काठमाडौं- कृषि प्रधान मुलुकमा किसानहरु माग पुरा गराउन सडकमा आउनुपर्ने परिस्थिति स्वभाविक होइन । सरकारले किसानहरुलाई प्रोत्साहन गुर्नपर्ने ठाउँमा निराश बनाउनु देशको सुदूर भविष्यको लागि पनि राम्रो होइन । हाम्रो जस्थो कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकमा किसानमेत्री बजेट आउनुपर्ने हो ।
तर सरकारले उखुको अनुदान रकम कटौती गरेको भन्दै विभिन्न जिल्लाबाट किसानहरु काठमाडौंमा विरोध गर्न आउन बाध्य भए । सरकारले उनीहरुका मागको सुनुवाइ नगरेकोले उखु किसान शनिबार घर फर्किएका छन् ।
राजधानीमा आफ्ना माग नसुनिएपछि किसानले भदौ २५ देखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने नयाँ रणनीति बनाएका छन् । गत आर्थिक वर्ष प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने सरकारले गरेको निर्णय यथावत् राख्नुपर्ने माग राख्दै उखु किसान भदौ ८ देखि काठमाडौंमा आन्दोलित थिए ।
सरकारको व्यवहारले किसानहरु आक्रोशित भएका छन् । सरकारले बेवास्ता गरेपछि शनिबार पत्रकार सम्मेलन गरी उनीहरुले भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अनिश्चितकालिन अवरुद्ध गर्ने घोषणा गरेका छन् । उखु उत्पादन महासंघका अध्यक्ष श्यामबाबु रायले सरकारसँग वार्तामा बसे पनि परिणाम नआएपछि दबाबस्वरुप राष्ट्रिय राजमार्ग ठप्प गर्ने घोषणासहित काठमाडौं छाडेर घर फर्किएको जानकारी दिए ।
सरकारले बेवास्ता गरेपछि किसानहरु राष्ट्रिय राजमार्ग अनिश्चितकालीन अवरुद्ध गर्ने निर्णय गरेर सबै जिल्ला फर्केका छन् ।‘ सरकारसँग भएको वार्ताबाट कुनै पनि परिणाम नआएपछि माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने किसान नेताहरुले बताएका छन् ।
वार्ताका क्रममा कृषिमन्त्री रामनाथ अधिकारीले अर्थ मन्त्रालयले बजेट नदिएको बताएका थिए । कृषि मन्त्रालयको वार्षिक बजेटमा उखु किसानका लागि दुई अर्ब अनुदान छुट्याइए पनि अर्थ मन्त्रालयले बजेट रोकेको मन्त्री अधिकारीले आरोप लगाएका छन् ।
यसअघि उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानका लागि यही रकमको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको भए पनि ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो । यसपछि नै किसानहरु आन्दोलित भएका हुन । सरकारले अनावश्यक र विलासिताका क्षेत्रमा ठूलो धनराशी खर्च गर्ने गरेको छ । तर देशको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्रलाई भने बेवास्ता गर्दै आएको छ । सरकारको कृषि क्षेत्रप्रति देखिएका उदासिनताकै कारण मुलुक कृषिमा आत्मनिर्भर बन्न सकिरहेको छैन ।
प्रतिक्रिया