टिप्पणी

प्रधानमन्त्रीको निराशाजनक सम्बोधन, आन्दोलनको ऐजेण्डामाथि धोका

शुक्रबार, १० असोज २०८२, १३ : ३२

काठमाडौँ -आन्दोलनपछि बनेको सुशीला सरकारले आन्दोलनको ऐजेण्डालाई उपहास गरेको आरोप लाग्दै गरेको अवस्थामा बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले झनै निराश बनाएको छ । यो आन्दोलनको मुख्य ऐजेण्डा प्रत्यक्ष कार्यकारीको निर्वाचन गराउने भन्ने थियो । तर प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताएकी हुन् ।

उनले विदेशमा रहेका नेपालीहरूलाई समेत मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । योग्य र सक्षम जनप्रतिनिधि छनोट गर्न सबै नागरिकलाई आग्रह गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध हुन आह्वान गरिन् । 

हालै भएको युवा पुस्ताको आन्दोलनलाई ‘अभूतपूर्व’ प्रदर्शनको संज्ञा दिँदै प्रधानमन्त्री कार्कीले दोषीहरूलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका कतिपय विषयहरू तत्काल सम्बोधन गर्न नसकिने प्रकृतिका भएकाले आगामी निर्वाचनपश्चात् संवैधानिक प्रक्रियाबाट समाधान खोजिने पनि उनको भनाइ थियो । 

प्रधानमन्त्री कार्कीले क्षति भएका भवनहरूको पुनर्निर्माण कार्यमा सबै जुटिसकेको जानकारी दिँदै सुरक्षा निकायलाई पूर्ववत् अवस्थामा फर्काउने कार्य सुरु भइसकेको पनि बताइन् । आफ्नो ६ महिनाको कार्यकालमा इमानदार प्रयासका साथ धेरै काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकारी सेवालाई झन्झटमुक्त बनाउने आफ्नो प्रमुख प्राथमिकता रहने बताएकी छन् ।
विद्यमान निर्वाचन प्रणालीकै मातहतमा प्रतिनिधिुभाको निर्वाचन हुँदा कसरी प्रत्यक्ष कार्यकारी छानिन्छ ? के चुनाव गराउनको लागि मात्र ७४ जना युवाको बलिदानी भएको हो ? जेनजि आन्दोलनले एउटा पुरानो पुस्तालाई सत्ताबाट हटाएर अर्को त्यस्तै पुस्तालाई सत्तामा विराजमान गराउनु मात्र थियो ? के यत्ति फेरबदलको लागि देश जल्नु पथ्र्यो ? मुलुकमा स्थायी सरकार भएपछि जवाफदेहिता बढ्ने र त्यसले नागरिकलाई सुशासन दिने आन्दोलनको मुख्य उद्देश्य थियो । तर अहिले उक्त मुद्धामाथि ठूलो धोका भएको छ । यो सरकार त आन्दोलनको बलमा बनेको सरकार हो । यसले त आन्दोलनको मर्म अनुसार काम गुर्नुपर्ने हो । यही निर्वाचन प्रणाली अनुसार चुनाव हुने हो भने त मुलुकले कहिले पनि स्थिरता पाउन सक्तैन । फेरि पनि सत्ता समीकरण बनाउने र भत्काउने खेल निरन्तर चलिरहन्छ । त्यसले परिवर्तनपछि बनेको सरकारले आन्दोलनको मर्मलाई कुल्चेको छ । त्यत्रो बलिदानीलाई खेलाँची ठानिएको छ । फेरि पनि युवा पुस्ताले सडक तताउने दिन आयो भने त्यो भयंकर ठूलो दुर्भाग्य हुनेछ । 
 

शुक्रबार, १० असोज २०८२, १३ : ३२

प्रतिक्रिया