कमजोर कुटनीतिको कारण भएन विपिनको उद्धार

मंगलबार, २८ असोज २०८२, १० : १०

काठमाडौँ - हमास र इजराइलबीच भएको शान्ति संझौताले संसारलाई सन्तुष्टि दिए पनि नेपाललाई भने खुशी दिन सकेन । प्यालेस्टिनी लडाकु समूह हमासको बन्धनमा परेको २ वर्ष एक सातापछि नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको सोमबार पुष्टि भएको छ । यससँगै विपिनको परिवारमा अपुरणीय क्ष्ति भएको छ । उनको परिवार यतिबेला स्तब्ध छ । अहिलेसम्म बाँकी रहेको आशाको त्यान्द्रो पनि चुँडिएको छ । उनीसहित ४ जनाको शवलाई सोमबार राति अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरिएको हो । हमासले गाजापट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको छ । तर उनको मृत्यु भएको मिति खुलाइएको छैन । 

नेपालको कमजोर कुटनीतिको कारण विपिनको सकुशल उद्धार हुन नसकेको सम्बद्ध स्रोतहरुले बताउने गरेका छन् । इजरायलमाथि आक्रमणको क्रममा हमासले ७ अक्टोबर २०२३ मा विपिनलाई गाजापट्टीसँग सीमा जोडिएको इजरायलको दक्षिण क्षेत्र सेदोत नेगेभस्थित किबुज अलुमिमबाट बन्धक बनाएर लिएर गएको थियो । त्यसक्रममा विपिनसहित २५१ जनालाई बन्धक बनाएर लगिएको थियो ।

इजरायल र हमासबीच त्यसयता जारी युद्धलाई अन्त्य गर्न इजिप्टमा सहमति भएको अमेरिकी शान्ति योजनाअन्तर्गत पहिलो चरणअनुसार हमासलाई सोमबारसम्म २० जीवित बन्धक र २६ मृतक बन्धकको शव हस्तान्तरण गर्न अल्टिमेटम दिइएको थियो । इजरायल सरकारले पनि सोमबार बिहान स्थानीय समय ७ः३० बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको थियो ।

हमासले आफूसँग भएका २० बन्धकलाई स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेदेखि रिहाइ गरेको हो, जसमा पहिलोपल्ट ७ र दोस्रोपल्ट १३ जनालाई हस्तान्तरण गरिएको थियो । सहमतिअनुसार इजरायलले पनि आजीवन सजाय पाएका दुई सय ५० जना र गाजापट्टीमा राखेका १७ सय कैदीलाई रिहाइ गरेको छ ।

त्यसपछि हमासले मृतकको शव पठाउने पहिलो टोलीमा नै विपिनसहित इजरायली नागरिक गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्जलाई राखेको हो । सोमबार रातिसम्म बाँकी २२ मृतक बन्धकको शव पठाउने भने पनि हमासले समय सार्वजनिक गरेको छैन । इजरायली सेनाले मृतकको शवको डीएनए परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने जनाएको छ । विपिनकी आमा पद्माको यसअघि नै डीएनए लिइसकेको छ ।

परराष्ट्र मन्त्रालयले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले २ वर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयास गरेको दाबी गरेको थियो । तर, नेपालको कमजोर कूटनीतिले विपिनलाई उद्धार गर्न सकेन । उनीसँगै बन्धक भएका ३१ जना थाइल्यान्डका नागरिकमध्ये २९ जनालाई थाई सरकारले पहिलो र दोस्रो युद्धविराममा नै उद्धार गरेको थियो । दुई थाई नागरिक पनि गाजापट्टीमा मारिएका थिए । उनीहरूको शव यसअघि नै परिवारले बुझिसकेका छन् ।

इजरायलमा युद्ध चलिरहँदा बन्धक बनेका बाँकी ४८ जनामा विपिन एक्ला विदेशी नागरिक थिए । बन्धक हुने बेलामा १ सय २१ जना विदेशी नागरिक थिए । जसमध्ये अधिकांश इजरायली नागरिकसँग दुई देशको नागरिकता थियो । हमासले आक्रमण गर्नुभन्दा एक महिनाअघि मात्र विपिनसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए ।

जुन दिन विपिन अपहरणमा परे उक्त दिन हमासको आक्रमणमा परी १० नेपाली मारिएका थिए । मारिनेहरुमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चॅलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जॅन–४ दार्चॅलाका लोकेन्द्रसिंह धामी रहेका छन् ।

 
मंगलबार, २८ असोज २०८२, १० : १०

प्रतिक्रिया