काठमाडौं- राजधानी काठमाडौंबाट सुरु भएको जेनजीको विरोध प्रदर्शन र प्रहरीको दमनले उग्र रुप लिएपछि यससाताको सेयर बजार प्रभावित भएको छ ।
आइतबार सामान्य घटेको बजार सोमबार जेनजीले काठमाडौंको माइतीघर तथा देशभरका प्रमुख सहरमा गरेको प्रदर्शनमा प्रहरी दमन भई गोली चल्दा सोमबारको बजारमा पनि गिरावट आयो । प्रहरीको गोली लाग्ला प्रदर्शनमा उत्रिएका १९ जना युवाको मृत्यु र सयौं घाइते भए । यसकारण देशभर लागेको कफ्र्यु र निषेधाज्ञाका कारण नेपाल स्टक एक्स्चेन्जले यस साताका तीन कारोबार दिन बजार बन्द गरेको थियो ।
नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ मा आधारित भएर तीन दिन कारोबार स्थगित गराएको हो । प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सकिने सो नियमावलीमा उल्लेख छ । यस्तै, नेप्सेले आगामी साता पनि सेयर बजार नखोल्ने घोषणा गरिसकेको छ ।
यस साता दुई कारोबार दिन खुलेको बजारमा नेप्से परिसूचक ४७.५२ अंकले घटेर २६७२.२५ विन्दुमा आईपुगेको छ । गत साता २७१९.७७ विन्दुमा बन्द भएको नेप्से यो साता ४७.५२ अंकले घटेर २६७२.२५ को विन्दुमा पुगेको हो ।
यस साता आइतबार ४ अर्ब ४० करोड र सोमबार ५ अर्ब २३ करोडको सेयर कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा कायम भएको थियो । नेप्सेमा यसदिन ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको सेयर कारोबार भयो।
त्यस्तै, साताको दोस्रो दिन कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड माथिको सेयर कारोबार भएको छ ।
थप एक साता बन्द गर्ने निर्णय गरिएको बजार अब घटस्थापनाको अघिल्लो दिन मात्र खुल्नेछ । केही लगानीकर्ता हाल संक्रमणकालीन अवस्था रहेकाले मुलुकले एउटा नेतृत्व नपाउँदासम्म बजार सञ्चालन गर्न नहुनेमा छन् ।
ब्रोकर कम्पनीहरू कारोबारका लागि तयार भएपनि सुरक्षालाई लिएर भने चिन्ता जनाएका छन् ।
हाल देशमा अन्तरिम सरकार बनेसँगै एक साता बन्द गर्ने निर्णय पश्चात बजार खुल्न सक्ने देखिएको छ ।
प्रतिक्रिया