काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्यांकमा मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कमी आएको देखाएपनि वास्तवमा बजारमा त्यस्तो अवस्था नरहेको बुझिन्छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत देखाएपनि उक्त तथ्यांक दवावमा आएर तोडमोड गरि प्रस्तुत गरिएको बजारले देखाएको हो ।
सरकारलाई लोकप्रिय देखाउन प्रत्येक वर्ष राष्ट्र बैंकसँगै अन्य सरकारी निकायले तथ्यांकमा जालझेल गर्ने परम्परा दोहोरिँदै आउँदा यस पटक पनि उहि हालत भएको धेरै जानकारले आरोप लगाएका हुन् । तथ्यांक त आयो तर बजारमा उक्त अवस्था देखिएन । अर्थात महंगी घटेको तथ्यांक आएपनि आम नागरिकले महंगीको भार खेपिनै रहेका थिए र छन् पनि ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्यांकमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्यबृद्धि भएको छ भने मरमसला उप–समूहको मूल्य सूचकांकको मूल्यबृद्धि घटेको देखाएको छ । तर बजारले उक्त तथ्यांकलाई समर्थन नगरेको देखिन्छ । तथ्यांकले संकेत गरेको जस्तो बजारको अवस्था नरहेको आम उपभोक्ताको भोगाई छ ।
राष्ट्र बैंकको तथ्यांक विपरीत बजारमा महंगीले उपभोक्ता मारमा
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्यांकले वास्तविक बजार र उपभोक्तालाई प्रतिनिधित्व नगरेको आरोप लागिरहेको छ । तत्कालीन सरकारको दवावमा परेर तथ्यांक सार्वजनिक गर्न लगाएको आरोप समेत लगाइरहेका छन् । ‘तथ्यांकमा आर्थिक वर्ष २०८१/०८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत आएको छ ।
तर, उक्त तथ्यांकलाई ३.७ प्रतिशतमा झार्न दवाव दिइएको थियो । बजारको स्थितिलाई हेर्दा उपभोक्ता मुद्रास्फिीति ७ प्रतिशत हाराहारी हुन आउँदछ ।’, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आजको अर्थलाई भने, ‘हाल प्रस्तुत गरिएको तथ्यांक वास्तविक होइन । तथ्यांकमा चलखेल गरेर गुमराह बनाइँदै छ । गएको ३–४ वर्षदेखि प्रस्तुत गरिएको तथ्यांक झुठो छ । नागरिकलाई बेबकुफ बनाउने काम राज्यबाट भइरहेको छ ।’
आर्थिक वर्ष २०८१/०८२ मा अघिल्लो वर्षको तुलानामा वार्षिक औसत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको छ । तर नेपाल राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेजति नभएको भनाई छ । आर्थिक वर्ष २०८१/०८२ मा धान बाली ८६ प्रतिशत उत्पादन भएको थियो । यसले चामलको आयातमा कमी ल्याएर बजारलाई सस्तो बनाएको थियो । तर, यति हुँदाहुँदै पनि राष्ट्र बैंकको तथ्यांकले संकेत गरेको जति मुल्यबृद्धिमा कमी भएको बजारले देखाएन भने उपभोक्ताको भोगाईले पनि त्यो कुरालाई पृष्टि गरेन ।
गएको वर्षभन्दा यस पटक धानबालीको उत्पादनमा २० प्रतिशतले हस आएको छ । धानबालीको उत्पादन ६५ प्रतिशतमा सिमित हुने अनुमान छ । नेपाली उद्योगीले धानबालीको समर्थन मूल्य सीमा पारी (भारत) को भन्दा कम दिने गर्दछ । यसले आपूर्तिमा नकारात्मक प्रभाव पार्दछ । आयातको अनुपात बढाउँदछ । चामलको आयात गर्नुपर्ने अवस्था आउँदा थप मूल्यबृद्धि हुन सक्दछ । कात्तिक–मंसिर लागेपछि बजारमा बास्तविक प्रभाव देखिएसँगै आपूर्तिमा नकारात्मक असर देखिन सक्दछ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा चालू आर्थिक वर्ष (आर्थिक वर्ष २०८२/०८३) मा मुद्रास्फीति थप बढ्ने अनुमान छ ।
‘बजारमा आपूर्ति सहज हुँदा मूल्य नबढ्ने धारणा छ । तर नेपालमा उत्पादन नहुँदा आपूर्ति सहज हुँदा पनि मूल्यबृद्धि हुन्छ ।’, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । हाल नेपालमा भएको मूल्यबृद्धि विचौलिया हाबी भएकाले भएको हो । बजारमा धेरै तह भएकाले प्रत्येक तहमा विचौलियाले स्थान पाउने हुनाले मूल्यबृद्धि हुने गर्दछ । मूल्यबृद्धि नियन्त्रणका लागि उत्पादनलाई बढाउनु नै उत्तम विकल्प हुन सक्दछ ।
मुलुक अहिले फाइनेन्सियल एक्सन टास्क फोर्स (एफ.ए.टि.एफ.) को ग्रे लिस्टमा फसेको छ । यसले पनि नेपाललाई थप आर्थिक समस्यामा धकेलेको छ । ग्रे मार्केट नियन्त्रण गर्दा पनि मूल्यबृद्धिमा कमी आउन सक्दछ । वितरण प्रणालीमा रहेको विचौलियाको तहलाई निर्मुल पारेर उनीहरुलाई धेरै हावी हुन नदिए मूल्यबृद्धिको समस्यालाई हल गर्न सकिन्छ । वितरण प्रणालीको सृदुढ गर्नका लागि उचित नीति–नियमको तर्जुमा गर्न सके मूल्यबृद्धिलाई सन्तुलनमा राख्न सकिन्छ ।
राष्ट्र बैंकको तथ्यांकमा मूल्यबृद्धि घटेको विवरण
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्यांकमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । २०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्यबृद्धि १०.७१ प्रतिशत, ध्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । मरमसला उप–समूहको मूल्य सचकांक २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यबृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ६.४७ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१९ प्रतिशतले ऋणात्मक रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ४.०४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । २०८१ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१२ प्रतिशत रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ३.२६ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा काठमाडौँ उपत्यकाको औसत उपभोक्ता मुद्रास्फीति ३.७७ प्रतिशत, तराईको ४.१४ प्रतिशत, पहाडको ३.८६ प्रतिशत र हिमालको ४.८९ प्रतिशत रहेको छ । २०८२ असार महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३२ प्रतिशत, तराईको १.८५ प्रतिशत, पहाडको २.१९ प्रतिशत र हिमालको ३.७५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकांक ४.४० प्रतिशत र सहरी क्षेत्रको ३.९४ प्रतिशतले बढेको छ । २०८२ असार महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.४० प्रतिशतले र सहरी क्षेत्रको २.१४ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४६ प्रतिशत, मधेश प्रदेशको ४.१४ प्रतिशत, बागमती प्रदेशको ३.५७ प्रतिशत, गण्डकी प्रदेशको ३.३२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७० प्रतिशत, कर्णाली प्रदेशको ३.३१ प्रतिशत र सुदुरपश्चिम प्रदेशको ५.०२ प्रतिशत रहेको छ । २०८२ असार महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६७ प्रतिशत, मधेश प्रदेशको १.९९ प्रतिशत, बागमती प्रदेशको १.८१ प्रतिशत, गण्डकी प्रदेशको १.७१ प्रतिशत, लुम्बिनी प्रदेशको १.७८ प्रतिशत, कर्णाली प्रदेशको १.८६ प्रतिशत र सुदुपश्चिम प्रदेशको २.७४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा वार्षिक औसत थोक मुद्रास्फीति ३.८४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.९२ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.०५ प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ४.४१ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । सन् २०२५ जुलाई महिनामा भारतको यस्तो मुद्रास्फीति १.५५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया