काठमाडौं- गत भदौ २३ गतेबाट देशभर सुरु भएको जेनजी आन्दोलनले उग्ररुप लिँदा २ साता बजार बन्द भयो ।
यस साताको बुधबार खुल्ने भनिएको सेयर बजार सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको नाममा शोक दिवस मनाउने घोषणा गरेकाले त्यस दिन बजार खुलेन ।
साताको अन्तिम कारोबार दिन खुलेको बजारमा सेयर बजारमा नेप्से परिसूचक १६०.३३ अंक अर्थात् ६ प्रतिशतले गिरावट आयो। नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ को विन्दुमा पुगेको छ ।
त्यस दिन कारोबार खुलेदेखि नै कम्पनीहरुको सेयर बेच्नेहरुको संख्यामा अत्याधिक मात्रामा बढ्यो । जसले गर्दा बजार खु्लेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो र पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजार एक मिनेटमै कुल ५ प्रतिशत घट्यो र ४० मिनेटका लागि पुनः कारोबार स्थगित भयो ।
त्यसपछि १२ बजेर ३ मिनेट जादाँ पुनः खुलेको बजार २ मिनेटमै ६ प्रतिशत घट्न पुग्यो । ६ प्रतिशतको गिरावट पश्चात त्यस दिनको कारोबार स्थगित भयो । त्यसदिन नेप्सेमा कुल ५ मिनेट पनि कारोबार हुन सकेन ।
त्यस दिन बजार ठूलो अंकमा घट्दा ७२ करोड ८७ लाख रुपैयाँको मात्र सेयर कारोबार भयो ।
आन्दोलनमा भएको क्षतिपछि लगानीकर्ताहरु बजारमा रहिरहनभन्दा पनि आफूसँग भएको सेयर बेचेर बच्ने स्थितिमा रहेको देखिन्छ ।
हाल गठन भएको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने घोषणा गरेको छ र तर त्यसमा पनि अन्यौलता देखिदाँ लगानीकर्तामा पनि डर सिर्जना भएका छन् ।
आगामी साता खुल्ने बजारमा पनि सेयर खरिद गर्नेभन्दा बिक्री गर्नेकै संख्या बढ्न सक्ने लगानीकर्ताहरु बताउँछन् । एकतर्फ दशैं नजिकिदैं गर्दा त्यसको खर्च जुटाउन सेयर बेच्ने बढेको हुन सक्छ भने अर्कोतर्फ बजारमा सिर्जना भएको स्थितिका कारण लगानीकर्ताले सुरक्षाको खतरा महसुस गरिरहेका छन् ।
आगामी साता बजार खुल्दा सेयर किन्नेको संख्या बढेमा बजार लयमा आउन पनि सक्छ तर बिहीबारकै स्थिति आएमा बजार बारे सरकारको पयिन ध्यानाकर्षण हुन र लगानीकर्तामैत्री बजारका लागि अभ्यास गर्न जरुरी हुन्छ ।
बिहीबारको सेयर बजारमा नकारात्मक सर्किट ब्रेकर लागेपछि अर्थमन्त्री रामेश्वर खनालले यसबारे अध्ययन गर्न कार्यदल पनि बनाएका छन् । उक्त कार्यदललाई पुँजी बजारमा देखिएका समस्या र विसङ्गति अध्ययन गरी समाधानका लागि गठन गरिएको कार्यदललाई ५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि बजारको बारेमा थप विश्लेषण गरिँदा पूँजीबजारलाई लयमा ल्याउन मद्दत पुग्न सक्छ ।
प्रतिक्रिया