क्षमता २ सय २८ किलोलिटर हुनेछ ।
डिपोका लागि रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरिसकेको छ । लुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि नेपाल आयल निगमले हाल रुपन्देहीको भलवारीमा प्रादेशिक कार्यालय सञ्चालन गरिरहेको छ । करिब साढे पाँच बिघा जमिनमा फैलिएको डिपोमा न्यून भण्डारण क्षमता रहेको छ । हाल भलवारी डिपोमा पेट्रोलका लागि ५ सय १९ किलोलिटर, डिजेलका लागि ३ हजार ४० किलोलिटर र मट्टितेलका लागि २ सय ८० किलोलिटर क्षमताको भण्डारण गृह रहेको छ ।
प्रतिक्रिया