काठमाडौं - अर्थतन्त्रको गितिशीलतामा पुँजी बजारको ठूलो भूमिका हुने गर्दछ । राजनीतिक अवस्था तरल रहेर हो वा अन्य आर्थिक नीतिहरुको कारण नेपालको पुँजी बजार निकै नै अस्थिर रहेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से कुनै ठोस कारणविना उच्च अंकले बढ्न सक्छ । सानो उदाहरण यही असोज २६ गते ७८ दशमलव ८३ अंकले घटेको नेप्से असोज २७ गते ४४ दशमलव २५ अंकले बढ्यो । अघिल्लो दिनको तुलनामा पछिल्लो दिन सेयरबजार परिसूचक नेप्से बढे पनि कारोबार रकम घट्यो ।
अघिल्लो दिन छ अर्ब ७० करोड ७२ लाख ४५ हजार दुई सय ६६ रूपैयाँको कारोबार भएको नेप्से भोलिपल्ट अर्थात् असोज २७ गते चार अर्ब ९७ करोड ५४ लाख आठ हजार पाँच सय ४५ रूपैयाँको कारोबार भयो । सामान्य बुझाइमा नेप्से परिसूचक बढ्दा कारोबार रकम पनि बढ्न सक्छ । यी दुई दिनमा त्यस्तो भएन । अघिल्लो दिन नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार रकम बढ्यो । पछिल्लो दिन नेप्से परिसूचक उच्च अंकले बढ्दा कारोबार रकम घट्यो । कुनै ठोस कारणविना नेपालको पुँजी बजार किन यस्तो तलमाथि हुन्छ ? सबैको प्रश्न अहिले यही रहेको छ ।
अहिले मात्र होइन, नेपालको पुँजी बजार पछिल्ला वर्षहरूमा निरन्तर उतारचढावमा देखिँदै आएको छ । कहिले लगानीकर्ताको उत्साहले बजार उक्लिन्छ भने कहिले त्रास र अनिश्चितताले बजारलाई तल धकेल्छ । यो अस्थिरता केवल संयोग होइन, यसको पछाडि देशको समग्र आर्थिक संरचना, सरकारी नीतिगत अस्पष्टता, बैंकिङ प्रणालीको तरलता, तथा लगानीकर्ताको मनोविज्ञानजस्ता धेरै कारणहरू लुकेका छन् ।
राजनीतिक कारणले पनि पुँजी बजारलाई प्रभावित पारेको छ । नेपालमा सरकार परिवर्तनको दर अत्यधिक छ । १० वर्षमा ९ वटा सरकार बनेका छन् । हरे पटक नयाँ मन्त्री, नयाँ नीति र नयाँ प्राथमिकता आउने हुँदा पुँजी बजारले स्थिरता पाउन सकेको छैन । कहिले कर नीतिमा परिवर्तन हुन्छ, कहिले सेयर लगानीमा कडा नियम लागू गरिन्छ, कहिले पुनः खुकुलो पारिन्छ । यस्तो नीतिगत अनिश्चितताले लगानीकर्ताको विश्वास कमजोर पार्छ । बजार विश्वासमा चल्ने माध्यम हो र जब विश्वास नै डगमगाउँछ, बजार पनि अस्थिर बन्ने नै हो बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा हुने हेरफेरले सेयरबजारमा प्रत्यक्ष असर पार्छ । जब बैंकले निक्षेपमा उच्च ब्याजदर दिन थाल्छन्, लगानीकर्ताले सुरक्षित आम्दानीका लागि सेयर बेचेर पैसा बैंकमा राख्न रुचाउँछन् । यसले बजारमा बिक्री बढाउँछ र मूल्य घटाउँछ । फेरि, जब तरलता सहज हुन्छ र ब्याजदर घट्छ, लगानीकर्ताले पुनः बजारतर्फ आकर्षित हुने गर्छन् । नेपालमा यी उतारचढाव धेरै छोटो अवधिमा भइरहने भएकाले बजार स्थायित्व पाउन सक्दैन ।
यसैगरी, पुँजीबजार अस्थिर हुनुमा सूचना प्रवाहको कमजोरी पनि प्रमुख कारको रूपमा रहेको मानिन्छ छ । विकसित मुलुकहरूमा लगानीकर्ताले सूचनाको आधारमा निर्णय गर्छन् । तर नेपालमा सूचना पारदर्शिता अझै कमजोर छ । कम्पनीहरूको वित्तीय विवरण समयमा प्रकाशित हुँदैन, नाफा–नोक्सानका तथ्यांक बुझ्न कठिन हुन्छ र कतिपय बेला अफवाहले बजार चलाउँछ । गलत वा अधुरो सूचनामा आधारित लगानीले बजारमा अनावश्यक उथलपुथल ल्याउँछ । नेपालको सेयरबजारमा दीर्घकालीन सोच भएका लगानीकर्ताको संख्या न्यून छ । धेरैजसो लगानीकर्ता छोटो अवधिमा बढी नाफा कमाउने आशामा बजारमा प्रवेश गर्छन् । जब बजार बढ्छ, सबै जना किन्न दौडिन्छन । जब घट्छ, सबै बेच्न । यस्तो मानसिकताले बजारलाई अत्यन्तै अस्थिर बनाउँछ । सेयरबजार केवल गणित वा अर्थशास्त्रको कुरा होइन, यो मानिसको भावना र निर्णय क्षमतासँग पनि गहिरो सम्बन्धित छ ।
नेपालको पुँजीबजार अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । यसले स्थिरता र परिपक्वता दुवै खोजिरहेको छ । अस्थिरताको पछाडि धेरै संरचनागत कमजोरीहरू छन्, तर सुधारका सम्भावनाहरू पनि त्यत्तिकै छन् । स्थिर नीति, पारदर्शी नियमन, र सचेत लगानीकर्ताको सहभागिताले मात्रै नेपालमा दीर्घकालीन र स्थायी पुँजीबजार विकासको हुन सक्छ । यसको लागि सबैको सहकार्य र सहभागितको खाँचो रहेको छ । अर्थतन्त्रलाई एउटा फ्रेममा राख्न पुँजी बजारलाई व्यवस्थित गर्न जरुरी छ । बिना कारण सिर्जना हुने अस्थिरता पनि गतिशील अर्थतन्त्रको लागि अनुकूल मानिदैन ।
प्रतिक्रिया