टिप्पणी

दुर्गा प्रसाईंको आन्दोलन र नागरिक अपेक्षा

सोमबार, १० कार्तिक २०८२, १२ : ३८

काठमाडौँ - बुद्ध, राजा महेन्द्र र वीपी जस्ता महापुरुषहरु जन्मेको देश आज वैदेशिक शक्तिकेन्द्रहरुको क्रिडास्थल बन्ने अवस्थामा पुगेको छ । देशमा प्रयाप्त साधन, स्रोत र संभावना भएर पनि जनतामा निराशा र आफ्नै जीवनप्रतिको बेचैनी देख्न सकिन्छ । यो अवस्थाको सिर्जना कुनै बाहिरी तत्वले गरेको होइन । यही मुलुकका राजनीतिक दल र तिनले बनाएको सरकारले निम्त्याएको हो । भदौ २३ र २४ मा भएको जेनजि आन्दोलन त्यसैको ‘बाइ प्रोडक्ट’ हो । 

आन्दोलनपछि बनेको सरकारले पनि देशको काँचुली फेर्न सफल हुने कुनै सम्भावना देखिदैन । आम नागरिकमा अझै पनि आशा पलाउन सकेको छैन । गतिलो र परिपक्व शासक मुलुकले खोजीरहेको छ । यस्तै अवस्था रहिरहे मुलुक निकट भविष्यमै असफल राष्ट्र बन्ने प्रवल संभावना छ । 

मुलुकको यही विषम परिस्थितिमा व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् । उनको आन्दोलनप्रति नागरिकमा आशा र विश्वास जाग्दै गएको पाइन्छ । कोही आए पनि देशले निकास पाउने अवस्था नभएपछि हक्की र आधारभूत जनताका मुद्धा बोकेर आन्दोलनको घोषणा गरेका प्रसाईप्रति मानिसहरु आशावादी बन्न थालेका छन् । जब शासकहरु बेइमान र गद्धार बन्छन् नागरिकले विकल्पका अनेक बाटो खोज्न बाध्य हुन्छन् ।

प्रसाईले आम जनताको आवाज बोल्ने गरेका छन् । उनले विश्वविद्यालयको औपचारिक शिक्षा त लिएका छैनन् । तर भूई मान्छेको समस्या बुझेका छन् । देशको माटोले मागेको आवश्यकताको वोध गरेका छन् । सिधा कुरा गर्छन् । कुटनीतिक र जाली कुरा गर्न जानेका छैनन् । त्यसैले पनि उनका मुद्धाहरुले मानिसहरुको मन छोएको छ । राजनीतिको मैदानमा देखिएका सबै दलहरुको परिक्षण भैसकेकोले जनता अब नयाँ विकल्पको खोजीमा रहेका छन् । प्रसाईका पनि कमजोरी होलान् । उनी पनि दुधले नुहाएका होइनन् । तर सतहमा देखिएका अन्य दलहरुको तुलनामा उनी आशालाग्दो देखिएका हुन । 

आगामी आन्दोलनको खाका पनि तयार भैसकेको छ । घोषित कार्यक्रम अनुसार आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरू, सर्वहारा वर्गहरू, फुटपाथमा व्यापार गर्नेहरू जम्मा गरी माइतीघर मण्डलाबाट जुलुस ल्याइ बानेश्वर चोकमा कोणसभा गर्ने, चैत्र १ देखि १९ गतेसम्म हेटौँडा, पोखरा, जनकपुर र वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर इटहरी, विराटनगर, धरान, दमकसम्म सामन्तीविरुद्धको आमसभा र कोणसभा गर्ने, २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, व्यापारीहरूले पसल बन्द गर्ने, राँके जुलुस गर्ने, कर तिर्ने, मालपोतमा जग्गा पास नगर्ने, केही मान्छेहरू आफ्नै खर्चमा काठमाडौँ आइ यो अभियानलाई सफल बनाउने, चैत्र १ गतेदेखि राष्ट्रव्यापी रूपमा महाअभियानको गठन गर्ने लगायतका विरोध कार्यक्रम गर्ने जानकारी दिइएको छ । 

त्यस्तै उनले पत्रकार सम्मेलनमा  सेतो हात्ती बनाइएको संघीयता  खारेज गरी सबै धर्मलाई सम्मान गर्दै वैदिक सत्य सनातन राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् । यर्सैगरी, गणतन्त्रको बाटो हिँड्दा अभाव सिद्ध भएका कारण २०४७ सालको संविधान लागू गर्नुपर्ने, संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य हुनेगरी अघि बढ्ने, बैंक,वित्तीय सहकारी बीमा कम्पनीहरूलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपकलाई ध्यानमा राख्दै निक्षेपकर्ताको ब्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरूको २० लाख भन्दा मुनिको ऋण मिनाहा गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पुर्‍याएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने, २० लाख भन्दा माथिको ऋणमा ४ देखि ५ प्रतिशत ब्याजमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिक रोजगारमा गएका नेपाली युवाहरूलाई नेपालमा नै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखिएको छ । 

व्यवसायी प्रसाईंले आफ्नो अभियानका अभियन्ताहरूलाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल छोड्नुपर्ने  माग गरे । उनले बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्ने, नेपालमा जन्मिएर विश्वभर छरिएर रहेका नेपालीहरूले दोहोरो नागरिकता राख्न पाउनुपर्ने माग राखेका छन् । विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन्। प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भनिएको छ।जसका लागि अहिले फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटकलगायत सबैतिर दर्जनौँ एकाउन्टमार्फत प्रसाईंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्।

प्रसाईंनिकट व्यक्तिहरूले मंसिर ७ गतेको प्रदर्शनमा देश भरीबाट १० देखि १५ लाख व्यक्ति काठमाडौं उत्रिने दाबी गरेका छन्।  ‘डेढ लाख हिजोआज नै काठमाडौं भित्रिसके, ७ गतेसम्म १५ लाख मान्छे काठमाडौँमा उत्रिसक्छन्,’ प्रसाईंका नातेदार समेत रहेका झापाका  दिपेश प्रसाईंले भने, ‘हाम्रो अभियानसँग भारतमा रहेका नेपाली समेत आएर सहभागी हुँदै छन्।’

प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित विभिन्न प्रदर्शन गरिरहेका छन्। जसलाई उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नाम दिएका छन्।

आजभन्दा दुई वर्ष पहिले झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर  अभियानको सुरुवात गरेका उनले हिन्दु राष्ट्र र सङ्घीयताको विपक्षमा उभिएका छन्। राजतन्त्रको पुनः स्थापनाका विषयमा भने उनले बेलाबेला बोली फेर्दै आएका छन्। यसबाहेक उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता, नेताका परिवार र केही ठूला  व्यापारिक घरानाविरुद्ध विवादित बयानहरू दिँदै आएका छन्। जसमा उनले भ्रष्टाचार बढ्नु र मुलुकको आर्थिक मन्दीको कारक भन्दै ती व्यापारिक घराना र नेता रहेको दाबी गर्दै आएका छन्।

मंसिर ७ गतेको प्रदर्शनका लागि प्रसाईंको सचिवालयद्वारा जारी प्रचार सामग्रीहरूमा यही कुराहरू उल्लेख गरेर प्रचार–प्रसार गरिएको छ। जसमा ‘गणतन्त्रको विकल्प सहितको भुइमान्छे, सर्वहारा वर्ग तथा नेपाली नागरिकको मुक्तिको लागि अन्तिम लडाई’ भनिएको छ। ती सामग्रीहरूमा ‘अब यो देशको राजा, प्रधानमन्त्री र मन्त्री को बन्छन् भनेर थाहा नभएको’ भन्दै १६ जना तस्कर मारवाडीहरू, १० जना लुटेरा व्यापारीहरू र ३० जना भ्रष्ट नेताहरू कि त भाग्छन्, कि त सकिन्छन, कि त जेल जान्छन्’ भनेर प्रचार गरिएको छ।

प्रसाईंले उठाएका अन्य एजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्म सापेक्ष मुलुक, सङ्घीयताको विकल्पहरू समेटिएका छन्।

पछिल्लो समय दुबै पार्टी र नेतासँग असन्तुष्ट हुँदै प्रसाईं सडकमा आएका छन्। उनीमाथि विभिन्न बैङ्कबाट अर्बौँ ऋण लिएर नतिरेको पनि आरोप लाग्ने गरेको छ।आन्दोलनको पूर्व सन्ध्यामा सरकारले प्रसाईसँग सम्वाद बढाएको छ । हिंजो मात्रै उपत्यकाका तीनै जिल्लाका सिडिओहरुले उनको आन्दोलनकोबारेमा जानकारी लिएका छन् । सेनाले पनि उनको आन्दोलनको बारेमा चासो राखिरहेको छ । उनलाई नजिकबाट चिन्नेहरु र भू–राजनीतिका जानकारहरु प्रसाईको पछि महत्वपूर्ण व्याकअप रहेको विश्वास गर्दछन् । उनलाई भारतीय संस्थापन र त्यहाँका हिन्दुवादी संस्थाहरुको  बलियो समर्थन रहेको बताइन्छ ।

यसैबीच राजाका विश्वासपात्र मानिने पूर्व जर्नेल विवेक शाह र पूर्व गूप्तचर प्रमुख देवीराम शर्मा चीन गएका छन् । उनीहरुको चीन प्रस्थानलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । भारतमा राजा आफै गएका छन् । त्यसैले पनि प्रसाईको आन्दोलन र उनको आत्मविश्वासपूर्ण अभिव्यक्तिले नेपाली राजनीतिमा कुनै अप्रत्याशित नतिजा ल्यायोे भने आश्चर्य मान्नु पर्दैैन । 

 
 
 
 
सोमबार, १० कार्तिक २०८२, १२ : ३८

प्रतिक्रिया