सेयर बजार

साताभर ८१.३३ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, २५ असोज २०८२, ११ : ४१

काठमाडौं- यस साता नेप्से परिसूचक ८१.३३ अंकले घटेर २५८२.१८ को विन्दुमा आईपुगेको छ ।

गत साता अर्थात् दसैँअघि असोज १२ गते आइतबारबाट बन्द भएको बजार यो साता मंगलबारदेखि कारोबार सुरु भएको हो । गत साता २६६३.५१ अंकमा बन्द भएको बजार यस साता ८१.३३ अंकले घटेर २५८२.१८ को विन्दुमा झरेको हो । 

यस साता तीन दिन बजार खुलेको थियो । आइतबारबाट नै बजार खुल्ने भनिएतापनि लगातार तीन दिन वर्षाका कारण देशभर बाढीपहिरोले क्षति गर्दा सरकारले सार्वजनिक विदा दिएका कारण मंगलबारबाट मात्र सेयर कारोबार खुलेको थियो । यस साता दुई कारोबार दिन घटेको बजार एक कारोबार दिन भने बढेको थियो । 

यस साता औसतमा ५ अर्ब २२ करोडको कारोबार भयो । जसमा मंगलबार ४ अर्ब ६२ करोड, बुधबार ५ अर्ब ७६ करोड र बिहीबार ५ अर्ब २७ करोडको सेयर कारोबार भएको हो । 

साताको पहिलो कारोबार दिन नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको १ करोड ३ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो अर्थात् अन्तिम कारोबार दिन नेप्से २२.५९ अंकले बढेर २५८२.१८ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

यस साताको बुधबार राति नेपाल राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित तीन नीतिगत व्यवस्था गर्‍यो यसकै प्रतिक्रिया स्वरुप बिहीबार बजार बढेको बताइएको छ । राष्ट्र बैंकले एक व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट पाउने अधिकतम २५ करोडको सेयर कर्जा सीमा हटाएको छ । बैंकले सेयर खरिद गरेको एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्मको लगानी मात्रै बेच्न पाउने व्यवस्था रहेकोमा यसलाई हटाएको छ ।

बैंक तथा वित्तीय संस्थाले ६ महिनाको लागि मात्रै पनि सेयर तथा डिबेन्चरमा लगानी गर्न पाउने छन् । यसअघि बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर एक आर्थिक वर्ष बितिसकेपछि मात्रै बेच्न पाउने व्यवस्था थियो ।

बिहीबार देखिएको सकारात्मक असर टिक्न सक्नेमा ढुक्क नभएपनि यस व्यवस्थाले नेप्सेमा सुधार ल्याउन भूमिका खेल्न सक्ने जानकारहरुले बताएकाछन् । 

शनिबार, २५ असोज २०८२, ११ : ४१

प्रतिक्रिया